जेनजी आन्दोलनका अगुवाहरुले भदौ २३ गते बिहानसम्म प्रदर्शन शान्तिपूर्ण बनाउने भनिरहेका थिए । विशाल मानव सागरमा परिणत भएको प्रदर्शन माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो । उनीहरुले देशमा ब्याप्त भ्रष्टाचार, नेताका सन्तानको विलासी जीवनशैलीमा प्रश्न उठाउँदै रचनात्मक नारा लगाइरहेका थिए ।
माइतीघरमा युवाहरुको विशाल भिड खडा भइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली भने उनीहरुलाई खिसिट्यूरी गर्दै थिए । उनका पार्टीका नेताहरु पनि जेनजी प्रति असहिष्णु सुनिँदै थिए । भिड बानेश्वरतर्फ मोडिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीले गोली हान्ने आदेश दिए । उनको आदेश पाएको प्रहरीले गोली चलायो । करिब ३ घण्टामा १९ युवाको प्राण गयो ।
यति हुँदापनि देशका प्रधानमन्त्रीले सुरक्षाबारे चासो राखेनन् । लगत्तैको मन्त्रिपरिषद बैठकमा पनि उनले आफ्नो ढिपी छोडेनन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएपनि गोली दाग्न आदेश दिने सरकारको नेतृत्व गरेका ओली भने सडकमा बगिरहेको युवाको रगतप्रति कुनै सहानुभूति नदेखाई कुर्सीमा बसिरहे ।
जसका कारण दोस्रो दिन भदौ २४ गतेको आन्दोलन भयानक बन्न पुग्यो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा निवासमै कुटिए । प्रधानमन्त्री र मन्त्रीहरु सेनाको हेलिकप्टर चढेर भाग्नुपर्यो । अतालिएका प्रधानमन्त्रीले बिना लेटर हेडको एउटा कागजमा राजीनामा बुझाए । तर, यतिबेलासम्म निकै ढिला भइसकेको थियो ।
किनकी, प्रधानमन्त्रीको हठी स्वभावका कारण राजनीतिक अस्थिरता मात्रै मच्चिएन, बरु वर्षौ लगाएर बनाइएका भौतिक संरचनाहरु नासिए । कारक ओलीको तानाशाह प्रवृत्ति नै भएपनि भिडले संयमता गुमाउँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन जस्ता संरचनाहरु खरानी भए । जसका कारण विशाल र अभुतपूर्व समर्थन प्राप्त गरेको जेनजी आन्दोलनले दोस्रो दिन भने आलोचना खेप्नुपर्यो ।
निजी व्यवसायमाथि हमला
जेनजी पुस्ताले आन्दोलनको खाका कोर्दै गर्दा भनेको थियो: रोजगारीको अवसर छैन । निश्चय पनि हरेक वर्ष श्रम बजारमा आउने जनशक्तिका लागि मुलुकभित्र पर्याप्त रोजगारीको अवसर छैन । यो सत्य हो । तर, जतिले रोजगारी पाइरहेका छन्, ति जेनजी पुस्ताकै दाजुभाई दिदीबहिनी छन् । र, तिनले निजी क्षेत्रबाट रोजगारी पाइरहेका छन् ।
जेनजी पुस्ताका एक अगुवाले भाषणमा भन्दै थिए, ‘विनोद चौधरीले गाडी चढेको र महँगो घडी लगाएकोमा मेरो कुनै प्रश्न छैन । किनकी, उहाँको बिजनेश छ, ब्यापार छ, उद्योग छ ।’ तर, बिडम्बना तिनै जेनजी आन्दोलनकारीहरुले चौधरी ग्रुपका विभिन्न कम्पनी, फर्म, ब्यापारिक शोरुम तथा कार्यालयहरु जलाए ।
जेनजी पुस्ताकै लागि सबैभन्दा ठूलो रोजगारदाता भाटभटेनी सुपरमार्केट हो । भाटभटेनीले नेपालमै पहिलोपटक ‘पार्ट टाइम जब’को संस्कृति सुरु गरिरहेको छ, यसको सबैभन्दा ठूलो लाभ पढ्दै गरेका युवाहरुलाई नै हुँदै थियो । हाल पनि कायम जनशक्तिमध्ये १८–२५ वर्षका युवाहरु सबैभन्दा धेरै रहेको यहीँ भाटभटेनी आन्दोलनकारीहरुको निशानामा पर्यो । कुनै आउटलेट जले, कुनै तोडफोड र आगजनी भए । कुनै लुटिए पनि ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि ठूलो रोजगारदाता मध्येमा पर्छन् । तर, उनको नाम जोडिएकै कारण चन्द्रागिरी हिल्स जस्ता निजी क्षेत्रले विकास गरेका पर्यटकीय गन्तव्य र रोजगारीका क्षेत्रमा आगजनी भयो ।
सिम्रिक एयरमाथि पनि आन्दोलनकारीहरुले रिस पोखे । कार्यालय भवनमा आगो झोसे, सवारी साधनहरु ध्वस्त बनाए । काठमाडौँको नक्सालस्थित हिल्टन होटल पनि आगोको लप्कामा दन्कियो । अर्बौ रुपैयाँ लगानीमा ठडिएको संरचनाबाट क्षणभरमै धुवाँको मुस्लो निस्कियो ।
व्यवसायी अजयराज सुमार्गीको हेटौँडास्थित निजी निवास पनि जलाए । व्यवसायी उपेन्द्र महतोको निवास पनि सग्लो रहेन । कान्तिपूर पब्लिकेशनको भवन ध्वस्त बनाए । विभिन्न गाडी बिक्रेता कम्पनीहरुका शोरुम पनि जलाइए ।
यतिसम्म की, आफ्नै पुस्ताका टिकटकर अंशु बर्माले भर्खरै सुरु गरेको चियाको व्यवसाय पनि आन्दोलनकारीले निमिट्यान्न पारिदिए । साना र मझौला व्यवसायहरुमा भएको क्षति यकिनगरी साध्यै छैन ।
सरकार, राजनीतिक दल र नेताहरुप्रतिको वितृष्णा पोख्न सडकमा उत्रिएको जेनजी पुस्ता तोडफोड र आगजनीमा उत्रिएपछि समर्थकहरुलाई पनि स्तब्ध बनाएको छ । नेता र दलप्रतिको आक्रोश तथा रिसको झोँकमा हजारौँ युवालाई रोजगारी दिइरहेका निजी व्यवसायिक प्रतिष्ठानमाथि आगो झोस्ने काम जेनजी पुस्ता तथा यस आन्दोलनको अगुवाहरुका लागि शोभनीय भने होइन । यो आन्दोलनकै कमजारी हो ।
यसर्थ, यस अभियानका अगुवाहरुले भएका भौतिक क्षतिका सम्बन्धमा पनि समीक्षा गर्नु आवश्यक छ । निरङ्कुश र तानाशाह प्रवृत्तिको सन्की साशकबाट देशले जेनजीकै बलमा मुक्ति पाइसकेको छ । अब भविष्यमा रोजगारदाता, व्यापारिक प्रतिष्ठान तथा निजी क्षेत्रमाथि कुनै पनि आक्रमण हुँदैन भन्ने ग्यारेन्टी जेनजी अगुवाहरुले नै दिन सक्नुपर्छ ।












