भर्खरै म नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका रुपमा नियुक्त भएको छु । निजी क्षेत्र र पर्यटनसँग सरोकार राख्ने संघ संस्था तथा निकायहरुको अहिले निकै ठूलो अपेक्षा देखिन्छ । कोभिड–१९ पश्चात सबैभन्दा छिटो रिकभर हुन्छ भनिएको क्षेत्र पर्यटन भएपनि नेपालको हकमा अझै हामी कोभिड अगाडीको अवस्थामा फर्किन सकेका छैनौँ । त्यहीँ भएर पनि निजी क्षेत्र र पर्यटन सम्वद्ध निकायहरुले अहिले ठूलो अपेक्षा देखिन्छ ।
पर्यटन बोर्ड आफैँमा पनि सार्वजनिक–निजी साझेदारीको अवधारणा बमोजिम स्थापित संस्था हो । नेपाली गन्तव्यहरुको सुन्दरता र विशेषताको अन्तराष्ट्रिय स्तरसम्म प्रचार गर्ने महत्वपूर्ण जिम्मेवारी यस संस्थाको हो । तर, पछिल्लो समय अन्तराष्ट्रिय प्रवद्र्धनका कार्यक्रमहरु, निजी क्षेत्रसँगको सहकार्य त्यति प्रभावकारी भइरहेको रहेनछ । यसकारणले पनि अहिले पर्यटन क्षेत्रको ठूलो अपेक्षा छ ।
यो अपेक्षाका बीचमा चुनौतिहरु पनि छन् । खासगरी गन्तव्यसम्मको पहुँच, पूर्वाधारको अवस्था जस्ता चिजहरुको चुनौति छ । चुनौतिलाई एक खालको अवसर र उत्प्रेरणाका रुपमा लिएर काम गर्ने योजना बनाएको छु ।
प्रमुख कार्यकारीको अवधि ४ वर्षको हुन्छ । ४ वर्षमध्ये पहिलो वर्षलाई पर्यटन क्षेत्रलाई कोभिड अगाडीको अवस्थामा कसरी फर्काउन सकिन्छ भन्ने योजना बनाएर त्यस अनुसार काम गर्ने तयारी अघि बढाएको छु । सन् २०२३ को तथ्याङ्क हामीले हेर्ने हो भने पनि कोभिड अगाडीको भन्दा पर्यटक आगमन १४ प्रतिशतले अझै कम छ । यसपालीकै अगष्ट महिनाको तथ्याङ्क हेर्दा पनि २३ प्रतिशतले कम छ । जबकी, अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने ९२ प्रतिशत रिकभर भइसकेको अवस्था छ । हामी जस्ता प्राकृतिक गन्तव्य बढी भएका (नेचर बेश डेस्टिनेशन) मुलुकहरुले कोभिडभन्दा अगाडीको अवस्थामा फर्किसकेर पनि २५ प्रतिशत, २० प्रतिशत ‘ग्रोथ’ गरिसकेका छन् । यस हिसाबले मेरो पहिलो वर्षको प्राथमिकतामा सकेसम्म हामी यसवर्ष कोभिड अगाडीको फर्किने गरी काम गर्ने भन्ने छ । त्यसपछि हामी यसलाई विस्तार गर्दै जानेछौँ ।
पर्यटन भनेको ‘आइशोलेशन’मा बसेर विकसित हुन सक्दैन । पर्यटन बोर्डमार्फत दुइ वटा मुख्य भूमीका निर्वाह गर्ने सोच बनाएको छु । एउटा, मुख्य सरोकारवालासँग समन्वय बढाउने । यसमा अध्यागमन विभाग जस्ता निकायहरु पर्छन् । हामी ई–भिसामा अझै अभ्यस्त भइसकेका छैनौँ, यसमा सहजीकरण गर्नुपर्नेछ ।
परराष्ट्र मन्त्रालयअन्तर्गत थुप्रै देशहरुमा दूतावास छन्, कुटनीतिक नियोगहरु छन् । विभिन्न देशका महावाणिज्य दूतहरु हुनुहुन्छ । उहाँहरुसँग प्रभावकारी समन्वय र सहकार्य गरेर स्रोत बजारहरुमा नेपालबारे विशिष्ट र सकारात्मक सन्देश फैलाउनेछौँ ।
यसैगरी हाम्रा पूर्वाधारहरुको विकास भएपनि सञ्चालन हुन सकेका छैनन् । खासगरी, पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल बनेपनि सञ्चालन हुन सकेका छैनन् । यसका लागि पनि कुटनीतिक पहल गर्ने मामिलामा सरकारलाई सहयोग गर्नुपर्नेछ ।
