Saturday, May 9, 2026
spot_img

युरोपका ४० देशले नेपाली कामदार खोजेका छन्, तर दूतावासका कारण पठाउन सकिएको छैन (अन्तरवार्ता)

spot_img
spot_img

नेपालीहरुका लागि बैदेशिक रोजगारी अत्यावश्यक बनिरहेको छ । पछिल्लो समय मान्छेहरुले बैदेशिक रोजगारीलाई युवाहरुको रहर भन्ने गरेपनि यो बाध्यता बन्न पुगेको सत्य हो । आजभन्दा दशक अगाडीसम्म लेखपढ नभएका, सीप नभएका र कुनै क्षेत्रको विशेषज्ञ क्षमता नभएकाहरु मात्रै विदेश जान्छन् भन्ने गरिन्थ्यो भने अहिले पढेलेखेका शिक्षित युवा जमातहरुको पनि विदेश पलायन बढिरहेको छ ।

सँगै, नेपालीहरुको परम्परागत श्रम गन्तव्य खाडीका देशबाट अब क्रमश: अन्यत्र ‘सिफ्ट’ हुने क्रम पनि बढिरहेको छ । नेपाल सरकारले नै नयाँ नयाँ श्रम गन्तव्यको खोजीका लागि युरोपेली देशसँग श्रम सम्झौता गर्ने कार्यलाई अघि बढाएको छ । खासगरि मानव अधिकार, उच्च पारिश्रमिक, राम्रो अर्थतन्त्र भएका देशलाई नेपाली युवाहरुले पछिल्लो समय आफ्नो श्रम गन्तव्य बनाइरहेका छन् ।

हामीले नेपालको बैदेशिक रोजगारीको हालको अवस्था, बदलिँदो ‘ट्रेण्ड’ र नयाँ नयाँ श्रम गन्तव्यको पहिचानका विषयमा केन्द्रित रहेर नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजनेन्द्र भण्डारीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

कोभिड लगत्तैको आर्थिक मन्दी, विश्वका विभिन्न भेगमा भएका युद्धका असरहरुले बैदेशिक रोजगारीको ट्रेण्डलाई केहीहदसम्म असर पार्‍यो भन्ने आम बुझाई छ । अहिले नेपाली श्रमिकहरुको ट्रेण्ड कस्तो छ ?

बैदेशिक रोजगार ऐन २०४२ आएपछि २०४८–२०५० तिरबाट नेपालीहरु रोजगारीका लागि विदेश जाने क्रम सुरु भयो । त्यतिबेला मान्छेहरु थोरै मात्रै विदेश जान्थे । २०५२ सालपछि भने विदेश जानको संख्या अलि बढ्न गयो ।

यसक्रममा २०६२/०६३ मा मुलुकमा ठूलो परिवर्तनको आन्दोलन भयो, उक्त आन्दोलन पश्चात नयाँ संविधानसभा आउँछ, शासन व्यवस्था परिवर्तन हुन्छ र मान्छेहरु बिदेशिने क्रम कम हन्छ भन्ने अनुमान थियो । तर, यस्तो अनुमानको ठिक विपरित विदेशिनेको संख्या झन बढ्यो ।

यसपछि संविधान बनेर एक खालको स्थायित्व कायम भएपछि बिदेशिनेको संख्या कम हुन्छ भन्ने गरिन्थ्यो । तर, २०७२ सालमा संविधान बनेपछि पनि बिदेशिनेको संख्या बढ्ने क्रम रोकिएन । हरेक वर्ष साढे ४ लाखदेखि ५ लाख नयाँ मान्छेहरु ९एक पटक गएर फर्किएको नभई पहिलोपटक जाने० बिदेश जाने क्रम छ । वर्षमा ७ लाख, ८ लाख जना मान्छे बिदेशिएको देखिन्छ, यो भनेको एकपटक गएर बिदामा आएर फेरि जाने समेतको रेकर्ड हो ।

आर्थिक वर्ष २०७९/०८०मा ७ लाख ७१ हजार जना मानिस बिदेश गएका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख ३५ हजार मान्छे बिदेशिएका छन् । ७ लाख ३५ हजारमध्ये २ लाख ८१ हजार चाहिँ बिदामा आएर फर्किएका मान्छे छन् । बाँकी ४ लाख ६० हजार नयाँ मान्छे गएका छन् । यसमध्ये ९५ हजार जना व्यक्तिगत रुपमा गएका छन् ।

