फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री नभएकोले भारतीय दर्शकहरूले विश्वकपका खेलहरू आधिकारिक टेलिभिजन वा डिजिटल प्लेटफर्ममा प्रत्यक्ष हेर्न नपाउने देखिएको छ। विश्वकप जुन ११, २०२६ मा सुरु हुँदैछ तर दुई महिना मात्र बाँकी रहँदा पनि भारतमा कुनै प्रसारकले अधिकार खरिद गरेको छैन।
फिफाले २०२६ र २०३० विश्वकपको संयुक्त प्रसारण अधिकारका लागि सुरुमा १०० मिलियन अमेरिकी डलर मागेको थियो। तर भारतीय प्रसारकहरूको चासो नदेखिएपछि मूल्य घटाएर ३५ मिलियन डलरमा झारियो। जियोस्टार (Viacom18) जस्ता ठूला निजी कम्पनीहरूले पनि यो प्रस्ताव अस्वीकार गरेका छन्। अब सरकारको स्वामित्वमा रहेको Prasar Bharati (दूरदर्शन) ले मात्र अन्तिम विकल्पका रूपमा छलफल गरिरहेको छ तर कुनै आधिकारिक सम्झौता भएको छैन।
किन भारतीय प्रसारकहरूले अधिकार लिन मानेनन् ?
खेलको समय अनुकूल नहुने: विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुँदा भारत समयअनुसार अधिकांश खेल मध्यराति १२ बजेदेखि बिहान ९ बजेसम्म पर्नेछन्। यसले दर्शक संख्या घटाउने र विज्ञापन आम्दानीमा ठूलो असर पार्ने अनुमान छ।
व्यावसायिक घाटाको जोखिम: फुटबलमा क्रिकेट जस्तो धेरै विज्ञापन ब्रेक हुँदैन र भारतमा फुटबलको लोकप्रियता अझै क्रिकेटको तुलनामा कम छ।
लगानी फिर्तीको डर: २०२२ को विश्वकपका लागि ६२ मिलियन डलर तिरेको Viacom18 ले पनि अहिले २५ मिलियन डलर भन्दा बढी तिर्न तयार देखिएको छैन।
के विकल्प छन् ?
आधिकारिक प्रसारण नभएमा भारतीय दर्शकहरूले अवैध स्ट्रिमिङ वेबसाइट, युट्युब हाइलाइट्स वा सोसल मिडिया अपडेटमा भर पर्नुपर्ने हुन्छ। केही शहरहरूमा फ्यान जोन वा पबहरूमा सामूहिक रूपमा हेर्न सकिनेछ तर यो कानुनी रूपमा जोखिमपूर्ण र गुणस्तरहीन हुन सक्छ। फिफाले अन्तिम समयमा Prasar Bharati सँग सम्झौता गरेमा मात्र आधिकारिक प्रसारण सम्भव हुने देखिन्छ।
निजी कम्पनीहरूले नाफा हेर्छन् भने Prasar Bharati ले जनसेवा र सार्वजनिक पहुँच लाई प्राथमिकता दिन्छ। यदि Prasar Bharati ले अधिकार किन्छ भने भारतीय फुटबल प्रेमीहरूले आधिकारिक र नि:शुल्क रूपमा विश्वकप हेर्न सक्नेछन् (DD Sports वा Prasar Bharati को WAVES OTT मार्फत)। तर अझै कुनै आधिकारिक सम्झौता भएको छैन — यो केवल छलफलको चरणमा छ।
नेपालमा के हुन्छ ?
नेपालमा भने फिफा विश्वकप २०२६ को प्रसारण अधिकार Acepro Media ले प्राप्त गरिसकेको छ। यो कम्पनी मिडिया हबको सहयक कम्पनी हो। अब Acepro Media ले तोकेको च्यानलमार्फत नेपाली दर्शकहरूले सबै खेलहरू निर्धारित समयमा प्रत्यक्ष हेर्न सक्नेछन्। नेपाल दक्षिण एसियाली देशहरू मध्ये यो अधिकार छिट्टै किन्ने मध्ये एक बनेको छ। यस अघिको विश्वकप पनि नेपालमा Acepro Media मार्फत प्रसारण भएको थियो । जसमा विश्वकपका खेलहरु हिमालयन टिभी मार्फत प्रसारण भएको थियो। तर दर्शकबाट शुल्क लिएपछि विवादित भएको थियो। यस पटक कुन मोडलमा विश्वकपका खेल प्रसारण हुन्छ भन्ने प्रष्ट छैन ।













