आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा व्यावसायिक डिजाइनहरूको प्रदर्शनी तथा प्रतियोगिता ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुने भएको छ । एक्स्पोको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
काठमाडौंको सिटी सेन्टर, कमलपोखरीमा आयोजना हुने दुई दिने एक्स्पोमा आईआईएफटीका १०१ जना इन्टेरियर डिजाइनिङका विद्यार्थीहरू सहभागी हुनेछन् । विद्यार्थीहरूले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न प्रकारका इन्टेरियर डिजाइन, सिर्जनात्मक अवधारणा तथा व्यावहारिक डिजाइनहरू प्रदर्शनीमा राखिनेछन् ।
एक्स्पोअन्तर्गत उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीहरूबीच प्रतियोगिता समेत हुनेछ। विभिन्न विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिनेछ । विद्यार्थीहरूको सिर्जनशीलता, व्यावहारिक दक्षता तथा व्यावसायिक सम्भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो तथा प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई पावर्ड बाई प्रायोजकका रूपमा Laminar Vitrified Tiles र Sherpa Group, पेन्ट पार्टनरका रूपमा Berger Paints तथा एसोसिएट पार्टनरका रूपमा Passion Tissue र Zerona Derma को सहकार्य रहेको छ ।
एक्स्पो १७ र १८ असोजको ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । सोही अवसरमा १८ असोजमा दिउँसो ४ बजे भव्य दीक्षान्त समारोह समेत आयोजना गरिनेछ ।
आयोजकका अनुसार एक्स्पो विद्यार्थीहरूको शैक्षिक उपलब्धि प्रदर्शन गर्ने अवसर मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट तथा उद्यमशीलतासँग सम्बन्धित व्यवसायी र पेशेवरहरूका लागि नयाँ सिर्जना तथा प्रतिभा अवलोकन गर्ने महत्वपूर्ण मञ्च बन्नेछ ।
विशेषगरी नयाँ क्याफे, रेस्टुरेन्ट, होटल, कार्यालय तथा अन्य व्यावसायिक स्थल निर्माण वा पुनःडिजाइन गर्ने योजना बनाइरहेका व्यवसायीहरूका लागि एक्स्पो उपयोगी हुने आयोजकको भनाइ छ । यसका लागि अधिकतम संख्यामा इन्टेरियर डिजाइन व्यवसायी, पेशेवर, निर्माण क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा उद्यमीहरूलाई एक्स्पो अवलोकनका लागि आमन्त्रण गरिएको छ ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा सिर्जनात्मक सीप प्रदान गर्दै व्यावसायिक क्षेत्रमा प्रवेशका लागि तयार पार्ने उद्देश्यले विभिन्न प्रदर्शनी तथा प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।










