फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको रोमाञ्चक भिडन्तको रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभ्को भिन्चिच (Slavko Vinčić) लाई दिइएको छ। उनी स्लोभेनियाबाट विश्वकप फाइनल सञ्चालन गर्ने पहिलो रेफ्री बन्नेछन्।
२५ नोभेम्बर १९७९ मा मारिबोर, स्लोभेनियामा जन्मिएका उनी हाल ४६ वर्ष भए। उनले २००७ मा स्लोभेनियाको शीर्ष डिभिजनबाट रेफ्रीङ करियर सुरु गरेका थिए । २०१० देखि उनी फिफाको अन्तर्राष्ट्रिय रेफ्री छन् । उनले २०२२ युरोपा लिग फाइनल (फ्रैंकफर्ट vs रेंजर्स), २०२४ च्याम्पियन्स लिग फाइनल (रियल म्याड्रिड vs बोरुसिया डोर्टमन्ड) को खेल खेलाईसकेका छन्। उनी यूईएफए च्याम्पियन्स लिग र युरोपा लिगमा ७२ भन्दा बढी म्याच सञ्चालन गरिसकेका छन्।
उनले करिब ५०० भन्दा बढी म्याचमा औसत ४.१३ पहेँलो कार्ड प्रति म्याच र ०.१० रातो कार्ड दिएका छन्।
विश्वकप २०२६ मा उनले ५ म्याचमा औसत ३ पहेँलो कार्ड मात्र देखाएका छन् । यस विश्वकपमा उनले इक्वेडरका पिएरो हिन्कापिएलाई मुख छोपेर कुरा गरेको भन्दै पहिलो रातो कार्ड दिएका थिए ।
भिन्चिचको मातहतमा अर्जेन्टिनाको खराब रेकर्ड छ। २०२२ विश्वकपमा साउदी अरेबियासँग अर्जेन्टिनाले २–१ ले हारेको म्याच उनैले रेफ्री गरेका थिए। उनको मातहत स्पेनले अहिलेसम्म ४ खेल खेलेको छ भने स्पेनले ४ वटै जितेको छ । अर्थात् उनको मातहतमा स्पेन कहिल्यै हारेको छैन भने अर्जेन्टिना कहिल्यै जितेको छैन । तर स्पेनको सबै जित युरो कपमा नै थिए ।
भिन्चिचलाई कडा अनुशासन कायम राख्ने रेफ्री मानिन्छ तर विश्वकपमा अपेक्षाकृत कम कार्ड देखाउने शैली अपनाएका छन्। उनी फाउल, डिसेन्ट र टाइमवेस्टिङमा कडा हुन्छन्।
उनी स्लोभेनियाबाट पहिलो पटक विश्वकप फाइनल रेफ्री बनेका छन्। आजको फाइनलको खेलको लागि सहायक रेफ्री तोमाज क्लान्चनिक र आन्द्राज कोभासिच पनि स्लोभेनिया कै रहेका छन्। फोर्थ अफिसियल जोर्डनका अधाम मखाद्मे रहेका छन् भने जर्मनीका बास्टियन डान्कर्ट VAR रेफ्री हुन्।









