सेवा–सुविधा काम भएको भन्दै नेपाल एयरलाइन्सका ६ जना पाइलटले राजीनामा दिएका छन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी जहाज उडाउने ६ पाइलटले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा वाइडबडीका पाइलटहरु प्रशान्त श्रेष्ठ, सञ्जय पौडेल, रिस्मा सिजापति, प्रणव मल्ल र राजेन्द्र जोशी तथा न्यारोबडीका पाइलटमा मोहनिस विक्रम शाह रहेका छन् । निगमका निमित्त महाप्रबन्धक जनक कालाखेतीले शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पाइलटहरुले राजीनामा दिएको जानकारी गराएका हुन् ।
अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसारको सेवा–सुविधा नपाएको भन्दै उनीहरुले राजीनामा दिएको निमित्त महाप्रबन्धक कालाखेतीले बताएका छन् । पाइलटहरुको राजीनामा स्वीकृत भने स्वीकृत नगरिएको उनको भनाइ छ । ‘राजीनामा स्वीकृत भए जहाज ग्राउन्डेड गर्नुपर्ने हुन्छ’ उनले भने । साथै, पाइलटहरुले माग गरे अनुसारको सेवा सुविधा पनि दिन सकिने अवस्था नरहेको बताएका छन् ।
नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि हाल २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज छन् । यीमध्ये वाइडबडी एउटा र न्यारोबडी एउटा भने ग्राउन्डेड छन् ।









