कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा पर्ने प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको गत शुक्रबार (कार्तिक २३ गते) शिलान्यास भएको छ । त्यहाँ केबलकार बनाउने बहस सुरु भएको एक दशक भइसके पनि परियोजनामा आइएमई समूह प्रवेश भएपछि बल्ल शिलान्यास भएको हो । तर केबलकार बन्नु हुँदैन र बन्नुपर्छ भन्ने पक्षबीच आज पनि विवाद कायमै छ, दूबै पक्षका आ–आफ्नै तर्क छन् ।
पाथीभरादेवी दर्शन केबलकार प्रा.लि.ले ताप्लेजुङको फुङलिङ नगरपालिका ११ काफ्लेपाटीदेखि पाथीभरा मन्दिरभन्दा करिब ८ सय मिटर तलसम्म २.७४ किलोमिटर केबलकार बनाउँदैछ । केबलकार निर्माण गर्न सरकारले ४.९७ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति नै दिइसकेको छ । २ अर्ब ५५ करोड लगानीमा बन्ने उक्त परियोजनाले ताप्लेजुङ मात्रै नभई कोशी प्रदेशकै आर्थिक उन्नतिमा योगदान दिने विश्वास पनि गरिएको छ ।
राजनीतिक दल एकमत
पाथीभरामा केबलकार बनाउने प्रस्तावबारे विभिन्न मितिमा पटकपटक सरोकारवालाबीच छलफल भएका छन् । स्थानीय तह, स्थानीय सरोकारवाला, राजनीतिक दलका प्रतिनिधिबीच भएका कुनैपनि छलफल तथा बैठकले पाथीभरामा केबलकार बनाइनु हुँदैन भन्ने निर्णय गरेका छैनन् ।
पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा २०८० मंसिरमा निर्माण स्थलको सर्वपक्षीय अनुगमन भएको थियो । सो अनुगमनले पाथीभरा कोशी प्रदेशको मात्रै नभई देशकै प्रसिद्ध धार्मिकस्थल भएकाले उक्त क्षेत्रमा केबलकार बन्दा पर्यटन प्रवद्र्धन हुने भन्दै केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो ।
त्यस लगत्तै २०८० पौष ६ गते जिल्ला सदरमुकाम फुङलिङमा केबलकार परियोजनाको लगानीकर्ता (आइएमई समूह)सहित सरोकारवालाबीच अन्तरक्रिया आयोजना गरिएको थियो । त्यस क्रममा प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले जिल्लामा यति ठूलो परियोजना आउँदा स्थानीय नागरिकले सहयोग गर्नुपर्ने र परियोजनाको काम तत्काल अघि बढाउनुपर्ने धारणा राखेकी थिइन् ।
ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने परियोजना भएकाले पाथीभरा केबलकारको काम थाल्न ढिलाई गर्न नहुने धारणा राखेका थिए । फुङलिङ नगरका मेयर अमिर मादेनले पाथीभरा केबलकार जिल्लाबासीको हितमा रहेको र स्थानीय जनताले अधिकतम् लाभ पाउने भएकाले व्यक्तिगत स्वार्थ र पूरानो सोच राखेर अवरोध गर्न नहुने बताएका थिए ।
२०८० फागुनमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आह्वान गरेको राजनीतिक दलको संयुक्त बैठकले पनि केबलकार निर्माणमा आवश्यक सहजीकरण गर्ने निर्णय गरेको थियो ।
समुन्द्री सतहबाट ३ हजार ७९४ मिटरको उचाईमा अवस्थित पाथीभरा मन्दिर फुङलिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका र फक्तालुङ गाउँपालिकाको संगमस्थलमा पर्छ । यसकारण केबलकार परियोजनामा सिरिजङ्घा गाउँपालिका र फक्तालुङ गाउँपालिकाको पनि सहजीकरण आवश्यक देखिन्छ ।
सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान सिङ्गो जिल्लाले लाभ पाउने भएकाले केबलकार परियोजना बन्नुपर्छ भन्ने कित्तामा छन् । फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु पनि परियोजनाको विपक्षमा छैनन् । मन्दिरको प्राकृतिक र ऐतिहासिक स्वरुप नबिग्रने गरि केबलकार बनाउने भनिएकाले यसबारे स्थानीय नागरिक र विरोध गरिरहेकाहरुलाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।
त्यसो त, कार्तिक २३ गते केबलकार शिलान्यास कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिले पनि परियोजनामा सर्वदलीय सहमति छ भन्ने प्रष्ट हुन्छ ।
विरोध गर्नेहरुको यस्तो दाबी
पाथीभरामा केबलकार निर्माण गर्नु हुँदैन भन्नेहरुले मुन्धुम संस्कृति मासिन्छ भन्ने चिन्ता व्यक्त गरिरहेका छन् । पाथीभरा (मुकुम्लुङ) मुन्धुम संस्कृतिको आस्थाको केन्द्र भएकाले केबलकार बन्दा मन्दिरसहित आसपासको संरचना बिग्रन्छ कि भन्ने डर उनीहरुलाई छ ।
केबलकार बन्नु हुँदैन भन्ने समूहको नेतृत्व गरिरहेकी किराँत याक्थुम चुम्लुङकी महासचिवसमेत रहेकी निरन्ती तुम्वापो मुकुम्लुङ मुन्धुम संस्कृतिको आस्थाको धरोहर भएकाले यसलाई बिगार्न र मास्न नहुने बताउँछिन् । केबलकार बन्दा मुकुम्लुङको ऐतिहासिक संरचना मासिने भएकाले सो क्षेत्रमा केबलकार बन्न नहुने उनको तर्क छ ।
यस्तै, आफैँ हिडेर मन्दिरसम्म पुग्न नसक्ने दर्शनार्थीहरुलाई बोकेर पु¥याउने काम गर्दै आएका श्रमिकहरु (स्थानीय भषामा भन्दा भरियाहरु) को रोजगारी गुम्ने चर्चा पनि भइरहेको छ । हाल २ सयको हाराहारीमा भरियाहरु सो क्षेत्रमा क्रियाशील छन् ।
साथै, हाल सामान्य रुपमा होटल तथा अन्य व्यवसाय गर्दै आएकाहरुले हालको व्यवसायबाट विस्थापित हुनुपर्छ कि भन्ने भयले पनि विरोधका आवाजहरु सुनिएको देखिन्छ ।
बन्नुपर्छ भन्नेहरुको तर्क के छन् ?
केबलकार निर्माण गर्नुपर्छ भन्ने पक्षमा रहेकाहरुको तर्क तुलनात्मक रुपमा वस्तुनिष्ठ देखिन्छ । परियोजनाले मन्दिर परिसरमै माथिल्लो सबस्टेशन राख्ने पनि होइन र मन्दिरका कुनै पनि संरचना बिगार्ने पनि होइन भन्ने उनीहरुको तर्क छ । जुन, केबलकार परियोजनाको प्रस्तावमै भनिएको छ ।
अर्कोतर्फ, मुन्धुम संस्कृति मासिने नभई झन फैलिने कतिपयको दाबी छ । हाल वार्षिक ४ लाख हाराहारी मानिसहरु पाथीभराको दर्शनमा पुग्ने गरेको र केबलकार बनेपछि वार्षिक १५ लाख मानिसहरु पुग्ने अपेक्षा गरिएकाले केबलकार बनेपछि मुन्धुम संस्कृतिबारे झन धेरै मानिसहरुलाई थाहा हुने उनीहरुको तर्क छ ।
साथै, पाथीभरा केबलकार परियोजनालाई सिङ्गो कोशी प्रदेशकै ‘मेगा प्रोजेक्ट’का रुपमा लिएर चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न सकिए पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण लगायतको लाभ ताप्लेजुङसहित पाँचथर र इलामबासीले समेत पाउने अपेक्षा केबलकार निर्माण पक्षधरहरुको छ । होटल, रिसोर्ट, रेष्टुरेन्टसहित यातायातको पूर्वाधारसमेत विकास हुने भएकाले सिङ्गो ताप्लेजुङका लागि केबलकार परियोजनाले समृद्धिको ढोका खोल्ने आशा लिइएको छ ।
