दशैँ नजिकिँदै जाँदा बजारमा चिनीको अभाव अझै उस्तै छ । भदौदेखि बढेको चिनीको अभाव अझैपनि कायम रहेको उपभोक्ताको गुनासो छ भने प्रतिकिलो ११० रुपैयाँमा बेच् भन्ने सरकारको निर्देशनका कारण आफूहरुले चिनी उठाउन नसकिरहेको खुद्रा खुद्रा व्यवसायीहरु बताउँछन् ।
साल्ट ट्रेडिङबाट १०५ रुपैयाँ प्रतिकिलोमा ल्याएर ११० रुपैयाँमा बेच्दा नाफा कम हुने भएकाले व्यवसायीहरु आफैँले चिनी ल्याउन मन नगरेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरको बुझाई छ । ‘साल्ट ट्रेडिङबाट १०५ मा ल्याएर ११० मा बेच्दा नाफा कम हुने भएकाले व्यवसायीले खासै चिनी नउठाएको हो कि जस्तो देखिन्छ’ उनी भन्छन्, ‘तर, जतिले १०५ मा ल्याइरहेका छन्, तिनले ११० मै बेचिरहेका छन् । नल्याउनेसँग त चिनी हुने कुरै भएन, बेच्ने कुरै भएन ।’
काउन्टरमा छुट र खुद्रा व्यवसायीलाई १०५
साल्ट ट्रेडिङ कर्पोरेशनले अहिले आफ्ना काउन्टरबाट प्रतिकिलो १०० रुपैयाँमा नै चिनी उपलब्ध गराउँदै आएको छ । काउन्टरमा गएर चिनी खरिद गर्ने उपभोक्ता तथा ग्राहकले १०० रुपैयाँ प्रतिकिलोमै चिनी पाउँदै आएका पनि छन् ।
साथै, साल्ट ट्रेडिङले भाटभटेनी, सेल्सबेरी, बिगमार्ट र खुद्रा ब्यापार संघका सदस्यहरुलाई प्रतिकिलो १०५ रुपैयाँमा चिनी उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङबाट प्रतिकिलो १०५ रुपैयाँमा लगेको चिनी उनीहरुले प्रतिकिलो ११० रुपैयाँ सम्ममा बेच्न पाउँछन् ।
मन्त्रीले नै रोके बिक्री
भदौको दोस्रो हप्तातिर चिनीको भाउ प्रतिकिलो १५० रुपैयाँभन्दा माथि पुगेको थियो । त्यसपछि साल्ट ट्रेडिङ कर्पोरेशनले आन्तरिक उद्योगबाट उठाएको चिनी प्रतिकिलो १०५ रुपैयाँमा दिन थाल्यो । अझ छुटसहित उपभोक्तालाई १०० रुपैयाँमा नै चिनी बजार पठाएपछि आकासिएको बजार भाउ पनि करिब ११५ रुपैयाँ हाराहारीमा झरिसकेको थियो ।
यसैबीच, बजारमा चिनीको अभाव हुन थालेपछि मन्त्रिपरिषदले भदौ १८ गते साल्ट ट्रेडिङलाई भन्सार छुट (१ प्रतिशत भन्सार)मा २५ हजार मेट्रिक टन चिनी आयातको अनुमति दियो । यसमध्ये साल्ट ट्रेडिङले १२ हजार ५ सय मेट्रिक टन चिनी आयात गरिसकेको छ । तर, उक्त चिनी साल्ट ट्रेडिङले बेच्न पाएको छैन । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले स्वीकृति बिना बेच्न नपाउने भन्दै रोकिदिएको छ । ‘२ हप्ता भयो, मन्त्रालयले स्वीकृति दिएको छैन’ साल्ट ट्रेडिङ स्रोत भन्छ, ‘स्वीकृति बिना बेच्न पाउँदैनौँ भनेर अड्काएर राखिदिएको छ ।’
२ अर्बभन्दा बढी लागतको चिनी आयात गरेर पनि साल्ट ट्रेडिङ कर्पोरेशनले बेच्ने स्वीकृति नपाएपछि बजारमा चिनीको भाउ पुनः आकासिने क्रम पनि सुरु भइसकेको छ । उद्योगीहरुले आफूहरुसँग भएको चिनीको स्टक पनि देखाउन नसकेको अवस्थामा साल्ट ट्रेडिङले आयात गरेको चिनी पनि बिक्री गर्न नदिइएपछि अहिले चिनीको भाउ मनलाग्दी रुपमा बढाइएको छ । यसबारे उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दीपक साह पनि जानकार छन् । तर, उनले साल्ट ट्रेडिङले भन्सार छुटमा आयात गरेको चिनी उद्योगहरुलाई पनि बेच्ने अनुमति दिएका छैनन् । साल्ट ट्रेडिङसँग भएको चिनी बजार जान नपाएपछि अहिले उद्योगहरुले आफूसँग भएको स्टकलाई महँगोमा बेच्न थालेका छन् । जसका कारण होलसेलमै चिनीको भाउ पुनः प्रतिकिलो १३५ रुपैयाँ नाघेको छ ।
‘उद्योगहरुलाई प्रतिकिलो ११८ रुपैयाँमा चिनी दिन सक्छौँ, तर…’
साल्ट ट्रेडिङसँग अहिले चिनीको पर्याप्त स्टक छ । उक्त चिनी बजारमा आउँदा भाउ पनि सन्तुलन हुने अवस्था देखिन्छ । तर, उद्योगमन्त्री साहले साल्ट ट्रेडिङसँग भएको चिनी बजार आउनै दिएका छैनन् ।
साल्ट ट्रेडिङ स्रोतका अनुसार अहिले चकलेट, बिस्कुट, जुस, औषधि जस्ता उद्योगहरुले साल्ट ट्रेडिङबाट चिनी लैजान चाहिरहेका छन्, तर अनुमति नपाउँदा साल्ट ट्रेडिङले बेच्न पाइरहेको छैन । ‘हामीलाई बल्कमा चाहिन्छ, साल्ट ट्रेडिङको काउन्टरबाट एक किलो, दुइ किलो ल्याएर भएन’ एक बिस्कुट उद्योगका सञ्चालक भन्छन्, ‘मन्त्रालयले बेच्ने अनुमति नै दिएको छैन रे । बेच्ने अनुमति नदिने भए आयात गर्ने अनुमति चाहिँ किन दिएको होला ?’
उता, साल्ट ट्रेडिङ स्रोतले पनि उद्योगहरुलाई प्रतिकिलो ११८ रुपैयाँ (नाफासमेत जोडेर) मा चिनी दिन सकिने जनाएको छ । तर, मन्त्रालयबाट अनुमति नै नआएको हुनाले उद्योगहरुलाई चिनी बिक्री गर्न नसकिएको स्रोत बताउँछ । ‘हामीले ११८ रुपैयाँमा उद्योगलाई पनि चिनी दिन सक्छौँ, तर अनुमति बिना बेच्न पाइँदैन भनिएको हुनाले हामीले दिन पाएका छैनौँ’ साल्ट ट्रेडिङ स्रोत भन्छ ।
साल्ट ट्रेडिङबाट चिनी नपाएपछि आफूले चिनेका गोदामबाट महँगोमा चिनी उठाएको एक चकलेट फ्याक्ट्रीका सञ्चालकले बताए । गोदामबाट त्यसरी उठाइएको चिनी आफ्नै खर्चमा ढुवानी गरेर फ्याक्ट्रीसम्म पुर्याउनु परेको ति उद्योगीको भनाइ छ ।
यस अघि : बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?










