Monday, February 17, 2025
spot_img

विगतकै त्रुटि दोहोरिएको बजेट र मौद्रिक नीतिबाट ‘पोलिसी डिपार्चर’ असम्भव

अनलराज भट्टराई 

बजेट ठूलो आकारको बनाउने र यसमा पनि वितरणमुखी कार्यक्रमहरु राख्ने ‘ट्रेण्ड’ हाम्रो देशमा चल्दै आएको छ । खासगरी सामाजिक सुरक्षा र जनताको भोट तान्ने खालका कार्यक्रम राख्ने चलन बढ्दै गएको छ । सामाजिक सुरक्षा भत्ता कसैले पनि हटाउन वा घटाउन नसक्ने भएकाले यसले सरकारको खर्च बढाउँदै लग्यो । तर, अन्य विकास निर्माण लगायतका शीर्षकको खर्च घटाउनुपर्ने बाध्यता रहँदै आएको छ । २०७२ सालमा संविधान निर्माण भए पश्चात् यो क्रम झन् बढेको देखिन्छ ।

विकास बजेट बढाउने, पूँजीगत खर्च गर्ने र रोजगारी सिर्जना गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने हो । यसो हुँदा आम्दानी बढ्छ र विदेश जानेक्रम कम हुँदै जान्छ । हामीकहाँ बिडम्बना के भयो भने, छुट्याएको पूँजीगत बजेट पनि खर्च हुँदैन । कूल बजेटको २० प्रतिशत जति विकास बजेट छुट्याइएको हुन्छ, यसमध्ये ८० प्रतिशत जतिमात्रै खर्च हुन्छ । परियोजनाको छनोट पनि वैज्ञानिक भएन । ठूला प्रोजेक्टमा बजेट छुट्याउँ र त्यो सम्पन्न भएपछि अर्को त्यस्तै परियोजना छानौँ भन्ने नै भएन । सबै क्षेत्रमा समान विकास गर्नुपर्छ भन्ने भावनाले बजेट निकासा गर्दा बहुवर्षीय योजनाहरुले आवश्यक बजेट नपाउने अवस्था हुँदै आयो । यसले परियोजनाको ठेक्का लिएको निर्माण व्यवसायीले समयमै भुक्तानी नपाउने र अर्कोतर्फ नयाँ परियोजना थप्दै जाने गर्दा बजेट बन्ने प्रक्रियामै त्रुटि हुन गयो । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट पनि यसबाट अछुतो हुन सकेन ।

आगामी आर्थिक वर्षको बजेटले उत्पादन वृद्धि गर्ने, उद्यमी व्यवसायीको निराशालाई आशामा बदल्ने, मानव संसाधनको विकास गर्ने, प्राकृतिक स्रोतको उपयोग गर्ने र सरकारी सेवा सहज बनाउने ५ उदेश्य लिएको छ । आर्थिक सुधार गर्ने कुरा बोलेको छ । कृषिको विकास र पर्यटनलाई विकास गर्ने कुरा आएका छन् । स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउँदै लैजाने भनेको छ । यी सबैका लागि वित्तीय अनुशासन पालना गर्ने कुरा बजेटले गरेको छ । कर प्रणाली सुधारका कुराहरु पनि बजेटमा आएका छन् । करको दायरा बिस्तार गर्दै नीति, नियमलाई लगानीमैत्री बनाउँदै लैजाने कुरा पनि छन् । वित्त नीति र मौद्रिक नीतिबीच तालमेल मिलाएर जाने कुरा बजेटमै उल्लेख भएको छ ।

