ईभीमय देखिएको नेपाली अटोबजार हुण्डाईको बहुप्रतिक्षित विद्युतीय एसयुभी ‘क्रेटा ईभी’को व्यघ्र प्रतिक्षामा छ । भारतमा सार्वजनिक भएदेखि नै नेपाली अटोबजार क्रेटा ईभीको पर्खाइमा देखिएको छ । अब यो प्रतिक्षाको घडी पन्छाउँदै हुण्डाईका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले चाँडै ‘क्रेटा ईभी’ नेपाल ल्याउँदैछ ।
कम्पनीका अनुसार अहिले नै ग्राहकहरुले क्रेटा ईभीबारे अधिक चासो देखाइरहेका छन् । लक्ष्मी हुण्डाईका महाप्रबन्धक दीपक थपलियाका अनुसार क्रेटा ईभी ढिलोमा पनि मार्च दोस्रो हप्तासम्ममा नेपाल आइसक्नेछ । बिजनेश पानाले ‘क्रेटा ईभी’को विशेषता र यसका लागि आवश्यक पूर्वाधारमा कम्पनीले गरिरहेको तयारीमा केन्द्रित रहेर महाप्रबन्धक थपलियासँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
क्रेटा ईभी फेब्रुअरीमा नेपाल आइपुग्छ भन्ने थियो, नेपाली उपभोक्ताले कहिलेसम्म देख्न पाउँछन् ?
हामीले भारतमा क्रेटा ईभी लन्च भएपछि नेपालमा पनि ल्याउने तयारी अघि बढाएका थियौँ । फेब्रुअरी भित्रमा ल्याउने प्रयास थियो । भारतमा निकै धेरै माग आएको छ, छोटो समयमै धेरै माग आएपछि सेल्स रेकर्ड नै कायम भएको छ ।
हामीले यसका उपलब्ध रेन्ज भेराइटीका हिसाबले पनि उपलब्ध सबै अप्सनहरु ल्याउने कोशिस गरेका छौँ । दुई वटै ब्याट्री प्याकमा ल्याउनका लागि हामीले ‘वर्कआउट’ गरेका छौँ, ढिलोमा पनि मार्चको पहिलो वा दोस्रो हप्ताभित्र क्रेटा ईभी नेपाल आइपुग्छ ।
तपाई आफूले यो गाडी हेरिसक्नुभएको होला, कस्तो पाउनु भएको छ ?
मैले आफूले क्रेटा ईभी हेरिसकेको छु । चेन्नईमै पनि गएर हेरेका छौँ । यो ईभी २ वटा ब्याट्री प्याकमा उपलब्ध हुँदैछ, यसले नेपाली उपभोक्ता र ईभी खरिद गर्न चाहने ग्राहकहरुको मन जित्नेछ भन्ने विश्वास लिएका छौँ ।
यसका विशेषताहरु चाहिँ के के छन् ?
