भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकले देशब्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले भदौ ३० गते नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
यस क्रममा बागमती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र चितवनको नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा पोखराको अमरसिंहचोक शाखा, लुम्बिनी प्रदेशमा बुटबल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदुर–पश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरुबाट ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुबाट स्वेच्छिक रुपमा संकलन भएको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो ।
त्यसै गरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग समेत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।