बजेटले केही ‘टार्गेट’ पनि राखेको छ । बिजुली उत्पादन बढाएर ४५ सय मेगावाट पु¥याउने भनेको छ । वित्तीय क्षेत्रलाई पनि प्राथमिकता दिएको देखिन्छ भने सूचना प्रविधिको क्षेत्रलाई पनि महत्वका साथ लिएको देखिन्छ । आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । स्वदेशी उद्योगको विकास गर्न ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’लाई प्रोत्साहन गर्ने भनेको छ । गैरआवासीय नेपालीलाई जोड्न ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’लाई सेतुका रुपमा प्रयोग गर्ने भनेको छ । अहिले कुल गार्हस्थ उत्पादन र ‘नेशनल एकाउण्ट क्याल्कुलेशन’मा २०११ लाई आधार मानिँदै आइएको छ । यसले गर्दा कतिपय गलत सूचनाहरु सम्प्रेषण हुन जाने र यथार्थ चित्रण नगर्न सक्ने भएकाले ‘वार्षिक लेखा’ र ‘नेशनल एकाउण्टिङ’को आधार वर्ष परिवर्तन गर्ने भनेर भनिएको छ । यी सैद्धान्तिक पक्षका कुराहरु भए ।

व्यावहारिक पाटोबाट हेर्दा आर्थिक वर्ष २०८०/०८१ को बजेटको लक्ष्यलाई समीक्षामार्फत घटाइएको छ । यथार्थ तथ्यमा चाहिँ घटेको लक्ष्य पनि पूरा नहुने अवस्था देखिँदैछ । तर, आर्थिक वर्ष २०८१/०८२ को बजेटको लक्ष्य चालु आर्थिक वर्षको संशोधित बजेट अनुमानभन्दा २१.५ प्रतिशतले बढी छ ।

चालु आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत हाराहारी मात्रै राजस्व संकलन हुने देखिन्छ । आगामी आर्थिक वर्षमा कर राजस्व १३ प्रतिशत बढ्ने, विदेशी सहयोग ७६ प्रतिशतले बढ्ने, विदेशी ऋण ४९ प्रतिशतले बढ्ने र आन्तरिक ऋणपनि ३७ प्रतिशतले बढाउने भनेर लक्ष्य राखिएको छ । १२६० अर्ब राजस्व लक्ष्यसहित आगामी वर्षका लागि सरकारले लिएका आम्दानीका लक्ष्यहरु निकै चुनौतीपूर्ण छन् ।

विदेशी ऋण पनि सजिलै आउँदैन । त्यसका लागि हामीले वास्तविक परियोजनाहरु छनोट गर्नुपर्छ । विदेशी ऋण र अनुदान भनेको हाम्रो प्रगतिको आधारमा आउने हो ।

आन्तरिक ऋण ३३० अर्ब लिने भनिएको छ । अरु मुलुकमा हेर्ने हो त्यहाँको केन्द्रीय बैङ्कले ठूलो हिस्सा आन्तरिक ऋण लिएको हुन्छ । हामीकहाँ के छ भने, वाणिज्य बैङ्कहरुको ‘होल्डिङ’ ९० प्रतिशत छ भने केन्द्रीय बैङ्कको स्वामित्व १० प्रतिशतमात्रै छ । यसको अर्थ हाम्रो देशमा निजी क्षेत्रको विकास लागि जानुपर्ने पैसा पनि सरकारमै जाने स्थिति बन्यो । आगामी आर्थिक वर्षमा पनि ठूलो रकम आन्तरिक ऋण लिने भनिएकाले त्यसले तरलतामा प्रभाव पार्ने जोखिम रहन्छ । त्यसको असर ब्याजदरमा पनि आउन सक्छ । यो सबै चीज हेर्दा बजेट व्यवहारिक भन्दापनि महत्वाकांक्षी ज्यादा देखिन्छ । यसपालि मात्रै होइन, हामीले भूकम्प पश्चात् हरेक वर्ष महत्वाकांक्षी बजेट बनाउन थाल्यौँ र ऋण पनि बढाउँदै लग्यौ । ऋण यति उठाउन थाल्यौँ कि, आन्तरिक र बाह्य ऋण गरेर सार्वजनिक ऋण २४ खर्ब पुगिसक्यो ।

