सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले खाने तेलको उत्पादन, प्याकेजिङ तथा बिक्री वितरणमा कडा नियम लागु गर्ने तयारी गरेको हो ।
विभागले तोरी, भटमास (सोयाबिन) र सूर्यमुखी तेलको नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार पारिसकेको छ ।
तोरीको तेल
नेपाल गुणस्तर ०३ः २०३५ (दोस्रो संशोधन, २०८३) मार्फत तोरीको तेलको नयाँ मापदण्ड तयार गरिएको छ । नयाँ वर्गीकरण अनुसार उत्पादन प्रक्रियाका आधारमा तोरीको तेललाई एक्स्प्रेस र सल्भेन्ट–एक्सट्र्याक्टेड गरी दुई भागमा बाँडिएको छ ।
एक्स्प्रेसबाट निकालिएका सबै रिफाइन्ड, भर्जिन, एक्स्पेलर र सल्भेन्ट प्रक्रियाको रिफाइन्ड तेल खान हुन्छ । तर, तर, सल्भेन्ट प्रक्रियाको ‘ग्रेड–१’ तेल सिँधै खान मिल्दैन । यस्तो खान नहुने तेललाई प्याकेटमा बेच्न पाइँदैन, कन्टेनरमा ठूला अक्षरले अंग्रेजीमा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ (सोझै खानका लागि होइन) भनी अनिवार्य लेखिएको हुनुपर्ने छ ।
शुद्धताका हकमा तेलमा हानिकारक झार आर्जेमोन मेक्सिकाना मिसाउन पाइने छैन । पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट तोकिएको छ भने विषाक्त धातुहरू जस्तै सिसा र आर्सेनिक ०.१ मिलिग्राम प्रतिकिलो, क्याडमियम १ मिलिग्राम र पारो ०.२५ मिलिग्राम प्रतिकिलोभन्दा बढी हुन नहुने सीमा तोकिएको छ ।
भटमास तेल
नेपाल गुणस्तर १०३ः २०४२ (पहिलो संशोधन, २०८३)’ मार्फत भटमास तेलको नयाँ मापदण्डको मस्यौदा तयार पारिएको छ । सल्भेन्ट एक्स्ट्र्याक्सन प्रक्रियाबाट निकालिने तेललाई ‘रिफाइन्ड’, ‘डिगम्ड’ र ‘ग्रेड–१’ मा विभाजन गरिएको छ । रिफाइन्ड तेललाई मात्र सिधै खानका लागि प्रयोग गर्न मिल्छ । डिगम्ड र ग्रेड–१ तेल वनस्पति घिउ वा रिफाइन्ड तेल बनाउने कच्चापदार्थ मात्र भएकाले प्याकेटमा बेच्न पाइँदैन ।
यसको कन्टेनरमा पनि ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ भनेर लेख्नुपर्ने हुन्छ । ग्लाइसिन म्याक्स प्रजातिको भटमासबाट मात्र यस्तो तेल निकाल्नुपर्ने हुन्छ । हानिकारक अफ्लाटक्सिन ३० माइक्रोग्राम प्रतिकिलोभन्दा बढी हुनु हुँदैन । रिफाइन्ड तेलमा हेक्जेन ५ पीपीएम र फस्फोरस अधिकतम १२ पीपीएम हुनुपर्ने प्रावधान राखिएको छ ।
सूर्यमुखी तेल
सूर्यमुखी तेललाई पनि एक्स्प्रेस’ र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी दुई भागमा बाँडिएको छ । दुवै प्रकारका रिफाइन्ड तेल र एक्स्प्रेसतर्फको ग्रेड १ तेल सिधै खानयोग्य हुनेछन् ।
तर, सल्भेन्ट एक्सट्र्याक्टेडतर्फको ग्रेड १ तेल सिधै खान नमिल्ने भएकाले प्याकेटमा बेच्न पाइने छैन । मेट्न नमिल्ने मसीले खान नहुने जानकारी गराइएको हुनुपर्छ ।
यस्तो तेल तेल कृत्रिम रङ तथा स्वादमुक्त हुनुपर्ने छ । पेरोक्साइड भ्यालु अधिकतम १० र अफ्लाटक्सिन ३० माइक्रोग्राम प्रतिकिलोभन्दा कम हुनुपर्ने छ ।










