Wednesday, June 10, 2026
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

spot_img
spot_img

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको छ । इजरायल–इरान बीचको तनावका कारण आपुर्ति प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयल निगमले आधा सिलिण्डर ग्यास मात्रै बजार पठाउन थालेपछि अभावको समस्या हल भएकोमा अहिले फेरि उपभोक्ताले ग्यास पाउन छोडेको गुनासो गर्न थालेका छन् ।

फागुन २९ गतेदेखि निगमले ७.१ किलो ग्यास (आधा सिलिण्डर) भरिएको सिलिण्डर बजार पठाउन थालेको थियो । सुरुमा १५ दिनका लागि भनेर निगमको सञ्चालक समितिले अनुरोध गरेपछि उद्योगीहरु आधा सिलिण्डर ग्यास बजार पठाउन तयार भएका थिए । तर, झण्डै ३ महिना हुँदासमेत उक्त प्रावधानमा पुनरावलोकन नगरिएको भन्दै उद्योगीहरु रुष्ट देखिएका छन् ।

कमिशन घटेको र खर्च बढेको चिन्ता

एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार अहिले उद्योगी र डिलरहरुको खर्च बढेको छ भने निगमबाट प्राप्त हुने कमिशन घटेको छ । भरी सिलिण्डरमा डिलरले एक सिलिण्डर बराबर ५८ रुपैयाँ कमिशन पाउँथे भने अहिले आधा सिलिण्डर ग्यास मात्रै बजार पठाउँदा २९ रुपैयाँ मात्रै पाउँछन् । यस्तै, कम्पनीले एक सिलिण्डर ग्यास भरेबापत निगमबाट ३१ रुपैयाँ ९० पैसा कमिशन पाउँदै आएकोमा अहिले आधा सिलिण्डर मात्रै भरिने भएकाले यो कमिशन पनि घटेर करिब १६ रुपैयाँमा झरेको छ ।

ढुवानी शुल्क भनेर एक सिलिण्डर बराबर राउण्ड ट्रिप प्रति १ सय किलोमिटर बराबर ४५ रुपैयाँ ८८ पैसा प्राप्त हुन्थ्यो । उद्योगबाट डिलरसम्म भरी सिलिण्डर र डिलरबाट उद्योगसम्म खाली सिलिण्डर लैजाने–ल्याउने गर्दा प्राप्त हुने यो शीर्षकको आम्दानी अहिले प्रतिसिलिण्डर करिब २३ रुपैयाँमा सिमित भएको उद्योगीहरुको गुनासो छ ।

‘आधा सिलिण्डर ग्यास बोक्दा हुने खर्च र भरी सिलिण्डर ग्यास बोक्दा हुने ढुवानी गर्न बराबर हुन्छ’ अध्यक्ष चन्द भन्छन्, ‘खर्च एउटै छ, तर निगमबाट प्राप्त हुने कमिशन र विभिन्न शुल्क भने आधाले घटेको छ ।’

उनका अनुसार सिलिण्डरमा लगाउने सिल/क्याप प्रतिपिस १० रुपैयाँ लाग्छ । आधा सिलिण्डर ग्यास मात्रै बजार पठाउँदा बजारबाट खाली सिलिण्डर छिटो फिर्ता आउँदा यो खर्च पनि बढेको अध्यक्ष चन्द बताउँछन् ।

उद्योगहरुले ग्यास भर्ने जनशक्ति पनि दुइ सिफ्टमा राख्नु परेको र त्यसले अर्को खर्च बढाएको गुनासो गरेका छन् । ‘विगतमा प्रतिदिन १ लाख सिलिण्डरको माग थियो, अहिले आधा सिलिण्डर ग्यास मात्रै बजार पठाउने नियमले माग बढेर २ लाख सिलिण्डर पुगेको छ’ अध्यक्ष चन्दले थपे, ‘यसकारण हामीले फिलिङ मेनपावर पनि दुइ सिफ्टमा राख्नुपर्‍यो । इलेक्ट्रीसिटी लगायतको शुल्क पनि बढेको छ ।’

उद्योगीहरुका अनुसार अहिले प्रतिसिलिण्डरमा १५० रुपैयाँ लागत बढेको छ । हरेक दिन बजारमा जाने २ लाख सिलिण्डरका आधारमा हिसाब गर्दा एक दिनमै ३ करोड लागत बढेको तर, यसको भर्पाइ कतैबाट नभएको अध्यक्ष चन्दको भनाइ छ ।