विदेशी ऋण हामीले दातृ निकाय र मित्र राष्ट्रबाट लिने गरेको हुनाले यस्तो ऋणको भूक्तानी र ब्याज तुलनात्मक रुपमा सरल छ । विदेशी ऋणको भूक्तानीमा खासै दवाब नहुने भएकाले यसलाई सकारात्मक रुपमै लिन सकिन्छ । आन्तरिक ऋणको हकमा चाहिँ अहिले जुन अवधारणाबाट उठाइरहेका छौँ, यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ । हाम्रो ‘बण्ड मार्केट’लाई पूँजीबजारसँग जोडेर यसलाई दैनिक कारोबार गर्ने व्यवस्था गर्ने हो भने एकातिर ऋण उठाउन पनि सजिलो हुन्छ र अर्कोतिर बजारको पैसा ‘ब्लक’ पनि हुँदैन ।

हामी कहिलेकाहीँ एकदमै राष्ट्रवादी हुन्छौँ, हाम्रो देशको विकास गर्न कसैको सहायता र ऋण चाहिँदैन भनिदिन्छौँ । तर, यो सम्भव हुँदैन । जुनसुकै मुलुकले पनि विदेशबाट ऋण उठाएको हुन्छ । संसारको सबैभन्दा धनी देशले पनि ऋण लिएको हुन्छ । उनीहरुले अन्तर्राष्ट्रिय बजारमा बण्ड ‘इस्यू’ गर्छन्, त्यस्तो बण्ड विदेशीले किन्छन् । यसकारण पूँजी भनेको स्वदेशबाट मात्रै निर्माण हुने कुरा होइन । अन्तर्राष्ट्रिय लगानीको कुरा र देशको सार्वभौम रेटिङको कुरा एक देशले अर्को देशबाट पूँजी संकलनका लागि आएको कुरा हो । हामी बाह्य स्रोत परिचालन गर्न डराउँछौँ । अहिले मुलुकको रेटिङको कुरा भइरहेको छ तर हामी पहिलो रेटिङ कस्तो आउला ? अलिअलि आइरहेको लगानी पनि नआउने हो कि भनेर डराएका छौ । अहिले हाम्रो देशमा विदेशी लगानी थोरै छ भने विदेशी ऋण पनि तिर्नसक्ने अवस्थामै भएकाले विदेशी लगानीका लागि योग्य देशका रुपमा देखाउने खालकै नतिजा आउँछ भन्ने देखिन्छ ।

खर्चको पाटोबाट हेर्दा हाम्रो राजनीतिक संरचनाका कारण खर्च बढिरहेको पक्कै हो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार भनेर तीन तहका सरकार छन् । हाम्रोजस्तो देशलाई झै–झगडाबाट भर्खर बाहिर निस्केको ‘फ्रेजायल इकोनोमी’ भएको देश भन्ने गरिन्छ । फ्रेजायल मुलुकहरुमा सोझै रोजगारी सिर्जना नहुने र झगडामा बसिरहेको ठूलो मासलाई पनि जोड्नुपर्ने भएकाले संरचना स्वभाविक रुपमा ठूलो हुन जान्छ । हामीकहाँ मात्रै होइन, ‘फ्रेजायल इकोनोमी’ भएका अरु देशमा पनि यस्तै छ । यसले गर्दा सघ र प्रदेशमा सांसद र सरकार भनेर यति ठूलो संरचना बनायौँ कि, अहिले खर्च धान्नै मुस्किल छ । जतिबेला हामीले बनायौँ, त्यतिबेला अपरिहार्य थियो । संविधान बनेकै करिब १० वर्ष भइसकेको छ, अबचाहिँ यी संरचनाबारे सोच्नुपर्ने बेला आएको छ । अहिले जुन गतिमा चालु खर्च बढिरहेको छ, त्यो धान्न सक्छौ त ? प्रश्न सुरु भएको छ । यसकारण अब राजनीतिक संरचनाहरु सानो बनाउँदै लैजानुपर्ने बेला भएको छ ।

