राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । भदौ २२ गते सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।
बैंकको सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखा मार्फत सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म सिमित बैंकिङ्ग सेवा लिन सक्नेछन् । यो सुविधासँगै ग्राहकले नियमित कार्यालय समयमा सम्पन्न गर्न नसकेका अत्यावश्यकीय कारोबारलाई सम्पन्न गर्न सघाउ पुग्ने बैंकको अपेक्षा छ ।
२०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालय र ३३८ एटिएम टर्मिनलमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।