तर, आफूहरुले बजार माग अनुसारको आपुर्ति गरिरहेको उनको दाबी छ । उद्योगहरुले डिलरबाट आएको माग अनुसारकै आपुर्ति गरिरहेको उनको भनाइ छ ।

छिट्फुट् समस्या देखिएको छः ग्यास बिक्रेता महासंघ

आयल निगमले भारतबाट ग्यासको आपुर्ति सहज रुपमा भइरहेको बताएपनि बजारमा ग्यासको अभाव देखिन थालेको बिक्रेताहरुले स्वीकार गरेका छन् । केही दिनयता छिट्फुट् रुपमा बजारमा भनेकै बेलामा ग्यास नपाइने वा ढिलो गरी मात्रै उपलब्ध हुने समस्या देखिएको बिक्रेताहरु बताउँछन् ।

‘दुई तीन दिन अगाडिबाट कुनै कुनै ग्यास भनेका बेलामा नपाउने समस्या देखिएको छ । नेपाल ग्यास र त्रिवेणी ग्यास चाहिँ अलि ढिलो गरी मात्रै आउने र भनेका बेलामा नपाउने अवस्था छ’ ग्यास बिक्रेता महासंघका महासचिव विनोद काफ्लेले भने, ‘रिफ्यूलिङ प्लान्ट टाढा भएर पनि हुन सक्छ । अब कुनै कुनै उद्योगहरुले ढिला गरी मात्रै ग्यास पठाउने गरेका हुन् कि ? त्यो चाहिँ उद्योगीहरुले भन्ने कुरा भयो । तर, अहिले ग्यास पाउँदै नपाउने समस्या चाहिँ छैन ।’

अर्का एक बिक्रेताका अनुसार ग्यासको सहज आपुर्ति भएपनि कमिशन लगायतका कारण अहिले उद्योगहरुले कम मात्रामा ग्यास पठाउने नीति लिएको हुन सक्ने बताएका छन् । ‘उद्योगीहरुले आम्दानी घट्ने भयो भनेर बजारमा पर्याप्त मात्रामा ग्यास पठाउन छोडेको हुन सक्छन्’ ति बिक्रेता भन्छन्, ‘अरु कारण देखिँदैन ।’

उपभोक्ताको पनि खर्च बढ्यो

उपभोक्ता अधिकारकर्मीहरुका अनुसार अहिले आधा सिलिण्डर ग्यास मात्रै बजार पठाइँदा उपभोक्ताहरुको खर्च बढेको छ । विगतमा एक सिलिण्डर भरी ग्याँस (१४.२ किलोग्राम) डिलरबाट मगाउँदा एक रुपैयाँ अतिरिक्त शुल्क दिने अभ्यास भएपनि अहिले आधा सिलिण्डर ग्यास मगाउँदा पनि एक सय रुपैयाँ नै तिर्नुपर्ने बाध्यता रहेको अधिकारकर्मीहरु बताउँछन् ।

‘उपभोक्तालाई अतिरिक्त आर्थिक भार परिरहेको छ, उसको समय बर्बाद भइरहेको छ । ढुवानी, अफलोड/अनलोड जस्ता खर्चहरु उस्तै छन्’ उपभोक्ता हित संरक्षण मञ्चका महासचिव वरिष्ठ अधिवक्ता विष्णु प्रसाद तिमल्सिना भन्छन्, ‘जबकी, नेपालमा ग्यासको स्ट्याण्डर्ड मेजरमेन्ट नै १४.२ किलोको छ । त्यो भन्दा बढी र कमको मेजरमेन्ट नै छैन भने आधा सिलिण्डर ग्यास भनेर उपभोक्तालाई झुक्याउने र उनीहरु ठगिन सक्ने बाटो किन खनियो ? यो तत्काल सच्याउनुपर्ने विषय छ ।’

उता आयल निगमले निर्वाध रुपमा ग्यासको आयात भइरहेको र अभाव हुनुपर्ने कुनै कारण नरहेको दाबी गरेको छ । तर, अझै पनि युद्ध पूर्ण रुपमा अन्त्य नभइसकेको र जुनसुकै बेला आपुर्ति श्रृङ्खलामा अवरोध आउन सक्ने जोखिम कायमै रहेकाले आधा सिलिण्डर ग्यास मात्रै बजार पठाउने निर्णयबाट तत्काल ‘ब्याक’ हुने सम्भावना नरहेको निगमले बताएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको...

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...
spot_img