काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । यसका लागि उपत्यकाका ९ वटा स्थानीय तह एक आपसमा सहकार्य गर्न तयार भएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा परीक्षणका रूपमा सुरु गरेको थियो । अब भने ९ वटा स्थानीय तहले साझा यातायातसँग सहकार्य सम्बन्धि समझदारीमा हस्ताक्षर गरेका छन् ।
यसरी हस्ताक्षर गर्नेमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका रहेका छन् ।
समझदारीमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर पश्चात ६ वटा रुटका लागि ३० वटा बस चल्न थालेका छन् ।
सेवा विस्तार भएसँगै अब जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, गोदावरी–लगनखेल–बूढानीलकण्ठ ६ वटा, रिङरोडमा ८ वटा, कीर्तिपुर–जमल ४ वटा, टाखेल–ठमेल २ वटा र नागढुङ्गा–एयरपोर्ट ४ वटा बस सञ्चालन गरिने छ ।
यसअघि लगनखेलदेखि बूढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बस सञ्चालन गरिएको थियो ।