यसर्थ, अहिलेको बैदेशिक रोजगारीको ट्रेण्ड हेर्ने हो भने आकर्षण बढ्दो छ । यसका पछाडी केही कारणहरु छन् । जस्तो: यहाँ न्यूनतम् ज्याला १७ हजार छ, अलिकति लगानी गरेर ३ घण्टा उडेर गएपछि यसको ३ गुणा बढी न्यूनतम् पारिश्रमिक हुन्छ । मासिक ४५ हजार हाराहारी त न्यूनतम् पारिश्रमिक नै हुने भएकाले यसले पनि मान्छेलाई वैदेशिक रोजगारप्रति आकर्षित गरेको छ । अर्को कुरा, विदेशमा ओभरटाइमको अभ्यास हुन्छ, हाम्रोमा त्यो खासै हुँदैन ।

विश्व आर्थिक मन्दीको असरले रोजगारीको संख्याका कटौती हुन थाल्यो, नयाँ श्रमिकको माग पनि कम हुन थाल्यो भन्ने सुनिन्छ । यसको प्रभाव हामीलाई कत्तिको परेको छ ?

विदेश गएका नेपालीमध्ये खाडीका देश र मलेसियामा ८० प्रतिशत छन् । खाडीका देश सम्पूर्ण कन्ट्रक्शनमा आधारित रोजगारी भएका देश हुन्, मलेसिया उत्पादनमा आधारित हो । विश्व आर्थिक मन्दीका कारण उत्पादनमा आधारित रोजगारी भएका देशमा श्रमिकको माग ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा घर बिदामा आएर फर्किएर जाने र नयाँ जाने गरेर मलेसिया जानेको संख्या २ लाख १५ हजार थियो भने गत आर्थिक वर्ष जम्मा ८१ हजारमा सिमित भएको छ । यो तथ्याङ्कले पनि कति असर गरेको छ भन्ने देखाउँछ ।

अर्को कुरा चाहिँ, खाडीका देशले हामीभन्दा अन्य देशबाट कामदार लैजाने क्रम बढिरहेको छ । भारत, पाकिस्तान, श्रृलङ्का, बंगलादेश जस्ता देशमा ठूलो जनसंख्या बेरोजगार छ, त्यहाँबाट खाडीले श्रमिक लैजाने क्रम बढ्दो क्रममा छ भने हाम्रो घट्दो क्रममा छ । हाम्रा ऐन, नियमहरुकै कारणले यस्तो भइरहेको छ । व्यवसायीले सिँधै माग ल्याएर कामदार लैजान पाइँदैन, मागपत्र दूतावासबाट प्रमाणिकरण गराउनुपर्छ । दूतावासले अनेकौँ झन्झट दिएर मागपत्र प्रमाणिकरण नै समयमा गरिदिँदैनन् । भारत, पाकिस्तान, श्रृलङ्का, बंगलादेश जस्ता देशबाट सम्बन्धि कम्पनीले कामदार माग गरेको ७ दिनमा मान्छे पाउँछ, हाम्रा दूतावासले मागपत्र प्रमाणिकरणमा १५ दिन लगाइदिन्छन् । कम्पनीले कामदार माग गरेको २ महिनामा पनि हाम्रो देशबाट मान्छे जान नसक्ने अवस्था छ । जसले चाँडो पठाउँछन् उनीहरुको बढ्ने भइहाल्यो ।

कोभिड १९ पछाडी विश्वभरी नै बेरोजगारी बढेको छ । पछिल्लो समय रुस–युक्रेन युद्धले पनि विश्वकै आर्थिक चक्रमा समस्या बनाएको छ । चीनबाहेक अरु देशको बेरोजगारी समस्या ठूलै छ । यसबाट सिर्जना भएको बेरोजगारीलाई हामीले यहीँ रोक्न सक्ने अवस्था छैन । विदेश जानैपर्ने, पठाउनैपर्ने बाध्यता छ ।

अर्को कुरा, अब विदेशमा विगतको जस्तो अदक्ष जनशिक्तको माग आफैँ घट्दैछ । हामीले दक्ष जनशक्ति तयार पार्नेमा पनि खासै ध्यान दिएको अवस्था छैन । सँगै, हाम्रा नीति नियम र ऐन कानुनहरु पनि झन्झटिला हुँदा समस्या परेको छ । रोजगारदातासँग पनि हामीले सुमधुर सम्बन्ध बनाउनभन्दा अनेक माग राखेर पटकपटक वार्ता, छलफल गर्नुपर्ने अवस्था निम्त्याउने काम गर्छौँ । यसले पनि प्रभाव पारेको छ ।

पूराना गन्तव्यबाट नेपालको वैदेशिक रोजगारी युरोपका देशमा ‘सिफ्ट’ हुँदैछ भनिन्छ । अहिलेकै अवस्थामा युरोपमा नेपाली कामदार पठाउन सकिने अवस्था छ कि छैन ?