सामाजिक सुरक्षाका नाममा भइरहेको खर्चलाई पनि बजेटले कटौती गर्दै लैजाने आँट गर्नुपर्छ । सोझै कटौती गर्न कसैले पनि सक्दैन, कुनैपनि राजनीतिक पार्टीले वृद्धभत्ता रोक्छु भन्न सक्दैन । यसो भएको हुनाले सरकारले जनतालाई अरु कुनै आम्दानीको स्रोत छ भने भत्ता नलिइदिनु भनेर अपिल गर्नुप¥यो । विकसित मुलुकमा सरकारले हस्पिटल चलाउँछ, त्यहाँ ‘प्राइभेट वार्ड’ पनि राखिएको हुन्छ । त्यो प्राइभेट वार्डमा प्रष्टसँग ‘तपाईले प्राइभेट वार्डमा उपचार गराउँदा तिर्नुभएको खर्चले उपचार गर्न नसक्नेहरुको निःशुल्क उपचार हुन्छ’ भनेर लेखिएको हुन्छ । यसले ‘इन्करेज’ गर्छ । हामीले पनि भत्ताको हकमा जनतालाई अपिल गर्नुपर्छ ।

समग्रमा खर्चको पाटो, बजेटको लक्ष्य र हाम्रा कुराहरु हेर्दा ‘मिसम्याच’ चाहिँ छ । सँगै, बजेट महत्वाकांक्षी हुँदाहुँदै पनि ‘इकोनोमिक रिफर्म’का लागि जुन ‘एक्सन प्लान’ चाहिन्थ्यो, त्योचाहिँ पाउन सकिएन । अहिले हामीलाई चाहिएको ‘इमर्जेन्सी इकोनोमिक रिकभरी प्लान’ हो । उद्यमी, व्यवसायीहरु डराएर बसेका छन्, उनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने योजना बजेटले परिकल्पना गरेको देखिएन । सरकारसँग वित्तीय स्रोतपनि छैन । वित्तीय स्रोत नभएपनि नीतिगत सहजीकरण गरेर वित्तीय क्षेत्र र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ ।

अर्को कुरा, हामी विदेशीलाई नेपालमा लगानी गर भन्छौँ, तर हाम्रो देशका कर्पोरेट हाउसहरुलाई विदेशमा लगानी गरेर नाफा कमाएर ल्याउ भन्दैनौँ । हाम्रो देशमा पनि विदेशमा लगानी गर्नसक्ने क्षमताका कर्पोरेट ग्रुपहरु भइसके । अहिले आईटी क्षेत्रले पनि यहीँ बसेर निर्यात गर्नुपर्ने छ, उसलाई तिम्रो क्षमता छ भने विदेशमा पनि कम्पनी खोल, नाफा कमाएर ल्याउ भन्न सक्नुपर्ने थियो । हाम्रा एकाउण्टिङ फर्महरु, हाम्रा निर्माण व्यवसायीहरु, हाइड्रोपावरमा यति ठूलो काम गरिसकेको निजी क्षेत्र छ, उसलाई अर्को देशको ‘कन्सल्ट्यान्ट’का रुपमा जान दिन सक्छौँ । हामीले नीतिबाटै रोकिरहेका छौँ । अरु देशले विदेशबाट ल्याउन पनि दिए, लैजान पनि दिए । हामी भने ल्याउन पनि बाधा अड्चन गर्छौ, लैजान त झन दिँदैनौ । कुनै उद्यमी वा व्यवसायीले यो गर्छु भन्यो भने हामीलाई के आउँछ वा मलाई के आउँछ भन्ने भावना राजनीतिक प्रणालीमा, कर्मचारीतन्त्रदेखि आम जनतामा पनि ब्याप्त छ । उदाहरणका लागि एउटा कुनै ठाउँमा हाइड्रोपावर परियोजना गयो भने त्यो प्रोजेक्टले सिङ्गो गाउँ बनाइदिनुपर्छ । यसकराण आजसम्म हामी करेन्ट एकाउण्ट कन्भर्टेबल छौँ तर अब ‘क्यापिटल एकाउण्ट कन्भर्टेबल’ बनाउनुपर्ने हो कि भन्ने बेला भइसकेको छ । बजेटले यतातर्फ पनि सोचेको देखिँदैन ।
अर्को चाहिँ बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढिरहने, ब्यापार व्यवसायमा लागेकाहरुले ब्याज तिर्न नसक्ने, बजारमा गएको उधारो नउठ्ने लगायतका समस्या समाधान गर्न कानुनहरु व्यवस्थित गनुपथ्र्यो । खराब कर्जालाई व्यवस्थापन गर्न ‘एसेट्स म्यानेजमेन्ट कम्पनी’को परिकल्पना गरिनुपथ्र्यो, बजेटले गर्न सकेन । यसकारण वित्तीय क्षेत्रको स्थायित्वका सन्दर्भमा पनि आगामी चुनावमा मेरो के हुन्छ भावनाले मात्रै बजेट आएको देखिन्छ । यो यसपालि मात्रै होइन, २०७३/०७४ देखि नै भइरहेको छ ।