क्रेटा आईसी इन्जिनमा पनि नेपालमा सफल गाडी हो । ईभीमा कहिले आउँछ भन्ने कौतुहलता सबैमा थियो । यसैलाई मध्यनजर गरेर भारतमा लन्च हुनासाथ हामीले नेपालमा ल्याउन लागेका हौँ । धेरै कारणहरुले क्रेटा ईभी नेपालका लागि सुहाउँदो छ भन्ने लाग्छ ।
पहिलो कुरा, यो भारतमा बन्ने गाडी हो । यो नै हाम्रा लागि फाइदाको कुरा हो । सँगै, यसको ब्याट्रीसहित ९० प्रतिशत पार्टस् भारतमै बन्ने भएकाले हामीले त्यहीँबाट ल्याउने हो, तेस्रो देशबाट आयात गर्नुपर्ने बाध्यता पर्दैन ।
अर्को कुरा, ग्राउन्ड क्लियरेन्स, रेन्ज जस्ता कुराहरुमा पनि बढी चासो हुन्छ । क्रेटा ईभीमा २ सय एमएमको ग्राउन्ड क्लियरेन्स हुन्छ । यसको अर्थ यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि जान सक्छ । अर्को कुरा, ग्राउन्ड क्लियरेन्स मात्रै होइन की, यसमा ब्रेक ओभर एङ्गल १७ डिग्रीभन्दा माथि छ । जसका कारण ब्याट्री थप सुरक्षित हुन्छ ।
४२ किलोवाट आवर क्षमताको ब्याट्री एनएमसी ब्याट्री हुन्छ । नेपालको बाटोमा यसले थोरैमा पनि ३२० किलोमिटर भन्दा माथिको रेन्ज दिन्छ । गाडीमै फुल साइजको स्पेयर टायर पनि दिइएको छ । पन्चर भइहाल्यो भने पनि समस्या भएन ।

गाडीले ११ किलोवाट बराबर इन्टेक गर्न सक्छ । सामान्यतया, अरु ईभीले ४/५ किलोवाट मात्र इन्टेक गर्न सक्छन्, तर क्रेटा ईभी आफ्नै घरमा एसी चार्जरबाट चार्ज गर्दा पनि ४ घण्टामा फुलचार्ज हुन सक्छ । गाडीमा डुअल जोन एसी छ ।
५०/६० प्रतिशत कम्पोनेन्ट आईसी इन्जिनसँगै मिल्छ । स्पेयर पार्टस पनि सहजै उपलब्ध हुन्छन् । मुख्य कुरा, हुण्डाईको आफ्नै गुडवील छ । उत्पादकले आफ्नो प्रतिष्ठालाई कायम राख्न कुनै कसर बाँकी राख्दैन, क्रेटामा पनि यो देख्न पाइन्छ । यस्ता धेरै फिचर्सहरुले क्रेटा ईभीलाई मजबुत र सुरक्षित बनाएको छ ।
नेपाल आइपुग्दा क्रेटा ईभीको मूल्य कति कायम होला ?
भारतमा १७ लाख ९९ हजार भारुबाट यसको मूल्य सुरु छ । भन्सार, कर जस्ता राजस्व र ढुवानी लगायत शीर्षकमा हुने खर्च जोडेर मूल्य निर्धारण हुन्छ । तर, अन्य ईभीको भन्दा माथि जाँदैन भन्ने नै देखिन्छ ।
फिचर्स र मूल्य दूबैमा क्रेटा ईभी नेपाली ग्राहक र अटोमोबाइल्स प्रेमीहरुका लागि बेटर अप्सन र बेटर च्वाईस हुन्छ भन्ने विश्वास छ ।
नेपालमा ईभीको बजार अस्वभाविक रुपमा बढिरहेको देखिन्छ, यसमा के कारण देख्नुहुन्छ ?
सन् २०२४ मा आयात भएका १४ हजार गाडीहरुको हिस्सा हेर्ने हो भने ७४ प्रतिशत ईभी र बाँकी २६ प्रतिशत आईसी इन्जिनका गाडीहरु आयात भएका छन् । चीन ईभीको ठूलो उत्पादक हुँदाहुँदै पनि ३०/३५ प्रतिशतमा मात्रै छ, भारतमा पनि ईभीको उपस्थिति ५ प्रतिशत मात्रै छ । दक्षिण एसियामै कमजोर छ, तर नेपालमा निकै माथि छ ।
नेपालमा चाहिँ के कुराले ईभीको बजार यसरी बढ्यो भन्ने कुरा पहिला थाहा पाउनु जरुरी छ । अहिले जसरी ईभी आइरहेका छन्, हाम्रो देशको आर्थिक वृद्धिदर बढी भएर मानिसहरुको क्रयशक्ति बढेर होइन । मुलुकको आर्थिक वृद्धिदर औसत पनि छैन, चार प्रतिशतको वरीपरी छ । बिजनेश म्यान, बैंक जोसँग कुरा गर्दा पनि अर्थतन्त्र शिथिलताकै कुरा गरिरहेका छन् ।