अहिले पनि युरोपका देशमा नेपालीहरु गइरहेका छन् । त्यहाँ नेपाली कामदारको माग पनि राम्रो छ । तर, युरोपका देशमा रहेका हाम्रा नेपाली दूतावासहरुले मागपत्र प्रमाणिकरण गरिदिँदैनन् । हामीकहाँ आइपुगेको छैन भन्ने, कहिले कम्पनी हेर्न सक्दैनौँ भन्ने जस्ता अनेकौँ बाहनामा दूतावासले मागपत्र प्रमाणिकरण गरिदिएका छैनन् ।

युरोपका साना ठूला देशमध्ये ४० वटा देशबाट नेपाली कामदारको माग आएको छ । माल्टा लगायतका देश हेर्ने युके ९बेलायत० दूतावासले दुइ तीन हजारको संख्यामा मागपत्र प्रमाणिकरण गरिदिएको छ । जर्मनी दूतावासले ८/१० वटा देश हेर्छ, अष्ट्रियाको दूतावासले ८/१० वटा देश हेर्छ, तर यी दूतावासले मागपत्र नै प्रमाणिकरण गरिदिएका छैनन्, जहाँ ठूलो संख्यामा कामदारको माग छ ।

अब दूतावासले माग प्रमाणिकरण नगदिएपनि नेपालीहरु गइरहेका छन्, तर बिचौलियाको माध्यमबाट मोटो रकम खर्च गरेर जानु परिरहेको छ । भारत हुँदै वा नेपालबाट दुबईसम्म भिजिट भिसामा लगेर त्यहाँबाट युरोप छिराउने काम बिचौलियाले अवैध तरिकाबाट गरिरहेका छन् । दूतावासले संस्थागत रुपमा कामदार लैजाने व्यवसायीहरुको मागपत्र प्रमाणिकरण नगरिदिँदा बिचौलियामार्फत मानव तस्करीको जोखिम बढेको छ । यो नै अहिलेको सबैभन्दा ठूलो चुनौति छ ।

केही समय अगाडी मागपत्र प्रमाणिकरण नगरिदिएको विषयमा सरकारले विभिन्न देशका राजदूतलाई बोलाएर छलफल गरेको थियो, त्यसपछि मागपत्र तत्काल प्रमाणिकरण गर्ने निर्णय पनि भएको थियो भनिन्छ । फेरि राजदूत वा दूतावासले सरकारको निर्देशन अवज्ञा गरेका हुन् ?

१७ देशका राजदूतलाई बोलाएर प्रधानमन्त्रीकै नेतृत्वमा दुइ दिनसम्म छलफल भएर ४७ बुँदे सुधारका योजनाहरु जारी गरिएको थियो । तर, दूतावासहरुले त्यो ४७ बुँदा कार्यान्वयन नै गरेनन् अर्थात् दूतावासहरुले मानेनन् । यदि त्यो कार्यान्वयन हुन्थ्यो भने धेरै कुरामा सहजीकरण हुन्थ्यो ।

अर्को कुरा, अहिले भिजिट भिसा यति बढेको छ कि, तिमध्ये अधिकांश युरोपका देशमा छिर्ने मनशायले भिजिट भिसामा दुबइ वा अरु कुनै देश गएको देखिन्छ ।

सँगै, व्यक्तिगत श्रम स्वीकृतिमा पनि समस्या छ । गत वर्ष मात्रै ९५ हजार मान्छेले व्यक्तिगत स्वीकृति लिएर विदेश गएका छन् । यदि कोही कसैको बुबा, आमा, काका विदेशमा छ र उनीहरु कार्यरत रहेको कम्पनीले नेपालमा रहेका सन्तानलाई भिसा दिएको अवस्थामा व्यक्तिगत श्रम स्वीकृति दिने भन्ने थियो । यसका लागि कम्पनीको ग्यारेन्टी चाहिन्थ्यो । तर, अहिले बिचौलियाले व्यक्तिगत श्रम स्वीकृति दिलाइदिने र मान्छे लैजाने काम भइरहेको छ । कम्पनीको कुनै भेरिफिकेशन बिना नै श्रम कार्यालय ताहचलले व्यक्तिगत श्रम स्वीकृति दिइरहेको छ ।