मौद्रिक नीतिमा राष्ट्र बैङ्कले के गर्नुपर्छ ?
मौद्रिक नीतिमा ब्याजदरका कुरा, महँगीका कुरा, कर्जा वृद्धिका कुरा हुनुपर्नेमा पूँजीबजारमा यो गर्ने भन्ने जस्ता क्रेडिट पोलिसीका कुरा आइरहेका छन् । यसकारण राष्ट्र बैंकले मौद्रिक नीतिमा नाममा ‘क्रेडिट पोलिसी’ ल्याउन छोड्नुप¥यो ।

अब मौद्रिक नीतिले वित्तीय क्षेत्र स्थायित्वका सवालमा सम्बोधन गर्नुपर्ने देखिन्छ । अहिले वित्तीय क्षेत्रमा ५ वटा समस्याहरु जल्दाबल्दा समस्याका रुपमा छन् । पहिलो, खराब कर्जामा भइरहेको तीव्र वृद्धि । ३ वर्ष अगाडि १ प्रतिशत हाराहारीमा रहेको खराब कर्जा अहिले ४ प्रतिशत नाघिसकेको छ । दोस्रो समस्या, खराब कर्जाकै कारण बैङ्कको पूँजी पर्याप्ततामा दवाब बढेको छ । यसले एकातर्फ पूँजी कम हुने र अर्कोतर्फ खराब कर्जा बढ्दै जाने भएकाले जोखिम पनि बढाउँदै लगेको छ । जसले बैङ्क वित्तीय संस्थाभित्रको सुशासनमा पनि समस्या देखिन थालेको छ । अहिले वित्तीय क्षेत्र भनेको वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनी मात्रै होइनन्, सहकारीहरु पनि हुन् । जहाँ अर्बौ रुपैयाँ अपचलन भएर वित्तीय क्षेत्रको सुशासनमा ठूलो धब्बा देखिन थालेको छ । यसको ‘चेन इफेक्ट’ वाणिज्य बैङ्कहरुसहित समग्र ‘रिटेल बैङ्किङ’मै पर्न गएको छ । ऋण तिर्नुपर्दैन, कर्जा माफी हुन्छ जस्ता हल्लाले रिटेल बैङ्किङमा अहिले समस्या देखिएको छ ।

यी समस्या समाधान गर्न राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत आफ्नौ नियामकीय क्षमता बढाउनुपर्ने हुन्छ । राष्ट्र बैङ्क आफ्नो नियामकीय क्षेत्राधिकारमा स्पष्ट हुनुपर्छ । पूँजी बजारलाई नियमन गर्ने कि नगर्ने ? बीमा बजारलाई नियमन गर्ने कि नगर्ने ? पेन्सन फण्डलाई गर्ने कि नगर्ने ? अहिले सबैतिर राष्ट्र बैङ्कले कुनै न कुनै रुपमा नियमन गरिरहेको छ, यसकारण अब यसमा स्पष्ट भएर जान आवश्यक छ ।

अर्को कुरा, राष्ट्र बैङ्कले जारी गर्ने मौद्रिक नीति ‘क्रेडिट पोलिसी’ हो कि ‘मनीटरी पोलिसी’ हो भन्नेमै स्पष्ट छैन । मौद्रिक नीति क्रेडिट पोलिसीसँग जोडिनु भएन । मौद्रिक नीतिमा ब्याजदरका कुरा, महँगीका कुरा, कर्जा वृद्धिका कुरा हुनुपर्नेमा पूँजीबजारमा यो गर्ने भन्ने जस्ता क्रेडिट पोलिसीका कुरा आइरहेका छन् । यसकारण राष्ट्र बैंकले मौद्रिक नीतिमा नाममा ‘क्रेडिट पोलिसी’ ल्याउन छोड्नुप¥यो ।

