नेपालबाट आजभन्दा ५० वर्ष अगाडीसम्म चामल र तेल धेरै निर्यात हुन्थ्यो । नेपाल भनेको कुनै बेला दक्षिण कोरियालाई अनुदानमा चामल सहयोग गर्ने मुलुक पनि हो । आज पनि दक्षिण कोरियालीहरु हामीले खान नपाउँदाको क्षणमा चामल सहयोग दिने देश भनेर नेपालप्रति सम्मान व्यक्त गर्छन् ।
बंगलादेशमा नेपालबाट कुनै समय मनग्य मसुरोको दाल निकासी हुन्थ्यो । म आफैँ पनि मेरा हजुबुबा, बुबाले सञ्चालन गर्ने दाल उद्योगका तर्फबाट टेण्डरमा भाग लिन दशौँ पटक बंगलादेश गएको छु । तर, आज हाम्रो देशमा उत्पादन हुने मसुरोको दालले एक महिनालाई पनि नपुग्ने स्थिति छ । हाल टर्की, सिरिया र अष्ट्रेलियाबाट आयात भएको मसुरोको दाल खानु परिरहेको छ ।
यो अवस्था किन आयो त ? यसका पछाडी धेरै कारणहरु छन् । तर, मुख्य कारण भनेको हाम्रो दूरदर्शीता भएन । उत्पादनको लागत मूल्य बढ्दै जाने र आयातित वस्तु सस्तो हुने परिपाटीले क्रमशः परनिर्भर हुँदै लग्यो ।
यसबाट सुरुमा श्रमिकहरु परदेशिन बाध्य भए । युवा जनशक्तिलाई हामीले यहाँ रोक्ने भन्दा पनि विदेशमा गएर रेमिट्यान्स पठाउन लगायौँ । मुलुकमा दक्ष श्रमिकको अभाव हुँदै गयो ।
सँगसँगै, कृषकहरुको पनि सरक्षण भएन । कृषिलाई पनि हामीले ध्यान दिन सकेनौँ र उत्पादन क्रमशः खस्किन थाल्यो । बालीनाली लगाउने, बाह्रै महिना खटिने तर महिनाको १५ हजार पनि कमाइ नहुने भएपछि मान्छे किन कृषि पेशामा बस्छन् ? उनीहरु पनि पलायन भए, कोही श्रमिककै रुपमा विदेश गए भने कोही जसोतसो निर्वाहमुखी खेतीमा सिमित हुन बाध्य भए । आज आयातको तथ्याङ्क हेर्दा खर्बौ मूल्यको खाद्यान्न मात्रै आयात हुने स्थिति बनेको छ, यो दुर्भाग्य हो ।
त्यसपछि श्रमिक युवा सँगसँगै विद्यार्थीलाई पनि हामीले अड्याउन सकेनौँ । १२ कक्षा सकेपछि विद्यार्थीहरु नेपालमा नबस्ने अवस्थाले छोपिसकेको छ । समयमा परीक्षा नहुने, परीक्षा भएपनि नतिजा आउनै वर्षौसम्म कुर्नुपर्ने अवस्थाले गाँजेको छ । यसो भएपछि विद्यार्थीहरु पनि विदेशिन थाले ।
अब उद्योगीहरु पनि त्यहीँ बाटोमा लाग्नुपर्ने जोखिम बढेको छ । उद्योगी भनेको कुनै कामबापत १ सय रुपैयाँ कमाउनासाथ अर्को २ सय रुपैयाँ ऋण खोज्न बैंकमा पुगिहाल्ने र ३ सय बनाएर थप उत्पादन गर्ने वर्ग हो । तर, हामीकहाँ जग्गाको कारोबार गर्नेलाई भू–माफिया, कलेज स्कुल खोल्नेलाई शैक्षिक माफिया र खानीजन्य उद्योग लगाउनेलाई खनिज माफियाको ट्याग लगाइन्छ ।
