निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक एटीआर७२–६०० जहाज भित्र्याएको छ । शनिबार बिहान नेपाल आइपुगेको यो जहाजबाट अब कम्पनीले आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि आगामी महिनादेखि उडान सुरु गर्नेछ ।
कल साइन ९एन–एओएस जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको हो । एटीआर–७२–६०० जहाजको उडान प्रणाली पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित रहेको बताइएको छ ।
क्षेत्रीय विमानमा यो सिरिजका जहाज कम इन्धन खपत गर्नाले वातावरणमैत्री मानिने र जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनी प्रदूषण पहिलाको सिरिजभन्दा कम हुने पनि कम्पनीले जनाएको छ ।
आरएनपी–एआर भूउपग्रह प्रणाली
बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेशन पफर्मेन्स–अथोराइजेशन रिक्वायर्ड) एप्रोच प्रणाली जडान गरिएको छ । प्रमाणित भइसकेको यस प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी भएको अवस्थामा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिने कम्पनीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्तो प्रणालीमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ। यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा समेत बुध्द एयरको जहाजले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ ।
कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घट्ने र यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्ने बुद्धको विश्वास छ । एटीआर७२–६०० विमानको आगमनले नेपालको आन्तरिक हवाई सेवामा नयाँ सम्भावना र आधुनिक प्रविधि सुरु गरेको छ ।
हाल इस्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) प्रक्रिया अनुसार पोखराका लागि ३१०० मिटर, तथा काठमाडौं र भैरहवाका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ ।
थप जहाज आउँदै
बुध्द एयरले अर्को एक एटीआर–७२–६०० सिरिजका जहाज अगस्त अन्तिम÷सेप्टेम्बरतिर भित्र्याउने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त जहाजको कल साईन ९एन–एओटी रहेको छ । त्यसैगरि आगामी केही महिनाभित्र यस्तै सिरिजका थप २ जहाज भित्र्याउने योजनाअनुसार कम्पनीले कार्य गरिरहेको छ ।
बुद्ध एयरसँग हाल एउटा एटीआर–४२–३२०, पन्ध्रवटा एटिआर–७२–५०० एवं एउटा एटिआर–७२–६०० जहाज रहेका छन् । बुद्ध एयरले विगतमा ३ वटा एटीआर जहाजहरु सम्पूर्ण साइकल चलाई उडानबाट विदाई गरेको थियो । त्यसमा एउटा एटीआर–४२–३२० जहाजको थोरै उडान साइकल हुँदा पार्टआउट लागि युरोपको हंगेरिस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो ।
हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरेको हो । थपिएको जहाजबाट उडान एवं मर्मत तालिकालाई थप सुढृढ बनाउने कम्पनीले जनाएको छ
बुद्धले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन एवं कोलकोता साताको ४ दिन उडान भरिरहेको छ । यसैगरी पोखराबाट भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।









