Wednesday, March 4, 2026
spot_img

स्वदेशमै उत्पादन बढेपछि टायल्सको गुणस्तर तोकिँदै, के के राखिँदैछ मापदण्ड ?

spot_img
spot_img

भारतीय टायल्सलाई विस्थापित गर्दै स्वदेशी टायल्स उद्योग/कम्पनीले बजारमा हस्तक्षेपकारी उपस्थिति जनाउन थालेपछि टायल्सको नेपाल गुणस्तर (एनएस) बन्ने भएको छ। गुणस्तर तथा नापतौल विभागले टायल्सको गुणस्तर बनाउन प्राविधिक कमिटी बनाएकोमा उक्त कमिटीबाट पास भएर अहिले सुझावका लागि विभागको वेभसाइटमा राखिएको छ ।

नियम अनुसार प्राविधिक कमिटीले पास गरेको प्रस्तावित मापदण्ड ६० दिनसम्म सुझावका लागि सार्वजनिक गर्नुपर्ने हुन्छ । त्यसपछि प्राप्त सुझावलाई समेत समेटेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहने नेपाल गुणस्तर परिषद्ले पास गरेपछि एनएस जारी हुन्छ । त्यसपछि उद्योगहरुले गुणस्तर विभागबाट आफ्नो उत्पादनका लागि एनएस (नेपाल गुणस्तर चिन्ह) लिन सक्छन् ।

प्रस्तावित मापदण्डमा के छ ?

विभागका निर्देशक अनिल शाक्य, इन्जिनियर सन्जिव महर्जन, निर्माण व्यवसायी महासंघबाट प्रतिनिधि प्रमोद लामिछाने, लामिनार टायल्स (लुम्बिनी सेरामिक्स)का अध्यक्ष सुब्रत धिताल र कजरिया रमेश टायल्सका सीईओ हिमान्सु अग्रवाल रहेको प्राविधिक समितिले लामो अध्ययन, अन्तर्राष्ट्रिय अभ्यास लगायतका विषय हेरेर टायल्सको गुणस्तर मापदण्ड प्रस्ताव गरेको छ ।

यसमा धेरै प्राविधिक कुरा भएपनि मुख्य गरी पानी कति सोस्छ र कत्तिको खदिँलो छ भन्ने आधारमा गुणस्तर निर्धारण हुने उल्लेख छ । जति कम पानी सोस्छ, त्यति नै टायल्सको क्वालिटी राम्रो मानिन्छ ।

भारतमा टायल्सको जे गुणस्तर छ, अहिले नेपालमा पनि त्यहीँ कायम गर्न खोजिएको छ । किनकी, आजभन्दा ४ वर्ष अगाडीसम्म नेपाली बजारमा आयात हुने टायल्समा भारतीय टायल्सको हिस्सा ९५ प्रतिशतभन्दा माथि थियो । अहिले भने स्वदेशी उत्पादनले नै कुल बजार मागको ६६ प्रतिशत हिस्सा ओगटिसकेको लामिनार टायल्स (लुम्बिनी सेरामिक्स)का अध्यक्ष सुब्रत धिताल बताउँछन् ।

उनका अनुसार टायल्सको प्रस्तावित मापदण्डमा टायललाई गुणस्तरका आधारमा ४ भागमा वर्गीकरण गरिएको छ । शत्प्रतिशत भिट्रीफाइड टायल्स (ग्रुप बी आई–ए), पोर्सिलेन टायल्स (ग्रुप बी आई–बी), सेरामिक फ्लोर टायल्स (ग्रुप बी आईआई–ए र आईआई–बी) र सेरामिक वाल टायल्स (ग्रुप बी आईआईआई) गरी प्रस्तावित मापदण्डमा टायललाई गुणस्तरका आधारमा ४ भागमा वर्गीकरण गरिएको छ ।

शत्प्रतिशत भिट्रीफाइड टायल्स (ग्रुप बी आई–ए)

यो भनेको उच्च गुणस्तरको टायल्स हो । चलनचल्तीको भाषामा शत्प्रतिशत भिट्रीफाइड टायललाई ‘ए क्लास’को टायल्स पनि भन्न सकिन्छ । यो गुणस्तरको हुन टायलले थोरैभन्दा थोरै पानी सोस्नुपर्छ । प्रस्तावित मापदण्ड अनुसार ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने टायललाई शत्प्रतिशत भिट्रीफाइड टायल्स मानिएको छ । अर्थात् स्वरुप, साइज र अन्य आकार प्रकार सबै मिलेको टायललाई निश्चित पानीमा राख्दा त्यसले पानीको मात्रा ०.०८ प्रतिशतभन्दा कम सोस्छ भने त्यस्तो टायल्स उच्च गुणस्तरको टायल्स हो ।

