इन्टरनेट सेवा प्रदायकहरुले सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अनुसार सेवा प्रदायकहरुले दिंदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु २०८३ असोज १९ गते सोमबारदेखि उपलब्ध गराउने छैनन्।
संघका अनुसार बिगतका वर्षहरुका मूल्यवृद्धि, मध्यपूर्वको तनावले गर्दा चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्याधिक मुद्रास्फीतिको अवस्था र AI को तिब्र वृद्धिले गर्दा एक्कासी महंगिएको Electronic र Chipset को मूल्य एबं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा सेवा प्रदायकहरुको Operation समेत चल्न सकस भएको छ । त्यस कारण सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु अब प्रदान गर्न असमर्थ हुने संघले जनाएको छ ।
फिक्स्ड ब्रोडब्याण्डको घनत्व र पहुँचमा, नेपाल दक्षिण एशियाको पहिलो नम्बरमा रहेको संघले जनाएको छ। यो पहुँचको साथसाथै नेपालको इन्टरनेट विश्वकै सस्तो मध्येको एक रहेको र त्यसले गर्दा नै अधिकांश घरदैलोमा यो सेवा पुगेको संघको भनाई छ। संघका अनुसार सेवा प्रदायकहरुले सुपथ र सर्वसुलभ इन्टरनेटका प्याकेजहरु प्रदान गर्दै आएको र सकेसम्म सुपथ मूल्यमा सेवा प्रवाह गरी जसोतसो गुजारालाई चलाई रहेको थिए। तर अब भने त्यो सम्भव नभएको संघले जनाएको छ।
संघले सम्पूर्ण सेवा प्रदायकलाई अझै गुणस्तरीय सेवा दिएर डिजिटल नेपालको सपनामा लागिरहन निर्देशन दिएको छ। साथै नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृत रेट अनुसारको आफ्नो वेबसाइटमा सजिलै देखिने गरी राख्न पनि सेवा प्रदायकलाई संघले भनेको छ। त्यस्तै संघले सम्पूर्ण ग्राहकलाई अनिवार्य रुपमा VAT Bill लिनु समेत अनुरोध गरेको छ।