यस्तै, हाम्रो हवाई भाडा नै महँगो हुँदा पनि असहज बनिरहेको अवस्था छ । यी चिजहरुमा के कसरी सहजीकरण गर्न सकिन्छ र सकारात्मक भूमीका खेल्न सकिन्छ भनेर बोर्डका साथीहरु, पर्यटन सम्वद्ध सरोकार राख्ने संघ संस्थासँग बसेर योजना बनाएर जाने तयारी गरिरहेको छु ।
दोस्रो कुरा, पर्यटन बोर्ड आफैँले नेतृत्व लिएर नयाँ ढङ्गले स्रोत बजारमा प्रचार गर्ने । विगतदेखि हामीले हेर्ने हो भने नेपाल भन्ने वित्तिक्कै पर्वतीय र साहसिक गतिविधिका लागि स्थापित छ । पछिल्लो अवस्थामा संसारको पर्यटन विस्तारित भइरहेको छ । ‘एक्सपियरेन्स टुरिजम’का रुपमा संसारको पर्यटन विस्तार भइरहेको छ । यस हिसाबमा हामीले ‘लाइफटाइम एक्सपियरेन्स’को थिममा नेपाललाई प्रचारित गर्ने र त्यस अनुसारका ‘प्रोडक्ट’को विकास गर्ने गरी काम गर्नुपर्नेछ ।
नेपालको ‘वाइल्ड लाइफ’, नेपालको ‘फूड’, नेपालका चाडपर्वहरु, सांस्कृति सम्पदा र समुदाय नै पिच्छेका फरक फरक संस्कृति र परम्पराहरु, वेलनेश टुरिजम लगायतमा चिजको प्रचार गर्ने योजना बनाउँदैछौँ । नेपाल आउँदा जीवनमा कहिल्यै भुल्न नसकिने कम्तीमा यस्ता २५ वटा यस्ता चिजहरुको ‘लाइफटाइम एक्सपियरेन्स’ पाइन्छ है भनेर प्रचार गर्ने तयारी हामी गर्दैछौँ । यीमध्ये केही अहिले पनि भइरहेको छ, यसमा बाँकी थप गर्दै जानेछौँ ।
यसका लागि हामीले निजी क्षेत्रलाई यी प्याकेजहरु बिक्री गर्न उत्प्रेरित गर्ने र ति प्याकेजहरुलाई पर्यटन बोर्डमार्फत स्रोत बजारमा प्रचारित गरिने नीति लिने योजना बनाउँदैछौँ ।
सरकाले यस आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ । यस आर्थिक वर्षबाटै १६औँ पञ्चवर्षीय योजना पनि कार्यान्वयनमा आएको छ । १६औँ योजनाले आगामी ५ वर्षमा वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले पनि अबको ४ वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने योजना बनाएर काम गर्नेछ ।
केवल पर्यटकको संख्या बढाउने भन्दा पनि खर्चालु पर्यटक ल्याउने र उनीहरुलाई बढी भन्दा बढी समय नेपालमा राख्ने वातावरण कसरी बनाउन सकिन्छ भन्नेमा हामी योजनावद्ध रुपमा काम गर्नेछौँ । अहिले प्रतिपर्यटक प्रतिदिन खर्च ४० डलर छ, ४ वर्षमा यसलाई बढाएर प्रतिपर्यटक प्रतिदिन खर्च ८५ डलरसम्म पुर्याउने योजनाका साथ काम गर्दैछौँ । संख्या त चाहिन्छ नै, सँगै संख्याभन्दा पनि बढी हामीले ध्यान दिनुपर्ने विषय चाहिँ ‘क्वालिटी टुरिजम’मा हो । यसको अर्थ पर्यटकले बढी भन्दा बढी खर्च गर्ने वातावरण सिर्जना गर्ने भन्ने हो । पर्यटनमार्फत मुलुकलाई उल्लेख्य आम्दानी दिलाउने विषय नै बोर्डको प्राथमिकतामा छ । यसका लागि जहाँ जसरी जोडिनुपर्ने हो हामी जोडिँदै जान्छौँ ।
अहिले प्रादेशिक सरकारहरु पनि छन् । प्रदेश सरकारले पनि पर्यटनलाई प्राथमिकतामा राखेका छन्, उनीहरुसँग पनि सहकार्य गर्दै गन्तव्यहरुको पहिचान र प्रचारमा हातेमालो गर्दै जानेछौँ ।
(नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँगको कुराकानीमा आधारित)