साथै, शत्प्रतिशत भिट्रीफाइड टायल्सको खदिँलोपन पनि बढी हुनुपर्छ । यस्तो टायल्सको घनत्व न्यूनतम् २.२ ग्राम÷सीएम३ हुनुपर्ने प्रस्तावित मापदण्डमा उल्लेख छ । सँगै, यसमा ६० प्रतिशतभन्दा बढी खनिज (क्वार्ज, इलायन लगायतका खनिज पदार्थहरु)को मात्रा प्रयोग भएको हुनुपर्छ । शत्प्रतिशत भिट्रीफाइड टायल्स बनाउँदा आकार तयार पारेर त्यसलाई १२०० डिग्री सेल्सियस तापक्रममा ५५ मिनेटभन्दा बढी समय पकाउनुपर्छ ।

यस्तो टायल्स लिभिङ रुम, किचेन, बाथरुम, बार्दली, तथा मानिसहरुको धेरै आवतजावत हुने कार्यालय तथा सपिङ मलमाको उपयुक्त हुन्छ । यस्ता टायल्स फुट्ने सम्भावना कम हुन्छ ।

पोर्सिलेन टायल्स (ग्रुप बी आई–बी)

पोर्सिलेन टायल्स (ग्रुप बी आई–बी) लाई चलनचल्तीको भाषामा ‘बी ग्रेड’को टायल्स भन्न सकिन्छ । प्रस्तावित मापदण्ड अनुसार ०.०८ प्रतिशतदेखि ३ प्रतिशतसम्म पानी सोस्ने टायल्सलाई पोर्सिलेन टायल्स (ग्रुप बी आई–बी) मानिएको छ । अर्थात् टायल्सलाई निश्चित मात्राको पानीमा राख्दा त्यसले पानीको मात्रा ०.०८ प्रतिशतदेखि ३ प्रतिशतसम्म सोस्छ भने त्यस्तो टायल्स पोर्सिलेन टायल्स हो । यस्तो टायल्सको घनत्व पनि न्यूनतम् २.२ ग्राम/सीएम३ हुनुपर्ने उल्लेख छ । यसलाई ११०० सय डिग्री सेल्सियसमा पकाएको हुन्छ ।

यस्तो टायल्स घर भित्र राख्नको लागि उत्तम हुन्छ । तर पानि भईरहने ठाउँको लागि यो उत्तम हुदैन ।

सेरामिक फ्लोर टायल्स (ग्रुप बी आईआई–ए र आईआई–बी)

यो वर्गको टायल्स मध्यम गुणस्तरको टायल्स हो । प्रस्तावित मापदण्ड अनुसार ३ प्रतिशतदेखि १० प्रतिशतसम्म पानी सोस्ने टायल्सलाई सेरामिक फ्लोर टायल्स (ग्रुप बी आईआई–ए र आईआई–बी) टायल्सका रुपमा वर्गीकरण गरिएको छ ।

यस्तो टायल्स सस्तो पनि हुन्छ र घरभित्रको लागि उपयुक्त हुन्छ। तर मानिसहरुको धेरै आवतजावत हुने ठाउँको लागि यो उपयुक्त हुदैन ।

सेरामिक वाल टायल्स (ग्रुप बी आईआईआई)

प्रस्तावित मापदण्ड अनुसार १० प्रतिशतभन्दा बढी पानी सोस्ने टायल्सलाई सेरामिक वाल टायल्स (ग्रुप बी आईआईआई) का रुपमा परिभाषित गरिएको छ ।

यस्तो टायल्स सुखा रहने घर भित्रको ठाउँलाई उपयुक्त हुन्छ । तर भुई र चिसो भईरहने ठाउँको लागि उपयुक्त हुदैन। यस्तो टायल्सले सजिल्यै धेरै पानी सोस्छ, जसले टायल्स छिटो फुट्ने सम्भावना रहन्छ ।

कसरी थाहा पाउने टायलको गुणस्तर ?

टायल्सको गुणस्तर परीक्षण विभिन्न १६ थरीका विधिमार्फत गरिन्छ । यसका लागि नापतौल विभागले छुट्टै ल्याब स्थापना गर्ने तयारी अघि बढाएको छ । उक्त ल्याबबाट परीक्षण गरेर आएको नजिताका आधारमा कुन गुणस्तरको टायल्स हो भन्ने थाहा हुन्छ । अर्थात्, उद्योगहरुले ल्याबमा परीक्षण गराएर कुन गुणस्तरको टायल्स हो भन्ने जानकारी उपभोक्ताले देखिने गरी आफ्नो उत्पादनको प्याकेट (बोरा, कार्टुन)मै लेख्नुपर्ने हुन्छ ।

एनएस भनेको अनिवार्य होइन, यो स्वेच्छिक हो । उद्योगहरुले आफ्नो उत्पादनको ब्राण्डिङ गर्न एनएस लिन्छन् । यसकारण एनएस कार्यान्वयनमा आएपछि पनि कुनै उद्योगले ल्याबमा परीक्षण नगराई वा एनएस नलिई टायल्स बेच्न पाइन्छ । तर, त्यसरी बिक्री गर्दा प्याकिङमा गुणस्तर भने लेख्न (उल्लेख गर्न) पाइँदैन ।

के फाइदा हुन्छ ?