अर्को कुरा, वित्तीय क्षेत्रको जोखिम व्यवस्थापन गर्ने कुरामा केन्द्रीय बैङ्क केन्द्रित हुनुपर्छ । राष्ट्र बैङ्क अब आफ्नै सुशासनमा र आफ्नो नियामकीय क्षेत्राधिकार भित्र पर्ने वित्तीय संस्थाहरुमा सुशासन कायम गराउन लाग्नुपर्ने अवस्था छ । राष्ट्र बैङ्कको सञ्चालक समिति हेर्ने हो भने त्यहीँका पूर्व कर्मचारीहरु छन् । यसलाई सुधार गरेर जानुपर्ने आजको आवश्यकता छ । अर्को चाहिँ, नियमित सूचना प्रकाशनमा पनि राष्ट्र बैङ्कले सुधार गर्नुपर्छ । हरेक महिनाको सट्टा हरेक हप्ता सूचनाहरु सार्वजनिक गर्न सकिन्छ ।

अर्को कुरा, महँगी कति छ भनेर राष्ट्र बैङ्कले तथ्याङ्क निकाल्छ, त्योपनि एउटा महिनाको सूचना अर्को महिना आउँछ । यो किन राष्ट्र बैङ्कमा राख्नुप¥यो ? यो काम त तथ्याङ्क विभाग वा तथ्याङ्क कार्यालयको हो । यो काम छोड्दै गए राष्ट्र बैङ्क अरु काममा लाग्न सक्छ । आन्तरिक ऋणको काम अहिले राष्ट्र बैङ्कबाट बाहिर झिकेर सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई दिइएको छ । अब राष्ट्र बैङ्कले आफ्ना यी कामहरु क्रमशः घटाउँदै ‘स्पेसिफिक’ हुन आवश्यक छ ।

अहिले निजी क्षेत्रको आत्मविश्वास गुमेको छ । फलस्वरुप कर्जा वृद्धि हुन सकेको छैन । पछिल्लो २ वर्षको तथ्याङ्क हेर्ने हो भने औसतमा ४ प्रतिशतको कर्जा वृद्धि छ । २ वर्ष अगाडि १८/१९ प्रतिशतको हाराहारी थियो । यसबाट निजी क्षेत्रको लगानी बिस्तार नभएको देखिन्छ ।

अहिले खुकुलो मौद्रिक नीति बनाउँछौ भनेर मात्रैपनि हुँदैन । खुकुलो भनेको के हो त ? कर्जा दिन सजिलो गरेर मात्रै हुँदैन, यसका लागि बैङ्कको क्षमता पनि बढ्नुप¥यो । अहिले कर्जा बढाउन बैङ्कको पूँजी नै पुग्दैन । खराब कर्जा बढेर बैंकको पूँजी पर्याप्तता नै दवाबमा छ । अहिले कुनै खराब कर्जा राम्रो भयो भनेपनि त्यसलाई अर्को ६ महिनासम्म ‘मूल्याङ्कन अवधि’ भनेर खराब कर्जाकै श्रेणीमा राखेर प्रोभिजन गर्नुपर्छ । यसले बैङ्कहरु योजना बनाएर लगानी बिस्तारमा भन्दा पनि असुलीमा बढी केन्द्रित हुनुपर्ने बाध्यता भएको छ । असुलीमा पनि बैङ्कले जग्गा बिक्री गर्न नसकी आफै सकार्नुपर्ने अवस्था छ । सकार गर्दा पनि हदबन्दी लाग्ने समस्या छ । यसकारण सुधार गर्ने भनेरमात्रै हुँदैन, कहाँ कहाँ गर्ने भनेर प्रष्ट हुनुपर्छ ।

