सन् २०२५ शुभारम्भ भएको छ । वर्ष २०२४ लाई बिदाई गर्दै विश्वभरी नै २०२५ को स्वागत भइसकेको छ । अङ्ग्रेजी पात्रो अनुसारको नयाँ वर्ष भएपनि यसलाई विश्वभरी नै हर्षोल्लासका साथ स्वागत गर्ने गरिन्छ । नेपालमा पनि २०२५ को स्वागतसँगै वर्ष २०२४ को आ–आफ्नै कोणबाट समीक्षा भइरहेको छ ।
औद्योगिक क्षेत्रमा निराशा कायम
कोभिड–१९ महामारीताका नै लय गुमाएको औद्योगिक क्षेत्र वर्ष २०२४ मा पनि निराशाको भुङ्ग्रोमै पिल्सियो । खासगरि, निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योगहरु आएनन् भने भएका उद्योगहरु पनि क्षमताको २५ देखि ३० प्रतिशत हाराहारीमा मात्रै सञ्चालन भए । उद्योगी उज्वल श्रेष्ठका अनुसार अहिले फलामे छड बनाउने उद्योगहरु क्षमताको ३० प्रतिशतमा मात्रै चलिरहेका छन् ।
यस्तै, सिमेन्ट, स्टिल, पाइप र अन्य फिटिङका सामान उत्पादन गर्ने उद्योगमा पनि माग बढेन । यस बीचमा बर्दियामा ४.५ अर्ब लगानीमा सेरामिक्स उद्योग खुल्यो, जुन सकारात्मक मान्न सकिन्छ ।
साथै, यहीँ वर्ष विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगहरुमा लामो समय बिजुली कटौती ग¥यो । जसको प्रभाव उद्योग तथा कम्पनीहरुको वासलातमा परेको उद्योगीहरु बताउँछन् ।
यसैबीच, निर्माण व्यवसायीहरुले सरकारबाट पाउनुपर्ने भूक्तानी पनि नपाएको बताइरहेका छन् । अझै पनि बिल पेश भएकै ८ अर्ब हाराहारी रकम भूक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको गुनासो छ । सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने भूक्तानी नपाएकै कारण सडक विभागले हालै सार्वजनिक गर्न लागेको १०० वटा सडक पुलको बोलपत्र आह्वानको सूचना समेत प्रकाशित हुन सकेन ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्दै जाँदा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको समेत माग बढ्न सकेन । उद्योगी पवन कुमार गोल्यानका अनुसार अन्य श्रम गन्तव्यमा भिसा लगाएर जाने नेपालीहरुको तुलनामा भारतीय बजारमा अनौपचारिक रुपमा श्रम गर्न जाने नेपालीहरुको संख्या ठूलो छ । जसका कारण बजारमा उपभोक्ता मागमा नै संकुचन आएको र खाद्यान्न लगायतका उपभोग्य वस्तुहरुको उत्पादन समेत प्रभावित भइरहेको उनको भनाइ छ ।
‘खाने मुख घटेपछि माग घट्यो, माग घटेपछि उत्पादन पनि घट्यो’ गोल्यान भन्छन् ।
विद्युत निर्यातः निराशामा आशाको सञ्चार
वर्ष २०२४ मा औद्योगिक उत्पादनको माग घटेपनि विद्युत निर्यातको सुःखद सुरुवात भएपछि जलविद्युत उत्पादकहरु उत्साहित भएका छन् । भारतमा मात्रै चालु आर्थिक वर्षको ५ महिनामा १३ अर्ब बढीको विद्युत निकासी भएको प्राधिकरणको तथ्याङक छ । साथै, बंगलादेशमा पनि बिजुलीको बिक्री सुरु भएको छ ।
चरम वैदेशिक ब्यापार घाटा ब्यहोरिरहेको अवस्थामा विद्युतको निकासीले आशाको सञ्चार गराएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्की बताउँछन् । साथै, भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने समझदारी बनेकाले अब मुलुकको सम्पूर्ण ध्यान यसतर्फ केन्द्रित गराउनुपर्ने उनको सुझाव छ ।
यस्तै, विद्युत प्रसारण लाइनको निर्माणमा निजी क्षेत्रको प्रवेशले पनि उत्साह थपेको उद्योगी प्रबलजंग पाण्डेको बुझाइ छ । औद्योगिक क्षेत्रमा निराशा छाइरहेका बेला विद्युत प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई समेत प्रवेश गराउने समझदारी बन्नुले लगानीको नयाँ ढोका खोल्ने उनको विश्वास छ ।
होटल र पर्यटनमा उत्साह
यस वर्षमा पर्यटन क्षेत्रमा भने उत्साहजनक उपलब्धि हासिल भएको तथ्याङ्कले देखाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को डिसेम्बर ३१ सम्म ११ लाख ४७ हजार २४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्गमार्फत नेपाल भित्रिएका पर्यटकको मात्रै संख्या हो ।
यस आधारमा पर्यटक आगमन दर करिब करिब सन् २०१९ को लयमा फर्किएको देखाउँछ । २०१९ मा वर्षभरी किर्तीमानी ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार कोभिडपछि नेपालको पर्यटन ९६ प्रतिशत ‘रिकभरी’ भएको छ ।
यस्तै, वर्ष २०२४ मा ४ वटा पाँचतारे होटल थपिएका छन् । काठमाडौँको नक्सालमा हिल्टन, नक्सालमा होलिडे इन र बूढानीलकण्ठमा लेमन ट्री प्रिमियर सञ्चालनमा आएका छन् । सुकेधारामा ‘मक्र्योर काठमाडौँ’को निर्माण पनि वर्ष २०२४ मै भएको होे । यद्यपी, उक्त होटलको औपचारिक शुभारम्भ हुन बाँकी छ । यी सबै होटलको व्यवस्थापन विदेशी चेन ब्राण्डले सम्हालेका छन् ।
होटल व्यवसायीहरुका अनुसार एउटा पाँचतारे होटल सञ्चालनमा आउँदा १५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउँछन् । यस आधारमा ४ वटा पाँचतारे होटल सञ्चालमा आउँदा न्यूनतम् ६०० जनाले रोजगारी पाएका छन् ।