Friday, May 8, 2026
spot_img

घट्दो जनसङ्ख्यालाई हेरेर कर प्रणालीमा परिमार्जन र सुधार गर्न ढिलाई गर्नु हुँदैन (अन्तरवार्ता)

spot_img
spot_img

वर्तमान सरकार अहिले बजेट निर्माणको तयारीमा छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रकै ‘रिफर्म’ गर्ने उद्घोष गरिरहेका छन् । उनको प्रष्ट संकेत के छ भने ‘बजेट विस्तारकारी आउँछ’, ‘निजी क्षेत्रलाई फँखेटा फिजाएर उड्न दिइनेछ ।’

अहिले बैङ्कमा तरलता थुप्रिएको छ, ब्याजदर न्यून छ । तर, कर्जाको प्रवाह छैन । वित्त नीतिले बजार माग बढाउँदै कर्जा प्रवाह बढ्ने नीति लिनुपर्ने समेत आवश्यकता छ । साथै, अहिले नेपाल अतिकम विकसित देशको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने चरणमा पनि छ । यसका फाइदा र घाटाबारे पनि अहिले बहस भइरहेका छन् ।

यीनै विषयहरुमा केन्द्रित रहेर बिजनेशपाना डटकमले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नयाँ सरकार बनेसँगै योजना आयोगको उपाध्यक्षबाट बाहिरिनुभयो, त्यहाँ बसेर काम गर्दा मुलुकको आर्थिक अवस्था कस्तो पाउनुभयो ?

अहिले हाम्रो आर्थिक स्थिति मिश्रित खालको छ । बाह्य क्षेत्र सहज छ, विदेशी विनिमय सञ्चिति ऐतिहासिक उचाईमा पुगेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ, ब्याजदर न्यून विन्दुमा छ । तर, १० खर्बमाथि तरलता हुँदा पनि र ब्याजदर न्यून विन्दुमा झर्दा पनि कर्जाको प्रवाह बढेको छैन ।

सरकारी राजस्व परिचालन दबाबमा छ, लक्ष्य अनुसारको कर तथा राजस्व संकलन हुन सकिरहेको छैन । पूँजीगत खर्च बढ्न सकेको छैन । बैशाख महिनाको अन्तिम हप्ता सुरु भइसक्यो, तर पूँजीगत खर्च जम्मा २६ प्रतिशत जति छ । यसका आधारमा अहिलेको स्थितिलाई हामीले आर्थिक शिथिलताको अवस्था भन्न सक्छौँ ।

अहिले अत्याधिक तरलता र क्रेडिट ग्रोथ सुस्त रहेको अवस्था छ, यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ ?

तरलता छ तर कर्जा गएको छैन । यसलाई तरलता ट्रयाप अथवा एक किसिमले भन्ने हो भने तरलताको पासो भन्न सकिन्छ ।
कर्जा प्रवाह बढाउनका लागि वस्तुको माग बढ्नुपर्ने हुन्छ । समष्टिगत माग बढेमा मात्रै लगानीका लागि कर्जाको माग बढ्छ । वित्त नीतिले माग बढाउन सकेको देखिँदैन । युवा विदेशिएका छन्, उपभोग्य वस्तुको माग नै घटेको छ । माग बढाउनका लागि वित्त नीति विस्तारकारी हुनुपर्छ ।

अहिले बैशाख २३ गतेसम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह गरी तीन तहका सरकारको ३ खर्ब ७० अर्ब रुपैयाँ बैंकमा थुप्रिएको छ । यस्तो हुनु हुँदैनथ्यो । जब सरकारकै पैसा बैंकमा थुप्रिन्छ भने अर्थतन्त्र कसरी चलायमान हुन्छ ?

अर्कोतर्फ हामीले कर्जा विस्तारका लागि आन्तरिक रोजगारी सिर्जना गरेर युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्छ । वस्तुको माग बढाउन उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन सक्नुपर्छ । कतिपय अवस्थामा प्रशासनिक र कानूनी सुधार पनि गर्नुपर्ने आवश्यकता निजी क्षेत्रले औल्याइरहेको छ । सरकारले बनाएका विभिन्न समिति र आयोगहरुले पनि ति कुरा औल्याएका छन् । ति कुरामा वर्तमान सरकारले ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

नेपालको एलडीसी ग्राजुयशनको मिति नजिकिँदै छ । योजना आयोगमा बसेर तपाईले यस सम्बन्धि काम पनि हेर्नुभयो । अहिले ग्राजुयशनमा जाने उचित समय हो कि होइन ?