यस्तो भएपछि जोखिम कति हुन्छ ? दर्ता भएर धरौटी राखेर चलाइएका म्यानपावर कम्पनीभन्दा बाहिरबाट बिचौलियाले मान्छे जथाभावी पठाउँदा त उसले जति पनि पैसा लिने भयो । त्यसको न हिसाब हुन्छ, न कुनै प्रमाण हुन्छ, न त्यसरी जाने मान्छे भोली समस्यामा पर्दा कसैले जिम्मेवारी लिन्छ । यस्तो लथालिङ्ग तरिकाले अहिले बैदेशिक रोजगारीमा बेथिति मौलाएको छ । यसले भविष्यमा नेपालको छबि नै बिग्रने जोखिम बढेको छ । यसको कारक दूतावासहरु नै हुन् । दूतावासले सहजै माग प्रमाणिकरण गरिदिने हो भने यो जोखिम रहँदैन । मुख्य कुरा, व्यवसायीहरुलाई जिम्मेवार बनाउनुपर्‍यो, हामी जिम्मेवारी लिन तयार छौँ ।

अहिले हामी खाडीका देशबाट युरोपका देशमा सिफ्ट हुँदैछौँ, त्यहाँ कामदारको माग पनि राम्रो छ । म्यानपावर कम्पनीहरुले नयाँ नयाँ गन्तव्य खोजिरहेका पनि छन् । रोमानियामा नेपालीको संख्या २५ हजार पुगिसकेको छ । क्रोयशिया, हंगेरी, पोर्चुगल, पोल्याण्ड, चेक रिपब्लिक लगायतका देशमा नेपालीहरु टन्नै पुगेका छन् । तर, दूतावासहरुले बदनियतपूर्ण तरिकाले मागपत्र प्रमाणिकरण रोकेका छन् । यसको अर्थ दूतावासहरुले अवैध कामलाई प्रोत्साहन गरिरहेका छन् ।

हामीले व्यक्तिगत नदेउ भनेको होइन, तर प्रोफेशनल क्षेत्रका मान्छे, जाने बुझेका मान्छेलाई मात्रै व्यक्तिगत दिनु उचित हुन्छ भनेका हौँ । डाक्टर, इन्जिनियर, पाइलट, सीए जस्ता मान्छे आफैँले अन्तराष्ट्रिय बजार अध्ययन गरेका हुन्छन्, बुझेका हुन्छन् । उस्तै परे घुमरे पनि फर्किएका हुन्छन् । यस्ता मान्छेले व्यक्तिगत श्रम स्वीकृति लिएर जान चाहेको अवस्थामा पठाउँदा हुन्छ । तर, सबैलाई खुला छोड्दा नबुझेका मान्छेहरु ठगिने भए नि । गाउँ गाउँमा पुगेर बिचौलियाले केही थाहा नभएका, युरोपको अवस्था नै नबुझेका रामबहादुर, हरिबहादुर, श्यामबहादुर सबैलाई युरोपको व्यक्तिगत भिसा दिलाइदिएर मोटो रकम लिएर पठाइरहेका छन् । दूतावासले मागपत्र प्रमाणिकरण नगरिदिएर यस्तो भइरहेको छ ।

तुलनात्मक रुपमा युरोप जान लाग्ने शुल्क पनि बढी छ भनिन्छ । १०/१२ लाखभन्दा कममा जानै सकिँदैन भन्ने चर्चा छ । युरोपका देशमा जान किन महँगो छ ?

संस्थागत रुपमा वैधानिक तरिकाले जान नपाएपछि मान्छेहरुले अवैध तरिका अपनाउँछन् । दर्ता भएका कम्पनीहरुले मान्छे पठाउनका लागि दूतावासबाट प्रमाणिकरण नपाएपछि बिचौलियाले मान्छे पठाउने भए, उनीहरुले जति नै शुल्क लिन पनि सक्ने भए । कुनै विधि अपनाएर शुल्क नतोकिएको अवस्थामा उनीहरुले जति पनि लिने भएकाले महँगो भइरहेको छ ।

