नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । उनले अर्थ मन्त्री समक्ष राजीनामा पेश गरेका हुन् ।
बोर्ड अध्यक्षको लागि आवेदन दिने समय समाप्त भैसकेको छ। डा. गुणाकर भट्टका दाई (ठूलोबुबाका छोरा) पर्ने डा.गोपाल भट्टले पनि बोर्ड अध्यक्षको लागि आवेदन दिएपछि स्वार्थ बाझिने भन्दै डा. गुणाकर भट्टले संयोजक पदबाट राजीनामा दिएको बताईएको छ ।
बोर्ड अध्यक्षको लागि कुल ४७ जनाको आवेदन परेको छ। बोर्डको अध्यक्षको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै ७ दिन भित्र अर्थात् वैशाख २१ भित्र योग्य तथा इच्छुकहरुलाई व्यक्तिगत विवरण पेश गर्न भनेको थियो।
संयोजकले नै राजीनामा दिएपछि अब सरकारले अर्को संयोजक नियुक्त गरेपछि मात्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने देखिएको छ। सिफारिस समितिका अन्य दुई सदस्यमा भने अर्थ सचिव डा. घनश्याम उपाध्याय र विज्ञ सदस्यको रुपमा भुवन दाहाल रहेका छन् ।
सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ नियुक्ति हुन लागेको हो । नयाँ नियुक्त हुने अध्यक्षले श्रेष्ठको बाँकी कार्यकालको अवधिको लागि मात्र काम गर्न पाउने छ ।













