यस वर्षको तिहार अन्तर्गत आज लक्ष्मी पूजा परेको छ । आज साँझ देशभरी लक्ष्मी पूजाका क्रममा झिलिमिली बत्ती बालिने भएकाले बिजुलीको उच्चतम् माग हुने गर्दछ ।
नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ विद्युतको उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरेको छ । प्राधिकरणले विगतका वर्षहरुको तुलनामा यसवर्ष लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने प्रक्षेपण गरेको हो । गत वर्षको लक्ष्मीपूजाका दिन विद्युत माग १ हजार ६५० मेगावाट थियो ।
पछिल्ला वर्षहरुमा दियो वा मैनबत्ती बाल्ने क्रम विस्तारै घट्दै गएको छ भने घर, कार्यालय तथा सार्वजनिक स्थानमा विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढ्दो छ । जसका कारण यसवर्ष लक्ष्मीपूजाको साँझ विद्युतको खपत बढेर १७ सय मेगावाट पुग्ने अनुमान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।
यो माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने उनको भनाइ छ । आजको विद्युत उत्पादन क्षमता करिब २ हजार ५ सय मेगावाट रहने बताइएको छ ।
प्राधिकरणले आज विद्युत आपूर्तिमा समस्या आउन नदिन उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त राखिएको जनाएको छ ।