संस्थागत रुपमा म्यानपावर कम्पनीले पठाउन पाउँथे भने शुल्क पनि कम हुन्थ्यो, बढी लिए कारबाही हुन्थ्यो । बिचौलियाको काम सम्बन्धित देशमा छिराइदिने मात्रै हो, त्यो पनि वैधानिक रुपमा होइन कि अनेकौँ प्रलोभन देखाएर पठाउने हो । तर, सम्बन्धित देशमा प्रवेश गराइदिएबापत मात्रै १० लाख, १५ लाख लिइरहेका छन् । यसलाई सरकारले नै निरुत्साहित गर्नुपर्छ ।

मुख्य कुरा दूतावासले मागपत्र प्रमाणिकरण गरिदिएर संस्थागत रुपमा मान्छे पठाउन सहजीकरण गरिदिने हो भने मान्छे भिजिट भिसाको पछि लाग्ने, बिचौलियाको पछि लाग्ने क्रम आफैँ रोकिन्छ ।

अन्तिममा, म्यानपावर व्यवसायीहरुलाई फ्री भिसा र फ्री टिकट भनेर सेवा शुल्क १० हजार मात्रै लिएर मान्छे पठाउनु भनेर सरकारले भनेको छ । यो प्रावधान कार्यान्वयन भइरहेको अवस्था पनि छैन । र, व्यवसायीहरुले पनि यो प्रावधान वैज्ञानिक भएन भन्दै आएका छन् । शुल्कको सम्बन्धमा संघको आधिकारिक धारणा के हो ?

हामीले अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने सबैभन्दा राम्रो मोडल भनेको फिलिपिन्स मोडल हो । बैदेशिक रोजगारीमा फिलिपिन्स मोडललाई सबैभन्दा राम्रो र कडा मोडल भन्ने गरिन्छ । किनभने, त्यहाँ बिदेश जाने कामदारले तोकिएको भन्दा एक रुपैयाँ पनि बढी तिर्नु पर्दैन । त्यहाँ म्यानपावर व्यवसायीले कामदार पठाउँदा उसको २ महिनाको तलब बराबरको शुल्क लिन पाउँछ ।

अहिले हामीले पनि फ्री भिसा, फ्री टिकट कार्यान्वयन गर्न सकिँदैन भनेर प्रष्ट रुपमा भनेका छौँ । कामदारले वभिन्न शीर्षकमा पैसा तिरेकै छ । पासपोर्ट बनाउँदा, मेडिकल गर्दा, इन्स्योरेन्स गर्दा, काठमाडौँ ओहोर दोहोर, सामाजिक सुरक्षा लगायतका विभिन्न शीर्षकमा उसको खर्च भइरहेको हुन्छ ।

अर्को कुरा, सरकार आफैँले चाहिँ कोरिया पठाउँदा २ लाख लिएको छ, इजरायल पठाउँदा २ लाख, ३ लाख लिएको छ । व्यवसायीले चाहिँ फ्री भिसा र फ्री टिकटमा कसरी पठाउन सक्छ रु विदेश पठाउँदा पैसा लाग्छ भन्ने कुरा त सरकार आफैँले दुइ देशमा नेपाली कामदार पठाउँदा लिइरहेको शुल्क हेरेर थाहा हुँदैन र रु जहाँ बहुराष्ट्रिय कम्पनीहरुले सीएसआर अन्तर्गतबाट फ्री भिसा र फ्री टिकटमा कामदार लिने भन्छन्, ग्लोबल टेण्डर आह्वान गरेर ओभरल कामदार संख्याको १० प्रतिशत फ्री भिसा र फ्री टिकटमा लिने भन्छन् त्यहाँ हामीले त्यसै अनुसार पठाइरहेका छौँ । तर, सबैमा यो सम्भव हुने विषय नै होइन ।

यसकारण हामीले अहिले कम्तीमा कामदारको एक महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउनुपर्छ भनिरहेका हौँ । एक महिनाको तलब बराबरको सेवा शुल्क भनेको खाडीका देश र मलेसियाको सुविधा अनुसार ४०/४५ हजार रुपैयाँ हो । खाडीका देश, मलेसिया जाँदा मान्छेको पासपोर्ट बनाउनेदेखि उड्ने बेलासम्म १ लाख, सवा लाख खर्च हुन्छ । यो पैसा म्यानपावर कम्पनीलाई वा कुनै एजेन्टलाई दिने होइन कि बैंकले तिरिदिने गरि यो मोडलमा जाने तयारी हामी गरिरहेका छौँ । हाम्रो ग्यारेन्टीमा बैंकहरु यस्तो कर्जा दिन तयार पनि छन् । अब सरकारले मात्रै आफ्नो नीति सच्याउनुपर्ने अवस्था छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...
spot_img