भोटेकोशी बाढीले रसुवा नाका क्षतिग्रस्त भएपछि चीन सँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारी साधनसहित दैनिक उपभोग्य वस्तुसमेत अहिले यो नाका हुँदै आयात भइरहेको छ । तर, नेपाल तर्फको सडक पूर्वाधार नै कमजोर हुँदा यो नाकाबाट वस्तु आयात गर्दा नेपाली व्यवसायीहरुले हैरानी भोग्नु परिरहेको छ ।
४ हजार ६६० मिटर उचाईमा अवस्थित यो नाका नेपालीको बाध्यता र चिनियाँ पक्षको चाहनामा सञ्चालनमा आएको नेपाली व्यवसायीहरुको बुझाई छ । हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार रसुवागढी बन्द भएपछि तातोपानी नाका सहजै सञ्चालन गर्न सकिने भएपनि चिनियाँ पक्षले तातोपानी नाका बन्द गरेर कोरला नाका सञ्चालनमा जोड गरेको हो । यो नाका हुँदै सामान आयात गर्दा नेपालतर्फ कमजोर पूर्वाधारका कारण नेपाली व्यवसायीले झिकाएका सामान गन्तव्यसम्म आइपुग्दा टुट्–फुट् हुने, बिग्रिने र नाश हुने जोखिम रहेको उनको भनाइ छ ।
चालक पाउनै कठिन
मुस्ताङ भन्सारबाट जाँचपास भएका सवारी साधन त्यहाँबाट गन्तव्यसम्म गुडाएर ल्याउनुपर्छ । बाटो असहज भएकाले विगतमा रसुवा भन्सारदेखि काठमाडौँसम्म गाडी ल्याउने चालकले यो बाटोबाट गाडी चलाएर ल्याउन कठिन हुने गरेको छ । जसका कारण आयाकर्ता कम्पनीहरुलाई ‘अफ रोड’मा गाडी कुदाउन सक्ने अनुभवी चालक खोज्नुपर्ने बाध्यता आइपरेको छ ।
‘चालक पाउनै मुस्किल छ । चालक खोज्न र लैजान कम्पनीहरुबीच एक खालको प्रतिस्पर्धा नै छ’ नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका महासचिव मिलनबाबु मल्ल भन्छन्, ‘एउटै चालकले आलो–पालो गरेर धेरै कम्पनीको गाडी चलाएर ल्याइदिनुपर्ने अवस्था छ ।’
बेनी–लेते सडक असहज
आफ्नो भूभाग तर्फको पूर्वाधार (खासगरी सडक) कमजोर हुँदाहुँदै कोरला नाका सञ्चालनका लागि सहमति जनाउनु नेपाल सरकारकै कमजोरी भएको व्यवसायीहरु बताउँछन् । साथै, पूर्वाधार बनाउने काम सरकारको भएपनि यसतर्फ सरकार (पूर्वाधार विकास मन्त्रालय)को अहिले विशेष ध्यान नपुगेको उनीहरुको गुनासो छ ।
‘बाटो बनाउने काम सरकारको हो, व्यवसायीले आफैँ बाटो बनाउने कुरा भएन’ हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्की भन्छन्, ‘न बाटो बनाउने काम अघि बढेको छ, न यो नाका चलाउन सकिँदैन भनेर चिनियाँ पक्षसँग कुराकानी अघि बढेको छ । बाटो सहज नभएपछि सामान समयमा आइपुग्दैन, टुट्ने–फुट्ने र बिग्रिने जोखिम सँगसँगै लागत पनि बढेको छ ।’
व्यवसायीहरुका अनुसार बेनी–जोमसोम–कोरला सडक खण्डमध्ये बेनी–लेते खण्ड जोखियुक्त रहेको र हरेक पटकको वर्षाले यहीँ खण्ड बिगार्दा असहजता भोग्नु परिरहेको छ । ४० किलोमिटरभन्दा लामो खण्ड जोखिमयुक्त रहेको व्यवसायीहरुको भनाइ छ । यस्तो बाटोबाट नयाँ गाडी गुडाएरै ल्याउनुपर्दा टायर लगायतका बाहिरी पार्टस् बिग्रिने समस्या देखिने गरेको छ । कतिपय स्थानमा गाडी फसेर बाटो नै अवरुद्द हुने समस्या पनि देखिने गरेको छ ।
साथै, उचाईमा अवस्थित नाका भएकाले हिउँदमा हिमपातका कारण नाका सञ्चालनमा कठिनाई देखिएको छ । अर्नब नामक चक्रवातका कारण शुक्रबार र शनिबार पनि कोरला आसपास हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो । ‘हिउँ पर्दा मान्छे बस्न सक्ने सम्भावना हुँदैन, त्यसपछि नाका कसरी चल्छ होला र ?’ हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्की प्रश्न गर्छन् ।
ढुवानी भाडा पनि महँगो
गाडीबाहेक कोरला नाकाबाट अहिले तयारी कपडा, जुत्ताचप्पल, फलफूल, इलेक्ट्रोनिक्स सामानलगायत आयात हुँदै आएको छ । तर, ढुवानी भाडा महँगो हुँदा त्यसको असर उपभोक्तासम्म पुगेको छ । हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीका अनुसार अहिले कोरलाबाट काठमाडौँ सम्मको ढुवानी भाडा प्रतिकन्टेनर ४ लाख रुपैयाँ छ । यो भाडा रसुवा–काठमाडौँको तुलनामा तेब्बरले बढी हो ।
साथै, कोरलाबाट छुटेको सामान काठमाडौँ आइपुग्न पनि ८/९ दिन लाग्ने उनको भनाइ छ । ‘समय बढी लाग्यो, ढुवानी भाडा पनि बढी लाग्यो’ कार्की भन्छन्, ‘यसको सिँधा असर उपभोक्तामा परेको छ ।’