साथै, अहिले बाफिया संशोधन गरेर कुनै एक बैङ्कमा १ प्रतिशत सेयर स्वामित्व भएको व्यक्तिले कुनै पनि बैङ्कबाट कर्जा नपाउने प्रावधान राख्न लागिएको छ । जबकि, सन् २०१५ मा राष्ट्र बैङ्क आफैले बैङ्क ठूलो बनाउनुप¥यो, तपाईहरु पूँजी थप्नुहोस् भनेर संस्थापक सेयर धनीहरुलाई भनेको हो । अहिले आएर तपाईहरुले पूँजी वृद्धि गर्नुभयो, अब तपाईहरुको काम छैन भन्न मिल्छ ? पूँजी वृद्धि भएको बल्ल ६ वर्ष पुग्दैछ, अहिले आएर अब तिमी निस्क भन्न सुहाउँछ ? नीतिगत स्थायित्व खोई ? त्यो बेलामा किन बढाउन दिईयो ? यसकारण अब भविष्य हेरेर नीति निर्माण गर्नुप¥यो । विगतको दिनलाई हेरेर नीति बनाउँदा हामी गलत गरिरहेका छौँ । आगामी ५ वर्षको हाम्रो नीति यो हुनसक्छ भनेर भनिदिनुप¥यो ।

विभिन्न समयमा हामीले ‘पोलिसी मिस्टेक’ गरेका छौँ । जस्तो, अघिल्लो पटक बाह्य क्षेत्रमा दवाब प¥यो, विदेशी मुद्राको सञ्चिति कम भयो भनेर आयात बन्द गरिदियाँै । त्यतिबेला आयात र विदेशी मुद्राको सञ्चितिलाई मात्रै हेर्ने काम भयो । जसका कारण सरकारको राजस्वमा ठूलो दवाब सिर्जना भयो, राजस्वमा हाम्रो ध्यान नै पुगेन । त्यसबाट राजस्वमा दवाब सिर्जना हुन थालेकोमा अहिलेसम्म पनि दवाब कायमै छ ।

अर्को कुरा, चालु पूँजी कर्जा मार्गदर्शन भनेर ल्याइयो, यसले पर्यटन, सञ्चार, निर्माण, हाइड्रोपावर, यातायात, हाउजिङ लगायतका उद्यम व्यवसायका क्षेत्र नै चिनेन । यो निर्देशनले केवल बैङ्क र ऋणीमात्रै चिन्यो । जस्तो, टेलिकम क्षेत्रले पनि ४० प्रतिशत चालु पूँजी कर्जा पाउने, निर्माण क्षेत्रका कम्पनीहरुले पनि ४० प्रतिशत पाउने भन्ने कुरा कसरी सुहाउँछ ? जबकि, निर्माण कम्पनीहरुले वर्षमा एक पटक सरकारबाट भूक्तानी पाउँछन् भने टेलिकम कम्पनीले हरेक दिन भूक्तानी भएन भने लाइन काट्छ । ‘क्यास रिच’ हुने कम्पनीलाई पनि ४० प्रतिशत र ‘क्यास डिफिसिट’ हुने कम्पनीलाई पनि ४० प्रतिशत चालु पूँजी कर्जा दिने खालको नीति बनाउने अनि यसैलाई नीतिगत सुधार भनेर बस्ने । यो पनि एउटा ‘पोलिसी मिस्टेक’ भयो ।
अर्को कुरा, केन्द्रीय बैङ्कले जहिल्यै ‘पोलिसी रेट’लाई मात्रै ‘फोकस’ गर्दै आएको छ । जबकि, पोलिसी रेटले कर्जाको दिने दरलाई खासै असर गर्दैन । हाम्रो पोलिसी रेट ८ प्रतिशतबाट अहिले ५ प्रतिशतमा आएको १ वर्षजति भइसकेको छ । ब्याजदर घटेर गइरहेको छ । पोलिसी रेट नघट्दा पनि ब्याजदर त घटिरहेको छ । ब्याजदर हरेक महिना घट्दै घट्दै एकल अंकमा आइसकेको छ । पोलिसी रेटले ‘मुद्रा बजार’लाई मात्रै असर गरिरहेको छ । यसमा पनि ब्याजदर करिडोरका हिसाबले ‘मेन्टेन’ भइरहेको छ । खाली पोलिसी रेटले व्यापार व्यवसाय गर्नेलाई तर्साउने र उनीहरुलाई सधैँ मनोवैज्ञानिक त्रासमा राख्ने काममात्रै गर्छ । यसले गर्दा माग कटौती भयो ।

