हामीले घरमा, भान्छामा वा वाथरुममा प्रयोग गर्ने धाराहरु कति गुणस्तरीय छन् वा हुन्छन् भनेर कत्तिको ध्यान दिन्छौँ ? आफूले हरेक दिन प्रयोग गर्ने, वाथरुमको शोभासँग पनि जोडिने र घरमा आउने पाहुनले पनि उपयोग गर्ने भएकाले हामीले जडान गर्ने धाराहरु सुन्दर र टिकाउ हुनुपर्छ । तर, हामीले गुणस्तरमा खासै ध्यान नदिँदा जडान गरेको केही वर्षमै धारामा खिया लाग्ने, पानी पनि राम्रोसँग नआउने र बिग्रने भइरहन्छन् ।
नेपाली बजारमा उच्च गुणस्तरका धारा नपाइने होइनन्, तर आम सर्वसाधारणले खरिद गर्न सक्ने खालका छैनन् । अर्थात्, महँगा छन् । यसै शिलशिलामा सबैलाई गुणस्तरीय धारा उपलब्ध गराउने उदेश्यका साथ निर्माण सामग्रीको उत्पादनमा पायोनियर स्वदेशी ग्रुप पञ्चकन्या अब ‘धारा’को उत्पादनमा पनि प्रवेश गरेको छ । सन् १९७२ मा जन्मिएको पञ्चकन्या ग्रुप डण्डी, पाइप, वायर, स्टिल वाटर ट्याङ्क लगायतका सामानको उत्पादनसहित अब ‘बाथवेयर’का सामानहरुको उत्पादनमा पनि प्रवेश गरेको हो ।

पञ्चकन्याले उत्पादन गरेका सामानहरु उपभोक्तासम्म पुर्याइरहेका डिलरहरुले पञ्चकन्याकै बाथवेयरका सामान पनि चाहियो भनेको निकै लामो समय भइसकेको थियो । दर्जन बढी कम्पनीहरु चलाइरहेको पञ्चकन्या समूह बजारको विस्तृत अध्ययन बिना कुनैपनि उत्पादनमा प्रवेश गर्दैन । किनकी, नेपाली निर्माण सामग्रीको बजारमा वर्षौ लगाएर आर्जन गरेको ख्यातीमा कहीँकतै प्रश्न चिन्ह खडा नहोस् भन्नेमा समूह सचेत थियो र छ । यसक्रममा, पञ्चकन्या समूहले बाथवेयरका सामानमा प्रवेश गर्नु अगाडी १३ महिना बजारको अध्ययन गरेको समूहका निर्देशक आशिक श्रेष्ठ बताउँछन् ।

‘हामीले कोभिड पछाडी बाथवेयरका सामानहरु पनि उत्पादन गर्ने कि भनेर सामान्य छलफल गर्यौँ, सन् २०२३ को जनवरीबाट भने बजार अध्ययन सुरु गर्यौँ’ निर्देशक आशिक सम्झिन्छन्, ‘१३ महिना लगाएर बजारको अध्ययन गर्दा विदेशी ब्राण्ड महँगा हुने, मध्यम वर्गले त्यस्ता ब्राण्ड किन्नै नसक्ने र सस्ता ब्राण्डहरुको गुणस्तर कमजोर हुने गरेको पायौँ । यसपछि बाथवेयरका सामान उत्पादन गर्नेमा केन्द्रित भयौँ ।’
विश्वस्तरीय जर्मन प्रविधिको प्रयोग
पञ्चकन्या आफ्ना उत्पादनमा अधिकतम् स्तरीय प्रविधिको प्रयोग गर्ने समूहका रुपमा परिचित छ । बाथवेयरका उत्पादनमा पनि पञ्चकन्याले विश्वस्तरीय जर्मन प्रविधि प्रयोग गरेको छ । गुणस्तरलाई ‘फोकस’ गरेर शतप्रतिशत ब्रासको प्रयोग गरिएको पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वल श्रेष्ठ बताउँछन् । धारामा प्रयोग भएका सबै ‘कम्पोनेन्ट’ शतप्रतिशत विश्वस्तरीय रहेको उनको भनाइ छ ।

