Wednesday, July 15, 2026
spot_img

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

spot_img

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता रोकिदिएको छ । कालो सिसा भएका नयाँ गाडीहरुको दर्ता रोकिएपछि असार मसान्तमै अटोमोबाइल्स व्यवसायीहरु मर्कामा परेका छन् । कालो स्टिकर लगाइएको वा टाँसिएको नभई उत्पादन गर्दा नै कालो सिसा हालिएका सवारी साधनहरुको यातायात दर्ता हुन छोडेपछि आफूहरु समस्यामा परेको व्यवसायीहरुको गुनासो छ ।

भन्सार जाँचपास भएर आएका सवारी साधनहरु यातायात दर्ताका लागि लिएर यातायात कार्यालय पुग्दा दर्ता हुँदैन भनेर फर्काउन थालिएको व्यवसायीहरुको भनाइ छ । कालो सिसा भएका सवारी साधन दर्ता हुँदैन भन्दै आयात भइसकेका गाडीहरुको समेत दर्ता गर्न अस्वीकार गरिएको र यसबाट असार मसान्तको समयमा आफूहरुले ठूलो दुःख भोग्नु परेको एक जना अटोमोबाइल्स व्यवसायीले बताए ।

‘फ्याक्ट्रीबाटै कालो सिसा लागेर आएको गाडी यातायातले दर्ता गरिदिएन । भन्सारमा शुल्क तिरेर पास गरेर ल्याइसकेको गाडी यातायातमा दर्ता गर्न जाँदा दर्ता हुँदैन भनेर फर्काइयो’ ति व्यवसायी भन्छन्, ‘स्टिकर लगाएको होइन, फ्याक्ट्रीबाटै कालो सिसा लागेर आएको हो । असार मसान्तमा क्लोजिङको तनाव छ, आएका गाडी पनि दर्ता हुँदैनन् । अनि कसरी काम गर्नू ?’

नाडा के भन्छ ?
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका महासचिव मिलनबाबु मल्लले यो समस्या आउन नदिन यसअघि सरोकारवालासँग छलफल भएर एक खालको ‘अण्डरस्ट्याण्डिङ’ भइसकेको बताउँछन् । तर, अहिले व्यवसायीले ब्यहोर्नु परेको समस्याबारे नाडामा जानकारी आइनसकेको र गुनासो आएको खण्डमा नाडाले आवश्यक समन्वय गर्ने उनको भनाइ छ ।

‘स्टिकर लगाएको हो भने उप्काउनुपर्ने तर फ्याक्ट्रीबाटै कालो सिसा लगाएर आएका गाडीको हकमा केही नगर्ने भन्ने अण्डरस्ट्याण्डिङ भएको हो’ उनले भने, ‘तर, यातायातले दर्ता नै गर्न छोडेको भन्ने विषयमा चाहिँ जानकारी आइसकेको छैन । कुनै गुनासो आएको खण्डमा हामीले नाडाको तर्फबाट आवश्यक समन्वय गर्छौँ ।’

यातायात कार्यालय आफैँ अनिर्णित
यातायात व्यवस्था कार्यालय एकान्तकुनाले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता रोकिएको जनाएको छ । कार्यालयका इन्जिनियर मोहन यादवले कम्पनीबाटै कालो सिसा लागेर आएका सवारी साधनको दर्ता के गर्ने भन्ने सम्बन्धमा अहिलेसम्म स्पष्ट निर्देशन नआएको हुनाले दर्ता रोकिएको बताएका छन् ।

‘हामीलाई स्पष्ट निर्देशन नआएको हुनाले हामीले दर्ता गर्न सकेका छैनौँ’ उनले भने, ‘कम्पनीबाटै कालो सिसा लगाएर आएका गाडीको दर्ता के गर्ने भनेर हामीले आवश्यक निर्देशन माग गर्दै बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमा पत्राचार गरेका छौँ । हामीले पत्र पठाएको एक हप्ता जति भयो, तर उताबाट कुनै निर्देशन आएको छैन ।’

यातायात कार्यालयले केन्द्र सरकार मातहतको यातायात व्यवस्था विभागसँग पनि यसबारे परामर्श गरिएको जनाएको छ । विभागले ‘अब कम्पनीबाटै कालो सिसा जडान गरेर आएका गाडी हुन् भने एउटा चिठी लेख्नुस्, गाँठो फुकाइदिन्छु’ भनेको तर, प्रदेश मन्त्रालयमा पहिल्यै चिठी गइसकेको हुनाले अब विभागलाई चिठी लेख्ने कि नलेख्ने भन्नेमा आफूहरुले निर्णय गर्न नसकेको इन्जिनियर यादवको भनाइ छ ।

‘विभागबाट आवश्यक समन्वय हुने रहेछ, अब यहाँबाट पहिल्यै प्रदेश मन्त्रालयमा चिठी गयो’ यादव भन्छन्, ‘अब मन्त्रालयको जवाफ आएको छैन, जवाफ कुर्ने कि विभागलाई पत्र लेख्न भन्नेमा दुविधा छ । प्रदेश मन्त्रालयलाई पठाएको पत्रको कुनै निर्देशन नआउँदै केन्द्र सरकारको विभागमा पत्र लेख्न मिल्ने हो कि होइन ? हामी आफैँ अनिर्णित भएका छौँ ।’

सरकारकै कारण जरिवानाको जोखिम
आयातित सवारी साधन भन्सार प्रज्ञापनपत्र जारी भएको मितिले १५ दिनभित्र दर्ता गर्नुपर्ने प्रावधान छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा ‘भन्सार प्रज्ञापनपत्र जारी भएको मितिले १५ दिन भित्रमा दर्ताका लागि आवश्यक कागजातसहित पेस गर्नुपर्नेछ । सो अवधि नाघि दर्ता गर्न पेस गरेमा ऐनको दफा १६० (२) (ख) बमोजिम जरिवाना लिएर मात्र दर्ता गरिदिनुपर्नेछ’ भनिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० (२) (ख)मा एक हजारदेखि पाँच हजारसम्म जरिवाना हुने प्रावधान छ ।

तर, सरकारले नै स्पष्ट निर्णय नगरिदिएका कारण अहिले भन्सार प्रज्ञापनपत्र जारी भएर दर्ता गर्न लगिएका सवारी साधन दर्ता हुन सकेका छैनन् । तत्काल कुनै निर्णय वा निर्देशन नआए उल्लेख भए अनुसारको १५ दिन नाघ्नेछ र व्यवसायीहरु जरिवाना तिर्न बाध्य हुनेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...
spot_img