भाटभटेनी सुपर मार्केट नछिरेका मान्छे कमै होलान् । यदि कोही भाटभटेनीका कुनै आउटलेटमा छिरेको छैन भने पनि उसले भाटभटेनीको नाम पक्कै सुनेको हुनुपर्छ । भाटभटेनीका सञ्चालक हुन् मिनबहादुर गुरुङ । मुलुकमा प्राकृतिक विपत्ति पर्दा होस् वा राज्यलाई कर तिर्ने व्यक्तिहरुको सूचीमा होस्, मिनबहादुर वा भाटभटेनीको नाम अग्र पङ्तिमा आउँछ ।
मिनबहादुरले एक दिन नेपाल उद्योग परिसंघले सोल्टी होटलमा आयोजना गरेको एउटा कार्यक्रममा भनेका थिए, ‘मलाई यो देशको सर्वाधिक करदाता हुनुछ । कर तिर्ने मामिलामा सूर्य नेपाल र नेपाल टेलिकमभन्दा पनि माथि पुग्ने धोको छ ।’
देशभर भाटभटेनीका दुइ दर्जन बढी स्टोरमार्फत २२ हजार जनालाई रोजगारी दिएका उनै मिनबहादुरले हालै नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा उपलब्ध गराएका छन् । असोज २५ गते बिहान १० रोपनी १४ आना जग्गामा ‘मदन भण्डारी स्मृति भवन’ नाममा कीर्तिपुर–२ मा नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शिलान्यास भएको छ । जग्गा मात्रै होइन, उनले भवन पनि आफैँले चन्दा स्वरुपम नै निर्माण गरेर हस्तान्तरण गर्ने भएका छन् । मिनबहादुरले एमालेलाई दिएको जग्गाको मूल्य हालको बजार भाउ अनुसार ७० करोड हाराहारी छ ।
यसका पछाडी मान्छेहरुले विभिन्न लख काटेका छन् । कतिले बालुवाटार प्रकरणसँग जोडेका छन्, कतिले एमाले अध्यक्ष ओलीले मिनबहादुर आरोपित मुद्दाहरु अघि नबढाउने शर्तमा जग्गा लिएको भनेर टिप्पणी गरिरहेका छन् । गुरुङ आरोपित मुद्दाहरु अघि नबढाउने शर्तमा ओलीले उनीसँग जग्गा लिन्थे भने आफ्नो वा आफन्तको लागि लिन्थे होलान्, पार्टीका लागि किन लिन्थे भन्नेहरु पनि छन् । त्यसो त, नेकपा एमालेले यसमा कुनै किसिमको सौदावाजी र लेनादेना नरहेको प्रष्टिकरण दिइसकेको छ ।
को हुन् मिनबहादुर गुरुङ ?
बालुवाटारको सरकारी जग्गा हडपेको अभियोगमा मुद्दा खेपिरहेका मिनबहादुर गुरुङ विगतदेखि नै समाजसेवी व्यवसायीको छवी बनाएका पात्र भने अवश्य हुन् । यसअघि उनले त्रिवि शिक्षण अस्पतालका २ वटा भवन बनाइदिएका थिए । आफ्ना बुवा वृषबहादुर र आमा धनमायाका नाममा २०६८ सालमा उनले ११ करोड लगानीको आकस्मिक कक्षसहितको भवन बनाइदिएका थिए । उनैले पछि १५ करोड लागतमा अर्को भवन बनाउन पनि सहयोग गरे ।
डा. भगवान् कोइरालाको अगुवाइमा सञ्चालन भइरहेको सातै प्रदेशमा बाल अस्पताल बनाउने अभियानका लागि पनि गुरुङले ४१ करोड रुपैयाँ सहयोग गरेका छन् ।
सामान्य पृष्ठभूमीबाट उदाएका मिनबहादुर गुरुङ अहिले अस्पतालदेखि राजनीतिक दलसम्मलाई अर्बौको सहयोग गर्ने हैसियतमा आइपुगेका छन् । कुनै बेला नेपाल बैंकको सहायकस्तरको कर्मचारीका रुपमा काम गरेका गुरुङ कुनै व्यावसायिक घरानामा जन्मिएका सन्तान होइनन् । खोटाङको विकट गाउँ सिम्लेको किसान परिवारमा २०१४ सालमा जन्मिएका मिनबहादुरले आईए सम्मको अध्यय धरानबाट पूरा गरे । त्यसपछि पढाईलाई थप अघि बढाउने र जागिर खाने रहर बोकेर वि.सं २०३१ सालमा काठमाडौँ छिरेका हुन् ।
२०३२ सालमा खुला प्रतिस्पर्धामार्फ नेपाल बैंकको सहायक पदमा नाम निकालेर जागिर सुरु गरे । केही समयपछि नेपाल बैंकमै साहयक प्रबन्धक बने ।
उनले सीएनआईको कार्यक्रममा सुनाएको आफ्नो व्यवसायिक यात्रा अनुसार जागिर सुरु गरेको केही वर्षमै उनलाई जागिर गरेर मात्रै हुँदैन, व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि २०४१ सालमा काठमाडौँको भाटभटेनी मन्दिरनजिकै एउटा कोठामा ३५ हजार रुपैयाँ लगानी गरेर किराना पसल खोले । एउटा कोठालाई दुइ वटामा बढाए, तर पसलमा आगलागी भयो । तर, उनले हिम्मत हारेनन् ।
सानो पसल सुरु गरेको ९ वर्ष पछि मिनबहादुरले भाटभटेनी मन्दिरको आडैमा २०५० सालमा ‘भाटभटेनी सुपमार्केट’को शुभारम्भ गरेका हुन् । त्यहीँ भाटभटेनी आज वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने चेन सुपरस्टोर बनेको छ ।भाटभटेनीमा ६० प्रतिशत शेयर मीनबहादुर गुरुङको छ भने बाँकी ४० प्रतिशत शेयर उनकी श्रीमती सावित्री घलेको नाममा छ ।
एमालेसँगको साइनो के हो ?
कीर्तिपुर–२ स्थित १० रोपनी १४ आना जग्गामा ‘मदन भण्डारी स्मृति भवन’ शिलान्यास कार्यक्रममा मिनबहादुरले आफू पार्टीसँग नजिक रहेकोले आफ्नो कर्तव्य पूरा गरेको बताए । ‘म पार्टीसँग नजिक भएको कारणले पनि मेरो कर्तव्य पूरा गरेको हुँ’ भनेर उनले पार्टीकै कार्यकर्ताको भाषा बालेका छन् ।
यता, एमालेले पनि मिनबहादुर गुरुङ विगतदेखि नै एमालेको कार्यकर्ता भएको दाबी गरेको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता थिए ।
नेपाल बैंकमा जागिरे रहँदा पार्टीको बैकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भएर पनि मिनबहादुरले काम गरेको र अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष समेत भएर ट्रेड युनियन आन्दोलनमा भूमिका निर्वाह गरेको गौतमको विज्ञप्तिमा उल्लेख छ ।
‘निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।












