असोज १०, ११ र १२ गतेको बाढीले बिपी राजमार्गस्थित सिन्धुलीको मुलकोटमा अवस्थित क्वालिटी बिच रिसोर्ट क्षतिग्रस्त बनायो । असोज ११ गते राती सुनकोशी नदीमा आएको बाढी पस्दा क्वालिटी बिच रिसोर्टको आकार प्रकार नै बिगारिदियो । रिसोर्ट भित्रका कतिपय संरचनाको नामोनिशाना समेत बाँकी रहेन ।
स्तरीय सेवा तथा आतिथ्य सत्कार र झकिझकाउ सजावटले चर्चित बनेको सो रिसोर्टमा कुल ४० करोड हाराहारि लगानी रहेको सञ्चालक राजेश श्रेष्ठ बताउँछन् । उनका अनुसार उक्त रिसोर्ट झण्डै ३० रोपनी क्षेत्रफलमा फैलिएको थियो । तर, सुनकोशीमा आएको बाढीले छिनभरमै बगर जस्तै बनाइदिएको छ ।
पचासौँ जना सेयर सदस्यबाट सानो सानो पूँजी संकलन गरि निर्माण गरिएको उक्त रिसोर्टले बिपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुको त ध्यान खिच्थ्यो नै, सामाजिक सञ्जालका माध्यमबाट विदेशमा समेत चर्चा कमाएको थियो । स्वीमिङ पुल, भवन, ईभी चार्जिङ स्टेशन, स–साना आकर्षक कटेज तथा अन्य औजार उपकरण समेतमा पुगेको क्षति अनुमान गर्नै मुस्किल छ । सञ्चालकहरुका अनुसार अब रिसोर्टलाई पूर्ववत् अवस्थामा फर्काउन २० करोड हाराहारी नयाँ लगानी थप गर्नुपर्ने देखिएको छ ।
सिद्धार्थ प्रिमीयर इन्स्योरेन्समा बीमा
रिसोर्टका शेयर सदस्य मध्येबाट कार्यकारी सञ्चालकको जिम्मेवारी पाएका सञ्चालक राजेश श्रेष्ठका अनुसार सिद्धार्थ प्रिमीयर इन्स्योरेन्समा रिसोर्टको बीमा गरिएको छ । बाढीले रिसोर्टमा क्षति पुगेपछि बीमा कम्पनीका प्रतिनिधिहरुले एक पटक स्थलगत अनुगमन गरेको तर, बीमा रकम दाबी गर्न क्षतिको वास्तविक विवरण संकलनमै बिलम्ब भइरहेको उनको भनाइ छ ।
‘एकपटक कम्पनीका प्रतिनिधिहरु आएर हेरेर गएका छन्, अहिले हामीले रिसोर्टभित्र छिरेको माटो पन्छाइरहेका छौँ’ श्रेष्ठले भने, ‘सामान झिक्ने र माटो पन्छाउने काम सकिएपछि फेरि एकपटक फिल्ड भिजिटमा आउँछौँ भनेका छन् ।’
उनका अनुसार करिब २० करोड हाराहारीको क्षति रहेको प्रारम्भिक अनुमान गरिएपनि रिसोर्टको बीमा १० करोड बराबरको मात्रै रहेको बुझिएको छ । सुरुमा सबै ‘कभर’ गर्ने गरि बीमा गरिएको भनिएपनि कागजातमा १० करोड बराबरको मात्रै बीमा देखिएको भन्ने कुरा आएको र यसबारे थप प्रक्रिया अघि बढाउन बाँकी रहेको उनको भनाइ छ ।
‘बीमा के कति बराबरको छ भन्ने कुरा कागजातमा छँदैछ, कागजात सबै सुरक्षित नै छन्’ श्रेष्ठले भने, ‘बीमा कम्पनीले अहिले २० लाखको चेक चाहिँ दिइसकेको छ ।’
उनका अनुसार माटो पन्छाउने, मोटर लगाउने, भवन तथा कोठा सफा गर्ने जस्ता काम गर्न भन्दै कम्पनीले २० लाख रुपैयाँ दिएको हो । ‘बाँकी दाबी के कति हुन्छ, त्यसपछि थप प्रक्रिया अघि बढाउँला’ भन्ने आश्वासन बीमा कम्पनीबाट पाएको उनको भनाइ छ ।
के भन्छ बीमा कम्पनी ?
सिद्धार्थ प्रिमीयर इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्यका अनुसार तत्कालको काम गर्न सहज होस् भन्ने हेतुले कम्पनीले क्वालिटी बिच रिसोर्टलाई तत्कालका लागि २० लाख रुपैयाँ दिएको हो । क्षति यकिन हुनै बाँकी रहेको भन्दै उनले सर्भेयर खटाएर सर्भेयरबाट क्षतिको रकम यकिन भएपछि बीमा दाबी गर्ने र दाबी बराबरको रकम भूक्तानी गर्ने प्रक्रिया अघि बढ्ने बताएका छन् ।
‘बीमा के कति बराबरको गरिएको थियो भन्ने कुरा सबै कागजमै देखिने कुरा हो, अहिले उहाँहरुको ( क्वालिटी बिच रिसोर्टको) लस यकिन भइसकेको छैन’ उनले भने, ‘हामीले कम्पनीबाट सर्भेयर खटाउँछौँ, सर्भेयरबाट रिपोर्ट आएपछि दाबीको कुरा अघि बढ्ने हो । क्षति यकिन भएपछि बीमा दाबी बराबरको रकम भूक्तानी गर्न कुनै समस्या हुँदैन ।’













