Monday, July 13, 2026
spot_img

वर्ष २०२४ः ‘औद्योगिक क्षेत्र’मा निराशाको बादल र ‘सेवा क्षेत्र’मा आशाका किरणहरु

spot_img

सन् २०२५ शुभारम्भ भएको छ । वर्ष २०२४ लाई बिदाई गर्दै विश्वभरी नै २०२५ को स्वागत भइसकेको छ । अङ्ग्रेजी पात्रो अनुसारको नयाँ वर्ष भएपनि यसलाई विश्वभरी नै हर्षोल्लासका साथ स्वागत गर्ने गरिन्छ । नेपालमा पनि २०२५ को स्वागतसँगै वर्ष २०२४ को आ–आफ्नै कोणबाट समीक्षा भइरहेको छ ।

औद्योगिक क्षेत्रमा निराशा कायम

कोभिड–१९ महामारीताका नै लय गुमाएको औद्योगिक क्षेत्र वर्ष २०२४ मा पनि निराशाको भुङ्ग्रोमै पिल्सियो । खासगरि, निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योगहरु आएनन् भने भएका उद्योगहरु पनि क्षमताको २५ देखि ३० प्रतिशत हाराहारीमा मात्रै सञ्चालन भए । उद्योगी उज्वल श्रेष्ठका अनुसार अहिले फलामे छड बनाउने उद्योगहरु क्षमताको ३० प्रतिशतमा मात्रै चलिरहेका छन् ।

यस्तै, सिमेन्ट, स्टिल, पाइप र अन्य फिटिङका सामान उत्पादन गर्ने उद्योगमा पनि माग बढेन । यस बीचमा बर्दियामा ४.५ अर्ब लगानीमा सेरामिक्स उद्योग खुल्यो, जुन सकारात्मक मान्न सकिन्छ ।

साथै, यहीँ वर्ष विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगहरुमा लामो समय बिजुली कटौती ग¥यो । जसको प्रभाव उद्योग तथा कम्पनीहरुको वासलातमा परेको उद्योगीहरु बताउँछन् ।

यसैबीच, निर्माण व्यवसायीहरुले सरकारबाट पाउनुपर्ने भूक्तानी पनि नपाएको बताइरहेका छन् । अझै पनि बिल पेश भएकै ८ अर्ब हाराहारी रकम भूक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको गुनासो छ । सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने भूक्तानी नपाएकै कारण सडक विभागले हालै सार्वजनिक गर्न लागेको १०० वटा सडक पुलको बोलपत्र आह्वानको सूचना समेत प्रकाशित हुन सकेन ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्दै जाँदा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको समेत माग बढ्न सकेन । उद्योगी पवन कुमार गोल्यानका अनुसार अन्य श्रम गन्तव्यमा भिसा लगाएर जाने नेपालीहरुको तुलनामा भारतीय बजारमा अनौपचारिक रुपमा श्रम गर्न जाने नेपालीहरुको संख्या ठूलो छ । जसका कारण बजारमा उपभोक्ता मागमा नै संकुचन आएको र खाद्यान्न लगायतका उपभोग्य वस्तुहरुको उत्पादन समेत प्रभावित भइरहेको उनको भनाइ छ ।

‘खाने मुख घटेपछि माग घट्यो, माग घटेपछि उत्पादन पनि घट्यो’ गोल्यान भन्छन् ।

विद्युत निर्यातः निराशामा आशाको सञ्चार

वर्ष २०२४ मा औद्योगिक उत्पादनको माग घटेपनि विद्युत निर्यातको सुःखद सुरुवात भएपछि जलविद्युत उत्पादकहरु उत्साहित भएका छन् । भारतमा मात्रै चालु आर्थिक वर्षको ५ महिनामा १३ अर्ब बढीको विद्युत निकासी भएको प्राधिकरणको तथ्याङक छ । साथै, बंगलादेशमा पनि बिजुलीको बिक्री सुरु भएको छ ।

चरम वैदेशिक ब्यापार घाटा ब्यहोरिरहेको अवस्थामा विद्युतको निकासीले आशाको सञ्चार गराएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्की बताउँछन् । साथै, भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने समझदारी बनेकाले अब मुलुकको सम्पूर्ण ध्यान यसतर्फ केन्द्रित गराउनुपर्ने उनको सुझाव छ ।

यस्तै, विद्युत प्रसारण लाइनको निर्माणमा निजी क्षेत्रको प्रवेशले पनि उत्साह थपेको उद्योगी प्रबलजंग पाण्डेको बुझाइ छ । औद्योगिक क्षेत्रमा निराशा छाइरहेका बेला विद्युत प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई समेत प्रवेश गराउने समझदारी बन्नुले लगानीको नयाँ ढोका खोल्ने उनको विश्वास छ ।

होटल र पर्यटनमा उत्साह

यस वर्षमा पर्यटन क्षेत्रमा भने उत्साहजनक उपलब्धि हासिल भएको तथ्याङ्कले देखाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को डिसेम्बर ३१ सम्म ११ लाख ४७ हजार २४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्गमार्फत नेपाल भित्रिएका पर्यटकको मात्रै संख्या हो ।

यस आधारमा पर्यटक आगमन दर करिब करिब सन् २०१९ को लयमा फर्किएको देखाउँछ । २०१९ मा वर्षभरी किर्तीमानी ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार कोभिडपछि नेपालको पर्यटन ९६ प्रतिशत ‘रिकभरी’ भएको छ ।

यस्तै, वर्ष २०२४ मा ४ वटा पाँचतारे होटल थपिएका छन् । काठमाडौँको नक्सालमा हिल्टन, नक्सालमा होलिडे इन र बूढानीलकण्ठमा लेमन ट्री प्रिमियर सञ्चालनमा आएका छन् । सुकेधारामा ‘मक्र्योर काठमाडौँ’को निर्माण पनि वर्ष २०२४ मै भएको होे । यद्यपी, उक्त होटलको औपचारिक शुभारम्भ हुन बाँकी छ । यी सबै होटलको व्यवस्थापन विदेशी चेन ब्राण्डले सम्हालेका छन् ।

होटल व्यवसायीहरुका अनुसार एउटा पाँचतारे होटल सञ्चालनमा आउँदा १५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउँछन् । यस आधारमा ४ वटा पाँचतारे होटल सञ्चालमा आउँदा न्यूनतम् ६०० जनाले रोजगारी पाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img