सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। सिद्धार्थ बैंक कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।
आर्थिक वर्ष २०८२/०८३ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८३/०४/८ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितीको २०६ औं बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साउन ८ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।
यो योजना एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछिको) लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account)मा इकाईहरु पठाईने क्यापिटलले जनाएको छ । अन्यको हकमा बैंक खातामा नगद लाभांश पठाइने छ ।
संचालनमा आएपछि “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” ले दोस्रो पटक लाभांश घोषणा गरेको हो। यससंगै आर्थिक वर्ष २०८२/०८३ को लागि लाभांश घोषणा गर्ने सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम पहिलो बनेको छ ।