संयुक्त राष्ट्रसंघ (यूएन)ले कम विकसित देशहरुको सूची बनाएर उनीहरुलाई आवश्यक सहयोग गर्दै विकासशील देशमा स्तरोन्नति गर्दै लैजाने गरेको छ । अहिले हामी कम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने कुरा गरिरहेका छौँ । यो यूएनकै नियम अनुसार हुन्छ ।

यसअघि नेपालले स्तरोन्नतिको समय थप गरिसकेको स्थिति छ । त्यतिबेला ३ वटा र्शत अथवा मापदण्डमध्ये हाम्रो मानव सम्पत्ति सूचकाङ्क र वातावरणीय जोखिम सूचकाङ्क पूरा भएको थियो । अहिले चाहिँ प्रतिव्यक्ति कुल राष्ट्रिय आयसमेत गरेर तीन वटै मापदण्ड पूरा भएको अवस्था छ ।

नेपालले सन् २०२१ मा भूकम्प लगत्तैको कोभिडका कारण तत्कालै स्तरोन्नतिमा जाँदा दीगो नहुन सक्छ र पुनः अतिकम विकसित देशकै सूचीमा घटुवा हुनुपर्ला भन्ने जोखिम देखेर ५ वर्षको समय माग गरेको थियो । त्यो ५ वर्ष २०२६ नोभेम्बरमा पुग्दैछ । यूएनले आउँदो नोभेम्बर २४ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति भएको घोषणा गर्ने तालिका छ ।

अब अहिलेको समय अनुकुल हो की होइन भन्ने कुरा सरकारले मूल्याङ्कन गर्ने कुरा हो । भर्खरै जेन् जी आन्दोलन भएर एक खालको अस्थिरताबाट मुलुक गुज्रियो । चुनाव सकिएर नयाँ सरकार बनेकाले राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने अवसर चाहिँ आएको छ । तर, अर्थतन्त्रमा जोखिमको स्तर घटिसकेको छैन । यस्तो अवस्थामा एलडीसीबाट ग्राजुयशनमा जाँदा सहज हुन सक्छ कि सक्दैन ? पछि फेरि एलडीसीमै फर्किनुपर्ने पो हुन सक्छ कि ? यो कुरा सरकारले सुक्ष्म अध्ययन गर्नुपर्छ । तर, अहिलेसम्म सरकारको कुनै आधिकारिक स्टेटमेन्ट नआएकाले ग्राजुयशनमा जाने तयारी नै छ भन्ने देखिन्छ ।

निजी क्षेत्रले चाहिँ केही समय थप गर्नुपर्ने आवश्यकता औल्याएको छ । निजी क्षेत्रले ग्राजुयशनमा जाँदा अहिले भइरहेको निर्यातमा ४/५ प्रतिशत घट्छ भनिरहेको छ । यो कुरामा निजी क्षेत्रसँग बसेर सरकारले आवश्यक निर्णय गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय योजना आयोगले २०२४ मा स्मुथ ट्रान्जिशन स्टाटेजी बनाएको छ । जेन् जी आन्दोलन पश्चात त्यस अनुसारको काम पनि खासै हुन सकेको छैन । नेपालसँगै बंगलादेश र लाओस् पनि स्तरोन्नित हुने चरणमा छन् । तर, बंगलादेशले अस्थिरता र आर्थिक जोखिम कायमै रहेकाले समय सार्न यूएनलाई अनुरोध गरिसकेको छ । बंगलादेश स्तरोन्नतिमा नजाने अनि नेपाल चाहिँ जाने हो भने यसको असर हाम्रो निर्यातमा अझ बढी पो पर्छ कि भन्ने चिन्ता पनि छ । तर, अहिलेसम्म निर्यातका लागि उपलब्ध सहुलियत नेपालले पूर्णरुपमा उपयोग गर्न नसकेको स्थिति पनि छ ।

