होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष निराजन थापाको अध्यक्षतामा आज असोज २ गते शुक्रबार होटेल सब्रिनामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाद्वारा प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। त्यस्तै सभाले आ.व. २०८२/०८३ को लेखापरिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण लगायत आर्थिक विवरण पारित गरेको छ भने आ.व. २०८३/०८४ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन सहित स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको सभामा प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले व्यवसायबाट ८ करोड १८ लाख आम्दानी गरेको छ । जुन आघिल्लो आर्थिक वर्षको तुलनामा १४.४९ प्रतिशतको वृद्धि हो । त्यस्तै कम्पनीले यस अवधिमा अन्य आम्दानी शिर्षकमा ६२ लाख ७१ हजार आम्दानी गरेको छ।
यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा होटेल सब्रिना संचालन गरिरहेको छ, जुन हाल ५ तारे होटेलमा अपग्रेड भईरहेको छ। अपग्रेड सम्पन्न भएपछि विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्रान्ड ट्राइब (Tribe) ले होटेलको व्यवस्थापन सम्हाल्ने छ। सब्रिना होटेलको काठमाडौँको बुढानिलकण्ठमा रहेको होटेल Tribe Kathmandu नामबाट संचालन हुने छ । यो ट्राइब ब्रान्डको नेपालमा पहिलो प्रोजेक्ट हुने छ ।
अपग्रेडपछि ११० वटा कोठासहित सुविधा सम्पन्न होटेलको रुपमा सञ्चालनमा आउनेछ । स्तरोन्नतिपछि होटेलमा ३ वटा रेस्टुरेन्ट रहने छन्, रुफटपमा रहने रेस्टुरेन्ट शहरकै सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट मध्येको एक हुनेछ । कोठाको औसत आकार नै ३० वर्ग मिटर हुने गरि स्तरोन्नति भइरहेको छ। कम्पनीका अध्यक्ष थापाका अनुसार सन् २०२७ भित्रै ५ तारे होटेलको रुपमा (Accor) को lifestyle ब्रान्ड ट्राइब (Tribe) को नामबाट होटेल संचालनमा आउने छ ।
कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको छ।