आम मानिसमा पनि उद्योग, व्यापार गरेर कमाएको सम्पत्ति र कसैले भ्रष्टाचार गरेर जोडेको सम्पत्ति एउटै हो भन्ने परेको छ । हाम्रा निकाय र त्यहाँका अधिकारीहरुले प्रचार नै त्यसरी गरिदिन्छन् । यसबाट आम सर्वसाधारण जनताको नजरमा उद्योगी व्यवसायी भनेको फटाहा हुन् भन्ने भाष्य सिर्जना भएको छ । यसैकारण ‘पब्लिक सेन्टिमेन्ट’लाई समातेर उद्योगीहरुलाई पेल्न ब्यूरोक्रेसीलाई पनि सजिलो भएको छ ।
अहिले उद्योगीहरु बिजुलीको पनि पैसा तिर्दैनन् भन्ने जसरी प्रचार भइरहेको छ । आम सर्वसाधारणमा उद्योगीले बिजुलीको पैसा नै तिरेनन् भन्ने भाष्य बनाइएको छ, जुन गलत छ । जबकी, एक महिना पैसा नतिरे लाइन काटिन्छ । हामीले नियमित महशुल बुझाइरहेका छौँ ।
डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली माग गर्ने उद्योगमध्ये ११२ वटाले तिरे, ६१ वटाले तिरेनन् भनेर अहिले हाम्रो अर्घाखाँची सिमेन्टसहित केही उद्योगको फेरि लाइन काटिएको छ । जबकी, डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली माग गर्ने उद्योगमा प्रीमियम महशुल पनि जोडेर नियमित बिल गयो, उनीहरुले तिरे । हामीले बिजुली माग पनि गरेका थिएनौँ, बालेका पनि थिएनौँ, हामीलाई ‘नर्मल’ बिल आयो, हामीले त्यहीँ अनुसार तिर्दै आयौँ । तर, ४/५ वर्ष पछाडी छुट बिल भनेर हामीलाई पनि बिल पठाउने र पटक पटक लाइन काट्ने काम भयो । अहिले ६१ उद्योगको नाम आएको छ, यीमध्ये पनि प्रकृति फरक फरक छ । जसले डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली माग गरेर लिएको हो, उसले तिर्नुपर्छ । जसले बिजुली नै माग गरेको छैन, उपभोग गरेको प्रमाण नै छैन, उसको पनि लाइन काट्ने काम भएको छ । यसको दूरगामी असर के होला भनेर सोचिएकै छैन ।
हामीलाई बिल त पठाउनुभयो, हामीले बिजुली बालेको प्रमाण देखाउनुस् हामी पैसा तिर्छौँ भन्दा प्रमाण चाहिँ छ तर देखाउँदैनौँ भनियो । प्रमाण नै नेदेखाई मानमर्दन गर्ने काम हुँदा यसबाट हाम्रो प्रतिष्ठा र ख्यातीमा परेको असरको भर्पाइ कसले गरिदिन्छ ? यदि हामी गलत छौँ भने कारबाही गरियोस्, उद्योग सिल गरियोस्, हामीलाई जरिवाना तिराइयोस्, जेल हालियोस् । होइन भने बिना आधार र प्रमाण हामीमाथि ज्यादती गर्ने र हामीलाई दुःख हैरानी दिनेलाई कारबाही हुनुपर्छ । अन्यथा, यसले मुलुकको अर्थतन्त्रमा दूरगामी रुपमै गम्भीर असर पर्ने खतरा रहन्छ । श्रमिक, कृषक र विद्यार्थी त पलायन भइ नै सके । अब बाँकी रहेका उद्योगीहरु पनि पलायन हुने डर रहन्छ । नेपाल सरकार र सम्बन्धित निकायले यसबारे सोच्न जरुरी छ ।
(नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश कुमार अग्रवालसँगको कुराकानीमा आधारित)