Thursday, May 7, 2026
spot_img
spot_img

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक वक्तव्य सार्वजनिक गरेका छन् । नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गरेलगत्तै उनले आफ्नो ३ वर्षे कार्यकालको विषय समेटेर वक्तव्य सार्वजनिक गरेका हुन् ।

उनले महासंघ आफ्ना लागि परिवार भएको र कुर्सीबाट अलग भएपनि परिवारको सदस्यका रुपमा रहिरहने बताएका छन् ।

यस्तो छ उनको वक्तव्यः

आदरणीय अग्रजहरू, सहयात्री व्यवसायी साथीहरू, नेपाल उद्योग वाणिज्य महासंघ परिवार तथा सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरू,
तीन वर्षअघि यहाँहरूले ममाथि राख्नुभएको विश्वासको भारी आज सकुशल बिसाएको छु। यहाँहरूकै विश्वासको जगमा अडिएर मैले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी सम्हालेको थिएँ र आज हाम्रा मित्र अञ्जन श्रेष्ठ तथा उहाँको नयाँ टोलीलाई आगामी कार्यकालका लागि शुभकामना दिँदै नेतृत्वबाट विदा लिएको छु। मेरा लागि त्यो केवल एउटा पद थिएन, बरु नेपालको समग्र निजी क्षेत्रको सपना, संघर्ष र आशाको प्रतिनिधित्वसहितको दायित्व थियो।
मेरा लागि यी तीन वर्ष केवल समयका पाना मात्र थिएनन्, नयाँ अनुभव र अवसरका अध्याय पनि थिए। यस अवधिमा मैले हरेक दिन, हरेक क्षण केही न केही नयाँ सिक्ने अवसर पाएँ र नयाँ अध्यायहरूको सुरुआत गर्न सकेँ। यहाँहरू सबैलाई थाहै छ, म नेतृत्वमा आउँदा हाम्रा अगाडि सम्भावनाका सुनौला बिहानी मात्र थिएनन्, चुनौतीका चाङहरू पनि उत्तिकै थिए। ती सबैखाले झरी–बादल हामीले सँगै झेल्यौँ, कठिन परिस्थितिहरू पनि मिलेर पार गर्यौँ। अर्थतन्त्रका अप्ठ्यारा मोडहरूमा समाधान खोज्यौँ, निजी क्षेत्रको आवाजलाई साझा बनायौँ र राज्यसम्म पुर्याउन निरन्तर प्रयत्न गर्यौँ। चुनौतीलाई अवसरमा बदल्दै हामी यहाँसम्म आइपुगेका छौँ।
म महासंघ परिवारको सदस्य भएको पनि धेरै वर्ष भयो। त्यसैले तीन वर्ष नेतृत्वमा रहँदा पनि मेरा लागि महासंघ कहिल्यै केवल संस्था बनेन, बरु एउटा परिवार बन्यो। यहाँका हरेक अनुहारमा मैले आत्मीयता भेटेँ, हरेक औपचारिक तथा अनौपचारिक छलफलमा देशप्रतिको चिन्ता र समृद्धिको सपना देखेँ। त्यसैले आज पद हस्तान्तरण गर्दै गर्दा पनि मलाई लागिरहेको छ— म केवल कुर्सीबाट अलग भएको हुँ, तर यही परिवारमै छु।
मानिसको व्यक्तिगत तथा व्यवसायिक जीवनमा पदहरू आउँछन् र जान्छन् । तर ती पदमा रहँदाका सम्बन्ध, विश्वास र सहकार्यका स्मृतिहरू कहिल्यै विस्मृतिमा जानु हुँदैन। म ठान्दछु, कुनै पनि नेतृत्व भनेको अघि उभिनु मात्र होइन, कठिन मोड र यात्रामा सबैलाई साथमा लिएर अघि बढ्नु पनि हो। यी तीन वर्षमा मैले देशभरिका व्यवसायी साथीहरूसँग हातेमालो गरेको छु, उहाँहरूका सुख–दुःखमा साथ दिएको छु र सहकार्यका साथ अघि बढ्ने प्रण गरेको छु। मैले प्राप्त सफलताको श्रेय कुनै एक व्यक्ति वा नेतृत्वलाई होइन, सामूहिक प्रयास र त्यसको परिणामलाई दिन चाहन्छु। त्यसैले मेरो कामको मूल्यांकनको जिम्मा पनि यहाँहरूमा नै छोड्न चाहन्छु।
बागलुङबाट काठमाडौं आएर सामान्य व्यवसाय सुरु गरेको मैले, देशका ठूला उद्योगी–व्यवसायीहरूले नेतृत्व गरिरहेको महासंघको अध्यक्ष पदसम्म पुग्ने सपना देख्नु नै असम्भवजस्तै लाग्थ्यो। तर व्यवसायप्रतिको मेरो लगाव, निष्ठा र मप्रति यहाँहरूले देखाउनुभएको विश्वासले त्यो सपना सम्भव मात्र भएन, सफलतापूर्वक सम्पन्न पनि भयो। त्यसैले नेतृत्वमा रहँदा मैले सधैँ नेपालको निजी क्षेत्र, उद्यमशीलता र देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेँ। यस यात्रामा यहाँहरू सबैको साथ, सहयोग र रचनात्मक सुझाव अमूल्य रह्यो। हामीले थालेका कतिपय सपना अझै अधुरा हुन सक्छन्, तर ती सपनालाई उचाइमा पुर्याउन नयाँ नेतृत्व पूर्ण रूपमा सक्षम हुनेछ भन्ने विश्वास लिएको छु। यस अभियानमा मेरो साथ र सहयोग आवश्यक पर्दा म सधैँ तयार रहनेछु।
जाँदाजाँदै म यो प्रण गर्न चाहन्छु— आज म अध्यक्षको जिम्मेवारीबाट अलगिएको हुँ, तर महासंघप्रतिको मेरो लगाव, प्रतिबद्धता र सहयात्रा सधैँ निरन्तर रहनेछ। म सधैँ यही परिवारको एक सदस्यका रूपमा रहनेछु। भोलिका दिनमा पनि आजजस्तै यहाँहरूको साथ, सहयोग र सद्भावको अपेक्षा गर्दछु।
अन्यत्रजस्तै महासंघको यात्रामा पनि समयको नदी निरन्तर बगिरहन्छ, पात्रहरू फेरिइरहन्छन्। तर हाम्रो उद्देश्य सधैँ एउटै रहोस्— समृद्ध नेपाल र सशक्त निजी क्षेत्र। नेपालको समृद्धिको सारथि निजी क्षेत्र नै हो भन्ने विश्वासलाई मूलमन्त्रका रूपमा लिएर सकारात्मक सोच र सहकार्यका साथ अघि बढ्न देशभरिका उद्योगी–व्यवसायी साथीहरूलाई म हार्दिक आग्रह गर्दछु।
महासंघको नेतृत्वमा रहँदा मलाई साथ, सहयोग, हौसला र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्णमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...
spot_img