अर्कातर्फ, हाम्रो देशको मानव सम्पत्ति सूचकाङ्कको मापदण्ड पूरा भएपनि त्यो प्रतिस्पर्धी देखिँदैन । न्यूनतम् मापदण्ड त पूरा भयो, तर विश्व बजारको जनशक्तिसँग हाम्रो देशको जनशक्ति प्रतिस्पर्धी बन्न सकिरहेको देखाउँदैन । यसमा अझै बढी गृहकार्य गर्नुपर्ने अवस्था छ ।

यसका साथै, निर्यातको प्रधिस्पर्धी क्षमता पनि बढाउनुपर्छ । लागत कम गर्ने, गुणस्तर कायम गर्ने, भन्सार सहुलियतका लागि पहल गर्ने कुराहरु हामीले गर्नै बाँकी छ । ग्राजुयशनमा गइसकेपछि कतिपय देशहरुबाट अहिले प्राप्त हुँदै आएको भन्सार सहुलियत पनि गुम्छ । यसमा हामीले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

यसो भन्दैमा सधैँ एलडीसीमै बस्नुपर्छ भन्ने होइन, बसिरहन सुहाउँदैन पनि । स्तरोन्नति हुनैपर्छ । तर, पर्याप्त तयारी गरेर जानुपर्छ, ताकी भविष्यमा फेरि अतिकम विकसित देशकै सूचीमा फर्किनु नपरोस् ।

अहिले योजना आयोगको पुनर्संरचनाको बहस चलिरहेको छ, तपाईको बुझाईमा कस्तो पुनर्संरचना आवश्यक छ ?

योजना आयोगको २०१३ सालमा स्थापना भएको हो । त्यतिबेलाको परिस्थिति र अहिलेको परिस्थिति एकै छैन । यसकारण त्यो समयको भूमीका र अहिलेको भूमीका पनि मेल खाँदैन ।

यसको संस्थागत क्षमता बढाउनुपर्ने छ । आयोजनाको छनोट, विकास र अनुगमन सम्मको काम योजना आयोगलाई दिँदा राम्रो हुन्छ । अहिले अध्ययन गरेर लाभदायक र सही आयोजनाहरुको छनोट नहुँदा प्रतिफल न्यून छ । आयोजना कार्यान्वयन सम्बन्धित मन्त्रालयबाट हुन्छ, अनुगमन र मूल्याङ्कन प्रभावकारी छैन । यसकारण आयोजनाको छनोट, विकास र अनुगमन मूल्याङ्कनको जिम्मेवारीसहित सो अनुरुपको जनशक्ति योजना आयोगलाई दिइनुपर्छ ।

अर्को मुख्य कुरा, योजना आयोग गठन आदेशबाट चलेको छ, यसलाई ऐनमा बाँधेर भूमीका दिनु उपयुक्त हुन्छ । विगतमा योजना आयोग मातहतको तथ्याङ्क कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहत लगियो, यसलाई योजना आयोग मातहतमै राख्नुपर्छ ।

नीति अनुसन्धान प्रतिष्ठान भन्ने अर्को निकाय छ, उसले अध्ययन गर्छ, विभिन्न विषयहरुमा सरकारलाई नीतिगत सिफारिस गर्छ । यो निकायलाई पनि योजना आयोग मातहत नै राख्नु उपयुक्त हुन्छ । यसरी योजना आयोगलाई जिम्मेवारीसहित संस्थागत रुपमा बलियो र प्रभावकारी बनाउने गरी यसको पुनर्संरचना गरिनुपर्छ ।

आगामी बजेट कस्तो आउनु पर्छ ? पूँजीगत खर्च बढाउनका लागि सरकारले के गर्नुपर्छ ?

झण्डै दुइ तिहाई जनमत सहितको सरकार बनेको छ । अपेक्षा र काम धेरै छन् । तर, सरकारलाई वित्तीय स्रोतको दबाब छ । खासगरी, राजस्व परिचालन र बाह्य ऋण परिचालन कमजोर छ । ऋणको भार पनि बढ्दै गएको छ । यसकारण राजस्व परिचालनमा सुधार र सिमित वित्तीय स्रोतको कुशल व्यवस्थापन अहिलेको आवश्यकता हो ।

अहिलेको अवस्थामा सबै आयोजनाहरुलाई बजेट दिन सकिने अवस्था छैन । जनमतका हिसाबले ५ वर्षका लागि बनेको सरकार हुनाले पहिलो बजेटलाई ‘टर्निङ प्वाइन्ट’ बनाउने गरी आगामी वर्षहरुमा थप सुधार गर्दै जाने अवसर छ । उहाँहरुले आफ्नो बाचापत्र अनुसार पहिलो बजेटलाई आधार सिर्जना गर्ने बजेटका रुपमा ल्याएर आगामी वर्षहरुमा क्रमशः धेरै काम गर्न सक्नुहुन्छ ।