‘एउटा न एउटाले त लगानी गर्नैपर्छ, लगानी गर्नेले निश्चित मुनाफा कमाउँछ पनि होला, तर त्यसले पर्यटन, पूर्वाधार, विकास र सिङ्गो अर्थतन्त्रलाई नै सकारात्मक योगदान दिन्छ भन्ने कुरा बुझ्नु पर्दछ ताप्लेजुङ सिरिजङ्घास्थित ओलाङचुङगोलाका एक जना भट्टराई थरका मानिस भन्छन्, ‘हाम्रा दाजुभाईहरु वर्षौदेखि दुःखलाग्दो जीवनयापन गरिरहेका छौँ, केबलकार परियोजना बनेपछि स्थानीयलाई पनि सेयर दिने कुरा छ, हाम्रै भाइभतिजहरुले काम पनि पाउने छन्, हाम्रा अलैँचीदेखि अदुवा बेसारले पनि मूल्य पाउने छ । हामीले यहीँ आशा गरेका छौँ ।’
सजिलै पाथीभरा दर्शन गर्न सकिने भएपछि भारतको पश्चिम बङ्गाल, दिल्ली, बिहारसहित पूर्वी नेपालसँग सीमा जोडिएका सिक्किम र दार्जलिङबाट समेत दर्शनार्थीहरु बढ्ने अपेक्षा लिइएको छ । बिर्तामोडदेखि काकडभिट्टा, धरान–चतरा खण्ड र तमोर करिडोर भरी नै पर्यटकहरुको चहलपहल बढ्ने र त्यसको प्रत्यक्ष लाभ सो क्षेत्रका नागरिकले पाउने भएकाले केबलकार परियोजनालाई कोशी प्रदेशकै ‘गेम चेन्जर प्रोजेक्ट’मा रुपमा लिनुपर्ने बुझाई पनि पक्षधरहरुको छ ।
सँगै, स्थानीय पालिकाहरुले पाउने कर तथा राजस्वमा समेत योगदान पुग्ने र स्थानीय नागरिकहरुले १० प्रतिशत शेयर पाउने भएकाले उक्त परियोजनाको लाभ बृहत् रहेको सो क्षेत्रका अगुवाहरु बताउँछन् ।
कस्तो बन्दैछ केबलकार ? कहिले बनिसक्छ ?
कार्तिक २३ गते शुक्रबार शिलान्यास भएको पाथीभरा केबलकार आगामी १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले आगामी १५ महिनाभित्र केबलकारको निर्माण सक्ने बताउँदै मन्दिर आसपास परियोजनाले कुनै पनि संरचना नबनाउने बताएका छन् । उनका अनुसार अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थीहरु जाने गरि केबलकारको डिजाइन गरिएको छ ।
मुख्य सबस्टेशनबाट १० मिनेट २० सकेण्डमा माथिल्लो सबस्टेशनमा पुगिने गरि बन्न लागेको उक्त केबलकार परियोजनामा १३ वटा टावर बनाइनेछ । केबलकारमा ४५ वटा डब्बा रहनेछन् ।
‘भरियाको रोजगारी गुम्दैन, मुन्धुम संस्कृतिको थप संरक्षण र प्रवद्र्धन हुन्छ’
केबलकार बनेपछि झापाको बिर्तामोडदेखि काकडभ्टिटा र आसपासको बाटो हुँदै हजारौँ मानिसले दैनिक आवतजावत गर्ने भएकाले सो क्षेत्रलाई थप चलायमान बनाउने केबलकार निर्माण कम्पनीको दाबी छ । पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्तरमा उत्पादिन कृषि उपजहरुको बजारीकरणसहित ग्रामिण अर्थतन्त्रमा परियोजनामार्फत सकारात्मक योगदान पुग्ने निर्माण कम्पनी बताउँछ ।
साथै, त्यस क्षेत्रका अगुवाहरुले दर्शनार्थीहरुलाई बोकेर मन्दिरसम्म पु¥याउने काम गर्दै आएका भरियाहरुको रोजीरोटी गुम्छ कि भनेर चिन्ता लिनु स्वभाविक भएपनि कम्पनीले नै आवश्यक सहजीकरण गरेर भरियाहरुको व्यवस्थापन गर्ने बताइएको छ ।
‘केबलकार सञ्चालनमा आएपछि २ सयदेखि माथि कर्मचारी चाहिन्छ, सुरक्षा गार्ड लगायतका धेरै कर्मचारी हामीलाई नै चाहिने भएकाले त्यसमा पनि उहाँहरुलाई व्यवस्थापन गर्न सकिन्छ’ कम्पनी भन्छ, ‘स्थानीयलाई अधिकतम् सहभागी गराएर परियोजना अघि बढाउने हो ।’
साथै, मन्दिरको संरक्षणमा पनि परियोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्नेछ । यसले मुन्धुम संस्कृतिको संरक्षणमा थप सहयोग पुग्ने भन्दै संस्कृति मासिन्छ कि भन्ने आशंका गरिरहनु नपर्ने कम्पनीले जनाएको छ ।