नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ ‘बिचुटेन डाटा भोल्ट’ (Bichuten Data Vault BDV) ले नेपालको पहिलो टियर IV (Tier IV) हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। यो पहलले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यस स्वदेशी कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता (Data Sovereignty ) र सुरक्षित भविष्य निर्माणको संकल्प लिएको छ।
परियोजनाका मुख्य विशेषताहरूः
अन्तर्राष्ट्रिय गुणस्तर: यो नेपालकै पहिलो टियर IV प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५% ‘अपटाइम’ (Uptime) को सुनिश्चितता प्रदान गर्दछ। यसको अर्थ वर्षभरिमा २६ मिनेट भन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्छ, जसले बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्दछ ।
विस्तार र क्षमताः यो परियोजना काठमाडौं (साइट १) र वीरगन्ज (साइट २) गरी दुई रणनीतिक स्थानहरूमा रहनेछ | २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्ममा यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ।
विश्वव्यापी साझेदारी: प्रविधि र विशेषज्ञताका लागि कम्पनीले भीभीडीएन ( WDN Technologies), गुगल क्लाउड ( Google Cloud), एएमडी (AMD) र माईक्रोन (Micron ) जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको छ ।
स्वदेशी प्रविधि र रोजगारी : यो पूर्वाधारले नेपालमा सूचना प्रविधि (IT) र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ । साथै, भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट जस्ता उपकरणहरू उत्पादन गर्ने कम्पनीको दूरगामी लक्ष्य रहेको छ । डिजिटल सार्वभौमिकता र सुरक्षाः “डाटा नै कृत्रिम बौद्धिकता (AI) र डिजिटल रूपान्तरणको आधार हो” भन्ने मान्यताका साथ बिचुटेन डाटा भोल्टले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने (In-country Data Residency) सुनिश्चित गर्नेछ । यसले विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनेछ।
वातावरण मैत्री पूर्वाधारः यो डाटा सेन्टर ऊर्जा दक्ष र पूर्णतया नेपालको जलविद्युतमा आधारित हुनेछ, जसले दिगो र वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ ।
‘बिचुटेन’ नाम भगवान विष्णुको जापानी बौद्ध नामबाट लिइएको हो, जसले “रक्षक” को प्रतिनिधित्व गर्दछ । कम्पनीको मुख्य उद्देश्य नेपालको डिजिटल भविष्यलाई सुरक्षित र आत्मनिर्भर बनाउनु हो ।