बजेटमार्फत सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवका आयोजनाहरुको सूचीमै पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ । ६ वटा वा अधिकतम् १२ वटा (एक दर्जन) आयोजनाहरुलाई गौरवका आयोजनाका रुपमा सूचीकृत गर्ने र एउटा आयोजनाको निर्माण सकिएपछि मात्रै उक्त सूचीमा अर्को आयोजना थप गर्ने नीति लिनु राम्रो हुन्छ । गौरवका आयोजना भनेपछि आयोजना पनि गौरव गर्न लायक हुनुपर्‍यो । यसो हुँदा ठूला आयोजनाले बजेट नपाउने समस्या पनि रहँदैन र पूँजीगत बजेटको खर्च पनि बढ्छ ।

आयोजना कार्यान्वयनमा आउने समस्याहरुको समाधान गरिदिने संयन्त्रको विकास गरी आयोजना कार्यान्वयनको प्रभावकारिता बढाउने कुरा पनि बजेटले जोड दिनुपर्ने हुन्छ ।

सरकारले स्थिर कर नीतिको कुरा गरेको छ । आयकरको सीमाका सन्दर्भमा पनि प्रश्नहरु छन् । हाम्रो मुलुकको कर प्रणालीमा कहाँ सुधार आवश्यक छ ?

करका विकृतिहरु सुधार गर्दै यसलाई निश्चित अवधिसम्म स्थिर राख्ने अभ्यास गर्नु राम्रो हुन्छ । कम्तीमा ५ वर्ष करका दरलाई स्थिर राख्ने अभ्यास भएमा त्यसले आर्थिक स्थायित्वमा पनि मद्दत गर्छ । तर, हामीकहाँ गहिरो र नियमित अनुसन्धान नै भएन । अर्थ मन्त्रालयले करका नीति र दरलाई तथ्याङ्कमा आधारित अध्ययनका आधारमा लागू गर्नुपर्नेमा विगतमा त्यस्तो देखिएको छैन । अहिलेको सरकारले चाहिँ यो गर्न सक्छ ।

व्यक्तिगत आयकरको सीमामा माथिल्लो दर बढी हो कि भन्ने कुरा आइरहेका छन् । अर्कोतर्फ बिबाह नगर्दा ५ लाखसम्म र बिबाह गरेकालाई ६ लाखसम्म कर छुट छ । सन्तान भएका, बुबा आमालाई हेरचाह र रेखदेख गर्नुपर्ने जिम्मेवारी भएकाहरुको हकमा के त ? यो पनि सोच्नुपर्ला ।

अर्को कुरा, अहिले हाम्रो नयाँ समस्या भनेको घट्दो जनसङ्ख्या हो । यसलाई आधार मानेर कर प्रणालीको विकास गर्नुपर्छ भनेर कुनै अध्ययन अनुसन्धान भएकै छैन । जनसाङ्खिक बद्लावलाई हेरेर कर प्रणालीमा परिमार्जन र सुधार गर्न ढिलाई गर्नु हुँदैन ।

भन्सार र अन्तःशुल्कका दरमा पनि आन्तरिक उत्पादन प्रर्वद्धन गर्ने र आयात प्रतिस्थापन गर्ने गरी परिमार्जन हुनुपर्ने देखिन्छ ।

सरकारले ७ वर्षभित्र १०० खर्बको अर्थतन्त्र बनाउने भनेको छ, यो कसरी सम्भव छ ?