तर, ईभीको बजार चाहिँ किन यसरी बढिरहेको छ भन्दा सरकारले सहुलियत दिएकै कारण किन्नेहरु बढेका हुन् । संख्यात्मक रुपमा ईभी धेरै भित्रिएको देखिएपनि जसले आईसी इन्जिनको गाडी चढिरहनु भएको थियो, उहाँहरुले ईभी चेन्ज गर्नुभएको मात्रै हो । सरकारले २६० प्रतिशत कर लिँदै आएको वस्तुमा ४०/५० प्रतिशत मात्रै कर लिने भएपछि मूल्यका दृष्टिले पनि सस्तो हुन गयो ।
ईभीको पनि आईसी इन्जिन सरह भन्सार, कर लाग्ने हो भने ईभी अहिले जुन गतिमा बिक्री भइरहेको छ, यो रोकिन्छ । मुख्य कुरा प्राइस सस्तो भएरै बजार बढेको हो, तर सोही अनुसारको पूर्वाधार तयार पनि हुन्थ्यो भने अझ राम्रो हुन्थ्यो ।
अहिले ईभीको बिक्री मात्रै भइरहेको छ, ‘आफ्टर सेल्स सर्भिस’ र पूर्वाधारमा कमजोरी देखिँदैछ भन्ने पनि सुनिन्छ । यसमा लक्ष्मी हुण्डाईले के गरिरहेको छ ?
सरकारले डिजेल पेट्रोलमा ठूलो पैसा बाहिरियो, अब आफ्नै देशमा उत्पादन भएको बिजुलीको खपत बढाउनुपर्छ भनेर ईभीमा सहुलियत दिएको देखिन्छ । जसका कारण ईभीको आयात निकै बढ्यो तर, अन्य पूर्वाधारको विकासमा जति फड्को मार्नुपर्ने थियो, त्यति भएको देखिँदैन ।
कक्षा १० को परीक्षा दिनलाई पहिला कक्षा ९ उत्तीर्ण हुनुपर्यो नि, ७, ८, ९ नपढी सिँधै कक्षा १० को परीक्षा दिन लगाउने हो भने त्यो विद्यार्थीले के लेख्छ ? ईभीसँग सम्बन्धित पूर्वाधारको हकमा घरमा पाहुना बोलाउने तर, पाहुना आइसकेपछि प्याज किन्न हिड्ने जस्तो अवस्था देखिएको छ ।
चार्ज गर्न हाम्रो घरको वायरिङ सिस्टम राम्रो छैन, चार्जिङ नेटवर्कमा पनि सहज पहुँच छैन, हाम्रा सडकहरु ईभीमैत्री छैनन्, हाम्रा ग्राहकहरु पनि परम्परागत रुपमा ग्यारेजमा लगेर गाडी बनाउने अभ्यासबाट आउनु भएको छ । यसर्थ जहिल्यै पनि हुण्डाईले ‘मोबिलिटीको सोलुसन’लाई ध्यान दिने गरेको छ । माथि मैले भनेका समस्याहरु उपभोक्ताले फेस गर्नुनपरोस् भनेर हामीले पूर्वाधारमा ध्यान दिएका छौँ ।
अहिले पनि हामी मासिक ६ हजारका दरले वर्षमा ७२ हजार ग्राहकलाई सर्भिस सेवा दिँदै आएका छौँ । २० वटा ‘सर्भिस टच प्वाइन्ट’ छन्, हामीसँग भएका जनशक्तिमध्ये ७५ प्रतिशत जनशक्ति ईभीमा काम गर्न सक्षम र योग्य छन् । १५ प्रतिशत त विज्ञ सरहकै छन् ।
हुण्डाईले देशका ४५ ठाउँमा चार्जिङ स्टेशन नै बनाइसकेको छ । चार्जिङ स्टेशनसँगै सर्भिस सेन्टर पनि राख्ने गरि ‘चार्ज सप’को नयाँ मोडल अनुसार ५ वटा चार्ज सप बनाउँदैछौँ । डुम्रे, कुरिनटार, चुम्लिङटार र बिपी राजमार्गमा ‘चार्ज सप’ राख्दैछैँ । यी प्वाइन्टबाट प्राविधिक सर्भिस र चार्जिङ सेवा उपलब्ध हुन्छ ।
हामीले एउटा इमर्जेन्सी भ्यान पनि राख्दैछौँ । यो चाहिँ ब्याकअप चार्जिङ प्वाइन्ट र प्राविधिक टिमसहितको रेस्क्यु सेवा जस्तो हो । २० वटा डीसी चार्जर थप्दैछौँ । यसकारण हामीले ‘मास सेल’का लागि ईभी नल्याउँदै पूर्व तयारी गरेका छौँ ।
नेपालको अटो बजार ईभीमय भइसक्दा पनि हुण्डाईले ईभी भित्र्याउन ढिलो गरेको हो ?