अहिलेसम्म भौतिक पूर्वाधार निर्माणमा टायल्स लगाउनुपर्ने संरचना बनाउन ठेक्का आह्वान हुँदा कुन गुणस्तरको टायल्स लगाउनुपर्ने भन्ने उल्लेख हुँदैनथ्यो । यतिसम्म की, आजभन्दा दुइ तीन वर्ष अगाडीसम्म त सरकारी निकायले कजरिया, सोभानी जस्ता ब्राण्ड प्रयोग गर्नुपर्ने शर्त नै राख्थे । अर्थात्, ति ब्राण्ड सँगको ‘इक्वीभ्यालेन्ट’ खोज्थे । जबकी, सार्वजनिक खरिद ऐन २०६४ ले ब्राण्ड तोक्न नपाउने व्यवस्था गरेको छ । यद्यपी, पछिल्लो दुइ तीन वर्षयता भने यसरी ब्राण्ड तोक्न छोडिएको थियो ।

टायलको एनएस तय गर्न गठित प्राविधिक समितिमा सदस्य रहेका निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रमोद लामिछानेका अनुसार वार्षिक २० लाख वर्गमिटरको हाराहारीमा टायल्स खपत हुने गरी बजार निर्माण भइसके पनि गुणस्तर कायम नहुँदा निर्माण व्यवसायीदेखि उपभोक्तासम्म अन्योलमा थिए । अब उद्योगमन्त्रीको अध्यक्षतामा रहने गुणस्तर परिषदबाट टायल्सको प्रस्तावित ‘नेपाल स्ट्याण्डर्ड’ जारी भएपछि यस्ता अन्योलहरु हट्ने लामिछाने बताउँछन् ।

‘अब उपभोक्तालाई पनि आफूले कुन गुणस्तरको टायल्स प्रयोग गर्दैछु भन्ने थाहा हुन्छ, सरकारी निकायले पनि ठेक्का आह्वान गर्दै भौतिक संरचना निर्माणमा कुन गुणस्तरको टायल्स लगाउने भन्ने कुरा स्पष्टसँग माग गर्न सक्ने भए’, उनले भने, ‘यसले क्वालिटी कायम गर्न मदद्त पुग्छ ।’

निर्यातको सम्भावना कति ?

उद्योगीहरुका अनुसार नेपालमा हाल ५ वटा टायल्स उद्योगले व्यवसायिक उत्पादन गरिरहेका छन् । अझै ३ वटा उद्योग थपिने क्रममा छन् । यी उद्योगले वार्षिक २८ लाख वर्गमिटर टायल्स उत्पादन गर्ने क्षमता राख्छन् । जबकी, हाल नेपाली बजारमा १८ देखि २० लाख वर्गमिटर मात्रै टायल्स खपत हुन सक्छ ।

उद्योगी सुब्रत धितालका अनुसार कोभिड अगाडी नेपालमा वार्षिक १२ अर्बको टायल्स कारोबार हुन्थ्यो । यसमध्ये ९५ प्रतिशत हिस्सा भारतीय टायल्सको थियो । भारतको गुजरात टायल्स उद्योगको विश्वस्तरीय हब हो । आजभन्दा ३ वर्ष अगाडीसम्म नेपालमा आउने भारतीय टायल्समध्ये अधिकांश गुजरातबाट आउँथ्यो ।

अब भने नेपालमै पर्याप्त उत्पादन हुन थालेकाले निर्यातको समेत सम्भावना बढेको उद्योगीहरु बताउँछन् । उद्योगी धितालका अनुसार नेपालमा भएका अधिकांश टायल्स उद्योगहरु सीमा क्षेत्रमै छन् । नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यका विभिन्न शहरमा नेपाली टायल्सको निर्यात गर्न सकिने सम्भावना छ ।

‘हामीले भारतीय बजारमा पनि निर्यात गर्न सक्छौँ, हाम्रा अधिकांश उद्योगहरु भारतीय बजारमा निकै कम दूरीमा छन्’ उनले भने, ‘सुरुमा आफ्नो देशबाट एनएस लिऔँ । अनि भारतीय बजारमा निर्यात गर्नका लागि इन्डियन स्ट्याण्डर्ड (बीआईएस) अनिवार्य रहेछ भने त्यसका लागि आवेदन पनि दिन सक्छौँ । हामीले माग गरेको खण्डमा भारतबाट बीआईएस पाउँन पनि सक्छौँ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको...

चुनावमा भोट हाल्न काठमाडौँबाट सात लाख ५० हजारभन्दा धेरै बाहिरिए

बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट...

इरानको द्वन्द्व छिटो समाधान नभए नेपाल आउने ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुन्छ: खरेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको...

विदेशका द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु

वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम्...

घोराही सिमेन्ट सहित नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  मंगलबार दुई वटा कम्पनीको...
spot_img