अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको बताएका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास र समृद्धिमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको बताएका हुन् ।
नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको भन्दै उनले यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको बताएका हुन् ।
‘सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्नमा उल्लेखनीय सुरुवात गरेका छौँ’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ । मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो ।’
बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलेको भन्दै उनले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए ।
नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह पनि गरे । ‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन् । तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ । आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो’ अर्थमन्त्रीले भने, ‘हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।’
सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको बताए । आगामी दिनमा पनि थप सहजीकरण आवश्यक परेको खण्डमा सरकार त्यसका लागि तयार रहेको उनको भनाइ छ ।
अस्ट्रेलियाको कुल जनसङ्ख्याको एक प्रतिशत हाराहारीमा रहेका नेपालीहरू नेपालको समृद्धिका सम्पत्ति भएको भन्दै अर्थमन्त्रीले देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न आग्रह समेत गरेका छन् ।