नेपाल उद्योग परिसंघले पनि १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने भनेर केही गृहकार्य गरेको छ । निजी क्षेत्रले सन् २०३० सम्म जीडीपीको आकार रु. १०० खर्ब पुर्‍याउने भनेर भनिरहेकै कुरा पनि हो । सरकारले पनि हरेक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्दै यो लक्ष्यमा पुग्ने भनेको हुनाले ७ प्रतिशत आर्थिक वृद्धिदर त्यति ठूलो महत्वकांक्षी लक्ष्य पनि होइन । अहिले नै रु. ६६ खर्बको जीडीपी पुगेको हुनाले यदि हरेक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर र ५ प्रतिशत मुद्रास्फिति भएमा अबको ४/५ वर्षमा अर्थतन्त्र १०० खर्ब पुग्छ । यो प्रचलित मूल्यमा मापन गरिने कुल गार्हस्थ्य उत्पादन हो । मुद्रास्फीतिको दरले पनि यसलाई असर गर्दछ । ।

सरकारले पूँजीगत बजेटको प्रभावकारी खर्च गर्ने हो र निजी क्षेत्रले पनि पूँजी निर्माणमा लगानी गर्ने हो भने यो लक्ष्य हासिल हुन सक्छ । यसका लागि माग बढाउने, माग अनुसार उत्पादन बढाउने र आर्थिक कुटनीतिमार्फत निर्यात पनि बढाउने गरी सरकारले त्यस अनुसारका कानूनी, प्रशासनिक र व्यवहारिक सुधार गर्नुपर्छ ।

अबको बैंकिङ कस्तो हुनु पर्ला, नेपालको बैंकिङ क्षेत्रमा के कस्ता सुधार आवश्यक छन् ?

उदारीकरण पश्चात नेपालको बैङ्किङ क्षेत्र तीव्र रुपमा विस्तार भयो । तैपनि बैङ्कहरुले परिवर्तित सन्दर्भमा कर्जाको माग पूरा गर्न सकेका छैनन् । निष्क्रिय कर्जा बढेको छ, नाफा घटेको छ, गैर बैङ्किङ सम्पत्ति बढिरहेको छ । यसकारण नेपालका बैङ्कहरु अहिले दबाबमा छन्, यो दबाब लामो समय कायम रहेमा यसले वित्तीय स्थायित्वमा नै धक्का पुग्न सक्छ ।

नेपालको बैङ्किङ एकदमै सामान्यीकरण (जेनरलाइज) खालको भयो । समय अनुकुलका कर्जाका प्रोडक्टहरु पनि निकाल्न सकेनन् । बैङ्कहरु पनि विशिष्टिकृत खालका भएनन्, सबैले एउटै काम गरिरहेका छन् । एक किसिमले भन्ने हो भने परम्परागत (ट्रेडिनशल) बैङ्किङ चलिरहेको छ । यो भनेको के हो भने, बचत उठाउने र कर्जा दिने । बैङ्कहरु उत्पादनमूलक क्षेत्रको सहयोगी बन्नुपर्छ । विदेशतिर बैङ्कहरुले एड्भाइजरी भूमीका पनि निर्वाह गरेका हुन्छन् ।

हाम्रो नियमन पनि उस्तै जेनेरलाइज नै भयो । कृषि, सेवा, उद्योग सबैमा गएको ऋणलाई एउटै डालोमा हालिन्छ । उनीहरुलाई दिइने निर्देशनहरु पनि एकै खालका छन् । यी विषयमा पनि अब नियामक निकायले सुधार गर्दै जानुपर्ने हुन्छ ।

हिजोको कतिपय निर्देशित कर्जाका कारण बैङ्कको गैर बैङ्किङ सम्पत्ति बढिरहेको छ । उदाहरणका लागि, हिजो विपन्न वर्ग कर्जा भनेर निर्देशित कर्जाको प्रावधान ल्याइयो, त्यो कर्जा नउठेर अहिले बैङ्कहरुलाई समस्या परिरहेको छ । यस्ता कर्जाहरु समयानुकुल हो की होइन भनेर अब नियामक निकायले मूल्याङ्कन गर्ने बेला भएको छ ।

पियर टू पियर (पी टू पी) ल्याण्डिङ सुरु भएको छैन, क्रेडिट स्कोरिङ सुरु भएको छैन । निक्षेप तथा कर्जा सुरक्षण कोष पनि बीमाको अवधारणा अनुसार चलेको छैन । बचत र कर्जाको सुरक्षण गर्नका लागि खडा गरिएको यो संरचना आफैँ प्रीमियम बापत उठाएको पैसा बैङ्कमा लगेर राखेर बसेको छ । जबकी, यो त बीमाको सिद्धान्त र अवधारणा अनुसार चल्नुपर्ने होला । बीमाको परिधिभित्र चल्ने हो भने बीमा प्राधिकरणसँग समेत जोडिनुपर्ने हो । यस्ता धेरै कुराहरुमा अब सुधार गर्दै बैङ्किङलाई आधुनिक र एड्भाजरी भूमीका सहितको बैङ्किङ बनाउन जरुरी छ ।

नेपालको आर्थिक रुपान्तरणको लागि कुन कुन क्षेत्रहरुबाट हामीले तत्कालै लाभ लिन सक्छौ ?