विगतको मौद्रिक नीतिले माग कटौती गर्ने जुन सोचाइ राखेको थियो, त्यो पूरा भयो । त्यो उदेश्य पूरा भएपछि अब फेरि माग बढाउने खालको मौद्रिक नीति आउनुपर्छ । ‘सप्लाई’ गर्नसक्ने क्षमता उद्योगको छ । अहिले ‘डिमाण्ड साइड’मा मात्रै समस्या हो । बजेटले पनि डिमाण्ड साइडलाई खासै केही गर्न सकेन । अब केन्द्रीय बैङ्कले पनि आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ‘डिमाण्ड साइड’ हेर्छ भन्ने देखिँदैन । अहिले पनि राष्ट्र बैङ्क महँगीलाई सीमाभित्रै राख्ने र वित्तीय संस्थाको नियमन मात्रै आफ्नो दायित्व हो भनेर परम्परागत सोचाइमा बसेको देखिन्छ । यसकारण मौद्रिक नीतिबाट धेरै ठूलो परिवर्तन आउँछ भन्ने लाग्दैन ।

यद्यपी, गर्भनर आफैँले खुकुलो नीति ल्याउँछौ भन्ने गर्नुभएको छ । खुकुलो नीति भनेको के हो भन्नेमा पहिला स्पष्ट हुनुपर्छ । खुकुलो नीतिमा कर्जा देउ भन्नलाई बैङ्कसँग पूँजी छैन । पूँजी बढाउने कसरी ? सेयर धनीलाई बाफिया संशोधनमार्फत १ प्रतिशत बढी सेयर भएकाले कतैबाट कर्जा पाउँदैनौ भन्ने प्रावधान ल्याइँदैछ । यसकारण हामी के नीति ल्याउँदैछौ, के बोल्दैछौ र के गर्दैछौ भन्ने नै थाहा छैन । बाफिया संशोधनका लागि केन्द्रीय बैङ्कसँग पनि त छलफल भयो होला ? त्यसमा राखिने प्रावधानहरुको दीर्घकालीन असरबारे केन्द्रीय बैङ्कले किन सोचेन ? यसकारण मौद्रिक नीति जति नै खुकुलो बनाए पनि बाफिया पास हुनासाथ त्यसले समस्या निम्त्याईहाल्छ । संशोधनका लागि संसदमा पुगेको बाफियाको दफा २, दफा ५२ र दफा १८ ले खुकुलो मौद्रिक नीति बन्नै दिँदैन ।

खुकुलो मौद्रिक नीतिले कर्जा बिस्तार गर्ने भन्दैमा त्यसका लागि पूँजी पुग्दैन, पूँजी बढाउने त्यहीँ व्यवसायीले हो, उसले कहीँकतैबाट ऋण पाउँदैन भने किन पूँजी थप्छ ? उसलाई त अहिले बैङ्कबाट बाहिरिनुपर्ने बाध्यता छ । बाहिरिन पनि आफ्नो सेयर बेचेर निस्किनुप¥यो, किन्ने मान्छे कोही छैन । यसकारण केन्द्रीय बैङ्कले पूर्ण लचिलो मौद्रिक नीति ल्याएपनि बैङ्क तथा वित्तीय संस्थाहरु लचिलो हुन सक्ने अवस्था छैन र मौद्रिक नीतिबाट ठूलो ‘पोलिसी डिपार्चर’ हुन्छ भन्ने ठाउँ देखिँदैन ।

(अनलराज भट्टराई बैङ्किङ विज्ञ हुन् । यो लेख बिजनेश पाना त्रैमासिक म्यागेजिनको पहिलो अङ्कबाट साभार गरिएको हो ।)

- Advertisement -

spot_img

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक...

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...