अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न तथा शेयर खरिद गर्न सक्ने भएका छन्। कम्पनी रजिष्ट्रार कार्यालयले आज यसबारे जानकारी दिएको हो ।
जस अनुसार अब स्थानीय तहले प्रचलित कानूनबमोजिम कम्पनी दर्ता गर्न तथा शेयर खरिद गरि कम्पनीको स्वामित्व लिन सक्ने छन्। यसको लागि स्थानीय तहले आफ्नो कानुन बनाइ निर्णय गरेको हुनु पर्ने छ । त्यस्तै कम्पनी ऐन २०६३ एवं सम्बन्धित प्रचलित कानुनहरु बमोजिमका व्यवस्था पालना गर्नु पर्ने छ।
नेपाल विद्युत प्राधिकरणले स्थानीय तहसँगको साझेदारीमा सौर्य आयोजनाको पीपीए खुलाएको थियो। त्यसपछि स्थानीय तहहरुले सौर्य उर्जा लगायतका क्षेत्रमा कम्पनी संस्थापना तथा शेयर लगानी गर्ने गरी कम्पनी रजिष्ट्रार कार्यालयलाई अनुरोध गरेका थिए ।
सोहि अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले सहजीकरण गरेको हो ।












