भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २० दिनदेखि अनसनमा छन् । २० दिनदेखि पानी मात्र खाएर अनसनमा रहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। यस अवधिमा उनको तौल ९.१ किलो घटिसकेको छ।
शिक्षा प्रणालीमा सुधारको माग गर्दै उनी अनसन बसेका हुन्। NEET र अन्य परीक्षाहरूको पेपर लीक जस्ता घटनाहरूमा उनले सरकारको जवाबदेहीता खोजेका छन्। उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र प्रभावित विद्यार्थी परिवारहरूलाई १ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन्। त्यस्तै उनले लद्दाखलाई ६औं अनुसूची (Sixth Schedule) मा समावेश गरी संवैधानिक सुरक्षा, पर्यावरण तथा सांस्कृतिक संरक्षण, सीमाक्षेत्रको रणनीतिक महत्वलाई ध्यानमा राखेर तत्काल सम्बोधन गर्न माग गरेका छन्।
वाङ्चुकले यसअघि पनि पटक-पटक अनशन गरेका थिए। उनले भनेका छन्, “मलाई फेरि यो गर्न मन थिएन, तर सरकारले दिएको वचन पूरा नगरेपछि बाध्य भएँ। म मर्न सक्छु, तर पछि हट्दिनँ।” उनी यो अनशन ६ हप्ता (४२ दिन) सम्म वा मृत्यु पर्यन्त जारी राख्न तयार रहेको बताएका छन्। उनको रक्तचाप अत्यन्तै कमजोर भएको छ ।
चिकित्सकले स्वास्थ्य अवस्था धेरै नै जटिल बन्दै गएको बताएका छन् । तर वाङ्चुक अझै दृढ छन्। उनले बाहिरबाट कमजोर देखिए पनि भित्रबाट बलियो भएको बताएका छन् ।
अन्य महत्वपूर्ण कुराहरू
वाङ्चुकले आफूलाई “गान्धी” नभई सामान्य नागरिक भनेका छन् र सबैलाई आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गरेका छन्। लद्दाखका मुद्दाहरूमा उनी लामो समयदेखि सक्रिय छन् । उनले २०२४ र २०२५ मा पनि अनशन र प्रदर्शन गरेका थिए।
यो अनशनले शिक्षा सुधार र लद्दाखको संरक्षणको मुद्दालाई फेरि राष्ट्रिय बहसमा ल्याएको छ।