हामीले ईभी नल्याएका होइनौँ, प्रिमीयम र लक्जरियस ब्राण्ड ल्याएर सफलतापूर्वक बिक्री गरिरहेका छौँ । आयोनिक–५ का दुई भर्सन र कोनाका दुई भर्सन ल्याएर बिक्री गरिरहेका छौँ ।
हुण्डाईले जहिल्यै पनि एउटा प्रोडक्ट ल्याएर त्यसमा आकिर्षत गर्नुपर्छ भन्ने भन्दा पनि ‘मोबिलिटी’कै ‘सोलुसन’मा ध्यान दिँदै आएको छ । आज ५ वर्षपछि हामी कमर्सियल रुपमा ‘मास मार्केट’मा जान सक्ने पूर्वाधार, जनशक्ति र नेटवर्क बनाएपछि बल्ल हामी यसतर्फ जाँदैछौँ ।
अन्तिममा, क्रेटा ईभी ‘मास सेल’का लागि ल्याउँदै गर्दा गाडीमा भएका सुरक्षाका फिचर्सबाहेक ब्याट्री सेटलमेन्ट जस्ता कुराहरुमा लक्ष्मी इन्टरकन्टिनेन्टलले के सोचेको छ ?
ईभीमा सबैभन्दा महँगो भनेकै ब्याट्री हो, फेर्नुपर्यो भने गाडीको मूल्यको ५० प्रतिशत जस्तो त ब्याट्रीकै पर्छ । त्यहीँ ब्याट्री प्याक गाडीको सबैभन्दा तल हुन्छ, ठोक्कियो भने बिग्रिन्छ भन्ने डर हुन्छ ।
अब क्रेटा ईभीको हकमा कुरा गर्दा हुण्डाईले जहिल्यै पनि ‘बिजनेश टू बिजनेश’ भन्दा पन ‘बिजनेश टू कन्ज्यूमर’लाई प्राथमिकता दिँदै आएको छ । यसै सन्दर्भमा हामीले कथमकदाचित ब्याट्री बिग्रियो भने त्यसको पनि आउनुपर्ने जति भ्यालू ग्राहकले पाउनुपर्छ भनेर भारतीय कम्पनीसँग सम्झौता गर्दैछौँ । गाडीको ब्याट्री बिग्रियो भने त्यो बिग्रिएको ब्याट्रीको मूल्य शून्य नै हो त ? होइन । बिग्रेको ब्याट्रीमा भएका विभिन्न पदार्थहरु मूल्यवान हुन्छन् । यदि ब्याट्री फेर्नुपर्ने अवस्थामा पूरानो ब्याट्रीको पनि अलिकति मूल्य आयो भने ग्राहकलाई सजिलो हुन्छ नि ! पूरानो ब्याट्रीको मूल्य ४ लाख, ५ लाख आयो भने नयाँ ब्याट्री राख्न अलिकति भएपनि राहत मिल्छ । हामीले यो सोचेर एउटा भारतीय कम्पनीसँग सहकार्य गर्दैछौँ, कुराकानी अन्तिम चरणमा पुगेको छ, मूल्य निर्धारणको मापदण्डमा छलफल भइरहेको छ ।