Monday, August 24, 2026
spot_img
spot_img

रोजगारदातामाथि आगो लगाएर ‘जेनजी’ले गरेको कमजोरी

spot_img

जेनजी आन्दोलनका अगुवाहरुले भदौ २३ गते बिहानसम्म प्रदर्शन शान्तिपूर्ण बनाउने भनिरहेका थिए । विशाल मानव सागरमा परिणत भएको प्रदर्शन माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो । उनीहरुले देशमा ब्याप्त भ्रष्टाचार, नेताका सन्तानको विलासी जीवनशैलीमा प्रश्न उठाउँदै रचनात्मक नारा लगाइरहेका थिए ।

माइतीघरमा युवाहरुको विशाल भिड खडा भइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली भने उनीहरुलाई खिसिट्यूरी गर्दै थिए । उनका पार्टीका नेताहरु पनि जेनजी प्रति असहिष्णु सुनिँदै थिए । भिड बानेश्वरतर्फ मोडिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीले गोली हान्ने आदेश दिए । उनको आदेश पाएको प्रहरीले गोली चलायो । करिब ३ घण्टामा १९ युवाको प्राण गयो ।

यति हुँदापनि देशका प्रधानमन्त्रीले सुरक्षाबारे चासो राखेनन् । लगत्तैको मन्त्रिपरिषद बैठकमा पनि उनले आफ्नो ढिपी छोडेनन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएपनि गोली दाग्न आदेश दिने सरकारको नेतृत्व गरेका ओली भने सडकमा बगिरहेको युवाको रगतप्रति कुनै सहानुभूति नदेखाई कुर्सीमा बसिरहे ।

जसका कारण दोस्रो दिन भदौ २४ गतेको आन्दोलन भयानक बन्न पुग्यो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा निवासमै कुटिए । प्रधानमन्त्री र मन्त्रीहरु सेनाको हेलिकप्टर चढेर भाग्नुपर्‍यो । अतालिएका प्रधानमन्त्रीले बिना लेटर हेडको एउटा कागजमा राजीनामा बुझाए । तर, यतिबेलासम्म निकै ढिला भइसकेको थियो ।

किनकी, प्रधानमन्त्रीको हठी स्वभावका कारण राजनीतिक अस्थिरता मात्रै मच्चिएन, बरु वर्षौ लगाएर बनाइएका भौतिक संरचनाहरु नासिए । कारक ओलीको तानाशाह प्रवृत्ति नै भएपनि भिडले संयमता गुमाउँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन जस्ता संरचनाहरु खरानी भए । जसका कारण विशाल र अभुतपूर्व समर्थन प्राप्त गरेको जेनजी आन्दोलनले दोस्रो दिन भने आलोचना खेप्नुपर्‍यो ।

निजी व्यवसायमाथि हमला

जेनजी पुस्ताले आन्दोलनको खाका कोर्दै गर्दा भनेको थियो: रोजगारीको अवसर छैन । निश्चय पनि हरेक वर्ष श्रम बजारमा आउने जनशक्तिका लागि मुलुकभित्र पर्याप्त रोजगारीको अवसर छैन । यो सत्य हो । तर, जतिले रोजगारी पाइरहेका छन्, ति जेनजी पुस्ताकै दाजुभाई दिदीबहिनी छन् । र, तिनले निजी क्षेत्रबाट रोजगारी पाइरहेका छन् ।

जेनजी पुस्ताका एक अगुवाले भाषणमा भन्दै थिए, ‘विनोद चौधरीले गाडी चढेको र महँगो घडी लगाएकोमा मेरो कुनै प्रश्न छैन । किनकी, उहाँको बिजनेश छ, ब्यापार छ, उद्योग छ ।’ तर, बिडम्बना तिनै जेनजी आन्दोलनकारीहरुले चौधरी ग्रुपका विभिन्न कम्पनी, फर्म, ब्यापारिक शोरुम तथा कार्यालयहरु जलाए ।

जेनजी पुस्ताकै लागि सबैभन्दा ठूलो रोजगारदाता भाटभटेनी सुपरमार्केट हो । भाटभटेनीले नेपालमै पहिलोपटक ‘पार्ट टाइम जब’को संस्कृति सुरु गरिरहेको छ, यसको सबैभन्दा ठूलो लाभ पढ्दै गरेका युवाहरुलाई नै हुँदै थियो । हाल पनि कायम जनशक्तिमध्ये १८–२५ वर्षका युवाहरु सबैभन्दा धेरै रहेको यहीँ भाटभटेनी आन्दोलनकारीहरुको निशानामा पर्‍यो । कुनै आउटलेट जले, कुनै तोडफोड र आगजनी भए । कुनै लुटिए पनि ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि ठूलो रोजगारदाता मध्येमा पर्छन् । तर, उनको नाम जोडिएकै कारण चन्द्रागिरी हिल्स जस्ता निजी क्षेत्रले विकास गरेका पर्यटकीय गन्तव्य र रोजगारीका क्षेत्रमा आगजनी भयो ।

सिम्रिक एयरमाथि पनि आन्दोलनकारीहरुले रिस पोखे । कार्यालय भवनमा आगो झोसे, सवारी साधनहरु ध्वस्त बनाए । काठमाडौँको नक्सालस्थित हिल्टन होटल पनि आगोको लप्कामा दन्कियो । अर्बौ रुपैयाँ लगानीमा ठडिएको संरचनाबाट क्षणभरमै धुवाँको मुस्लो निस्कियो ।

व्यवसायी अजयराज सुमार्गीको हेटौँडास्थित निजी निवास पनि जलाए । व्यवसायी उपेन्द्र महतोको निवास पनि सग्लो रहेन । कान्तिपूर पब्लिकेशनको भवन ध्वस्त बनाए । विभिन्न गाडी बिक्रेता कम्पनीहरुका शोरुम पनि जलाइए ।

यतिसम्म की, आफ्नै पुस्ताका टिकटकर अंशु बर्माले भर्खरै सुरु गरेको चियाको व्यवसाय पनि आन्दोलनकारीले निमिट्यान्न पारिदिए । साना र मझौला व्यवसायहरुमा भएको क्षति यकिनगरी साध्यै छैन ।

सरकार, राजनीतिक दल र नेताहरुप्रतिको वितृष्णा पोख्न सडकमा उत्रिएको जेनजी पुस्ता तोडफोड र आगजनीमा उत्रिएपछि समर्थकहरुलाई पनि स्तब्ध बनाएको छ । नेता र दलप्रतिको आक्रोश तथा रिसको झोँकमा हजारौँ युवालाई रोजगारी दिइरहेका निजी व्यवसायिक प्रतिष्ठानमाथि आगो झोस्ने काम जेनजी पुस्ता तथा यस आन्दोलनको अगुवाहरुका लागि शोभनीय भने होइन । यो आन्दोलनकै कमजारी हो ।

यसर्थ, यस अभियानका अगुवाहरुले भएका भौतिक क्षतिका सम्बन्धमा पनि समीक्षा गर्नु आवश्यक छ । निरङ्कुश र तानाशाह प्रवृत्तिको सन्की साशकबाट देशले जेनजीकै बलमा मुक्ति पाइसकेको छ । अब भविष्यमा रोजगारदाता, व्यापारिक प्रतिष्ठान तथा निजी क्षेत्रमाथि कुनै पनि आक्रमण हुँदैन भन्ने ग्यारेन्टी जेनजी अगुवाहरुले नै दिन सक्नुपर्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...

ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको...

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन...

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन

नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू...

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक...

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...
spot_img