रेटियर, स्पेण्डल, टिप्टन, कार्टेज जस्ता सबै महत्वपूर्ण कम्पोनेन्टहरु जर्मन प्रविधियुक्त प्रयोग गरिएका छन् । ‘हामीले नेपालको बजारमा अध्ययन गरेर विश्वस्तरीय प्रविधि प्रयोग गरेर हाम्रो बजार सुहाउँदा उत्पादन निकाल्न के कस्तो प्रविधि अपनाउन सकिन्छ भनेर पनि अध्ययन गर्यौँ’ पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वल श्रेष्ठ भन्छन्, ‘यसक्रममा जर्मन प्रविधि नै अहिलेसम्मको सबैभन्दा उच्च गुणस्तरयुक्त देखियो, हामीले चाहेको जस्तो क्वालिटी दिन सकिन्छ भनेर यो प्रविधि अपनायौँ ।’
नेपाली नदीको नामबाट १८ डिजाइन
पञ्चकन्याले उत्पादन गरेका बाथवेयरको नामाकरणमा पनि नेपालीपन झल्काउने प्रयास गरिएको छ । पञ्चकन्याले विभिन्न १८ ‘सिरिज’ वा डिजाइनका धाराहरुको उत्पादन गरेको छ । ति ‘सिरिज’लाई नेपाली नदीहरुको नामबाट नामाकरण गरिएको छ ।
‘धारामा के आउँछ भन्दा पानी आउँछ, पानी कहाँबाट आउँछ भन्दा नदीबाट आउँछ । यसकारण हामीले उत्पादन गरेका १८ वटा सिरिजका धाराहरुलाई देशका ७ वटै प्रदेशभित्रका नदीहरुको नामबाट नामाकरण गरेका छौँ’ पञ्चकन्या बाथवेयरका सेल्स हेड वसन्त रिजाल भन्छन्, ‘यस अनुसार हामीले निकालेका मोडलको नाम मेची, कोशी, गण्डकी, कन्काई, त्रिशुली, मेलम्ची, सेती, कमला, नारायणी, माई, तमोर, झिमरुक, म्याग्दी, हुम्ला, राप्ती, सोलु, महाकाली र कर्णाली भनेर राखेका छौँ ।’
उनका अनुसार सिरिज अनुसार मूल्यमा केही तलमाथि पनि छ । ब्रासको प्रयोग बढी भएको सिरिज अन्तर्गतका उत्पादनको मूल्य केही माथि छ भने ब्रासको मात्रा कम प्रयोग भएका धाराको मूल्य केही कम छ ।
आगामी दिनमा सिरिजको संख्या बढ्न पनि सक्ने निर्देशक आशिक श्रेष्ठ बताउँछन् ।
५ कुरामा केन्द्रित
पञ्चकन्याले बाथवेयरका उत्पादनमा ५ विषयलाई ध्यान दिएको छ । पहिलो: लक्जरियस् र सस्तो । दोस्रो: उच्चस्तरीय प्रविधिको प्रयोग । तेस्रो: क्वालिटी अर्थात् गुणस्तर । चौथो: पानी खेर नजाने र आवश्यकता अनुसार मात्रै पानी झर्ने प्रबन्ध । र, पाँचौ: बिक्री पछिको ग्राहक सेवा ।
निर्देशक आशिक श्रेष्ठका अनुसार पञ्चकन्याले उत्पादन गरेका यी धाराहरु प्राविधिक रुपमै परीक्षण भएर गुणस्तरीय छन् भन्ने प्रमाणित भएका छन् । सामान्यतया, नेपालका घर तथा होटलहरुमा जडान गरिएका धाराबाट १ मिनेटमा १० लिटर पानी आउँछ । तर, पञ्चकन्याका यी धाराहरुबाट १ मिनेटमा २ लिटर मात्रै पानी आउँछ । यसले पानी खेर जान नदिने पञ्चकन्याको विश्वास छ ।

‘यसको अर्थ कम पानी दिने भन्ने होइन, प्रतिमिनेट १० लिटर पानी आउँदा हामीले जति पानी प्रयोग गर्छौँ, प्रतिमिनेट २ लिटर पानी आउँदा पनि हामीले त्यति नै पानी प्रयोग गर्छौँ’ आशिक भन्छन्, ‘हामीले दीगो विकासलाई ध्यानमा राखेर यो प्रविधि जडान गरेका हौँ ।’
पञ्चकन्या धाराका ग्राहक को हुन् ?
निर्देशक आशिकका अनुसार पञ्चकन्या बाथवेयरका सामान सबै नेपालीहरुले खरिद गर्न सक्ने मूल्यमा उपलब्ध छन् । व्यक्तिगत आवासदेखि अपार्टमेन्ट र हाउजिङ, व्यवसायिक कम्प्लेक्स तथा ठूला ठूला तारे होटलहरुमा पञ्चकन्याका बाथवेयर प्रयोग हुन सक्छन् ।
‘अहिलेसम्म जतिले हेर्नुभएको छ, उहाँहरु सबैले स्तरीय फिनिसिङ, क्वालिटी, प्रयोग भएको टेक्नोलोजी र लक्जरियस लुक्सलाई मन पराउनु भएको छ’, उनी भन्छन्, ‘रेसिडेन्स, कमर्सियल र प्रीमियम सबै क्लासलाई उपयोगी हुने हाम्रो विश्वास छ ।’
एक दशक वारेन्टी, वारेन्टी दाबी गर्न बिल नचाहिने
पञ्चकन्या समूहले धाराको बिक्री मात्रै होइन, बिक्री पछिको सेवामा पनि उत्तिकै ध्यान दिएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । उनका अनुसार धारा, सावर र एसेसिरिजमा १० वर्षको वारेन्टी दिइएको छ । अझ रोचक कुरा के छ भने उपभोक्ताले खरिद गरेर लगेको धारा १० वर्षभित्र बिग्रिएमा वारेन्टी दाबी गर्न धारा खरिद गरेको बिल पनि नचाहिने बताइएको छ ।

‘१० वर्षको वारेन्टी आफैँमा लामो अवधि हो, १० वर्षसम्म एउटा धारा किनेको बिल उपभोक्ताले सुरक्षित राख्न सम्भव नै हुँदैन’ निर्देशक आशिक श्रेष्ठले थपे, ‘हाम्रो ह्वाट्स एप ग्रुपमा धारा बिग्रिएको खबर गर्नासाथ २४ घण्टाभित्रमा धारा मर्मत गर्ने व्यवस्था मिलाएका छौँ । मर्मतका लागि आवश्यक जनशक्ति पनि उत्पादन भइरहेको छ । १० वर्षभित्र धारा नै फेर्नुपर्ने अवस्था आयो भने पनि फेरिदिन्छौँ ।’
२०८१ माघ २१ गते सरस्वती पूजाका दिन पारेर औपचारिक रुपमा सार्वजनिक गरिएको ‘पञ्चकन्या बाथवेयर’को बिक्रीका लागि अहिले देशब्यापी रुपमा डिस्ट्रिब्युटर र सब डिस्ट्रिब्युटर तोकिँदैछन् ।