पर्यटन, ऊर्जा (जलविद्युत, सोलार लगायत) र कृषि नै हाम्रो पोटेन्सियल हो । उत्पादनमूलक क्षेत्र पनि छ । मूल कुरा के हो भने बैङ्कहरुले यीनलाई पनि जेनरलाइज गरिदिए । कृषिमा अनेकौँ भेराइटी हुन्छ, कुनै ४५ दिनमा फल्ने वा तयार हुने फल तथा कृषि वस्तु हुन्छ भने कुनै ५–१० वर्ष लाग्ने पनि हुन्छ । ऊर्जामा एउटा आयोजना बन्न १० वर्षसम्म पनि लाग्न सक्छ । पर्यटनमा पनि पूर्व पश्चिमको फरक छ । हामी पर्यटन भन्ने बितिक्कै काठमाडौँ, पोखरा र चितवनबाट बाहिर निस्कनै सकेनौँ ।

हामीकहाँ आर एण्ड डी (रिसर्च एण्ड डेभलपमेन्ट) नै भएन । बैङ्कहरुले पनि आर एण्ड डीमा केन्द्रित हुनुपर्ने हो, तर अहिले बैङ्कहरुले अध्ययन गरेकै छैनन् । आकार र पूँजीका हिसाबले बैङ्कहरु ठूला भए तर अध्ययन र अनुसन्धानमा लाग्दै लागेनन् । कुनैपनि बैङ्कमा तथ्याङ्कशास्त्री र अर्थशास्त्री छैनन् ।

अन्तिममा, अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको प्रभावका कुरा आइरहन्छन्, कुन क्षेत्र बढी अनौपचारिक छ ? त्यस्ता क्षेत्रलाई कसरी औपचारिक क्षेत्रमा ल्याउन सकिएला ?

तथ्याङ्क कार्यालयले अहिले आर्थिक गणना गरिरहेको छ । उद्योग तथा प्रतिष्ठानहरुलाई गणनामा सहभागी पनि गराइरहेको छ ।

तर, कृषिको वास्तविक गणना नै भएन । यसमा आधारित अरु एमएसएमईजहरु पनि छन् । यसकारण हाम्रो देशको कृषि क्षेत्रको वास्तविक तथ्याङ्क नै भएन । कृषिलाई औपचारिक प्रणालीमा ल्याउने हो भने अनौपचारिक अर्थतन्त्र स्वतः घट्दै जान्छ ।

निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउनुपर्‍यो, दर्ता प्रक्रिया वडाबाटै एकद्वार प्रणालीबाट हुने प्रबन्ध मिलाउनुपर्‍यो, दर्ता गर्दा सकेसम्म निःशुल्क वा कम शुल्कमा गरिदिनुपर्‍यो । कर तिर्न पनि सहज बनाइदिनपर्‍यो । कुनै क्षेत्रलाई औपचारिक च्यानलमा ल्याउन राज्यले इन्भेन्टिभ पनि दिनुपर्छ । घर घरमै जनशक्ति पठाएर दर्ता गराइदिन पनि सक्छ ।

अब यी काम गर्दा के फाइदा हुन्छ भनेर पनि बुझाउनुपर्ने हुन्छ । दर्ता भएमा ब्यापार र उद्यम विस्तार गर्न ऋण पाइन्छ, सरकारले दिने अनुदान पाउन सकिन्छ, स्थानीय सरकारले मेला र महोत्सवमा तपाईले बनाएका सामानहरु र उब्जाएका अन्न तथा फलफूलहरुलाई बजारीकरण गरिदिन्छ भनेर सम्बन्धित व्यक्तिहरुलाई बुझाउनुपर्छ । मान्छेले आर्थिक निर्णय गर्दा जहिल्यै पनि सिमान्त लागत र सिमान्त फाइदा हेर्छ । लागत भन्दा बढी फाइदा हुन्छ भन्ने कुराहरु बुझाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउन सकिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...
spot_img