पछिल्लो समय सरकारका मन्त्री र अधिकारीहरुले अर्थतन्त्र लयमा फर्किरहेको तर्क गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको वैदेशिक ब्यापारको तथ्याङ्कले पनि निर्यातमा उल्लेख्य सुधार भएको देखाएको छ । पर्यटक बढिरहेका छन् भने रेमिट्यान्स आप्रवाह पनि बढिरहेको केन्द्रीय बैंकको तथ्याङ्क छ ।
त्यसो त, आन्तरिक रोजगारी सिर्जनाका मुख्य क्षेत्र उत्पादनमूलक उद्योग र रियलस्टेटको संकुचन भने कायमै देखिएको छ । हामीले यसै सेरोफेरोमा केन्द्रित रहेर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्यात १६ प्रतिशतले बढेको र आयात जम्मा ३ प्रतिशतले मात्रै बढेको देखाएको छ । मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको हो ?
चालु आर्थिक वर्षको ५ महिनासम्म अन्तराष्ट्रिय ब्यापारको तथ्यांक सार्वजनिक भएको छ । यो तथ्याङ्क अनुसार अन्तराष्ट्रिय ब्यापार ४.२१ प्रतिशतले बढेको देखिन्छ । गत आर्थिक वर्षको ५ महिनामा ७०५ अर्बको वस्तु तथा सेवाको ब्यापार हुँदा यसवर्षको ५ महिनामा ७३५ अर्बको कारोबार भएको छ । यसमा ६६१ अर्बको आयात र ७३ अर्ब ६६ करोडको निर्यात देखिन्छ ।
यो ५ महिनामा आयात हेर्दा ३ प्रतिशले बढेको देखिन्छ, निर्यात १६.५४ प्रतिशतले बढेको देखिन्छ । गत वर्ष यस अवधिमा ६४२ अर्बको आयात भएको थियो भने निर्यात ६३ करोड २० लाखको मात्रै थियो । गत वर्षको यस अवधिसँग यसपाली भएको निर्यात तुलना गर्दा १० अर्ब बढीले निर्यात बढेको देखियो ।
यसवर्ष निर्यात बढ्नुमा भटमासको तेल, सुर्यमुखीको तेल र पाम आयलको मुख्य योगदान छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा ८ अर्ब ३७ करोड २३ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको छ, २ अर्ब ९७ करोडको सूर्यमुखीको तेल निर्यात निकासी भएको छ, ८५ करोड २१ लाखको पाम तेल निर्यात भएको छ । यी वस्तुहरु विगतमा पनि नेपालको निर्यातमा महत्वपूर्ण योगदान दिने वस्तुभित्रै पर्थे, तर केही समय अघि भारत सरकारले यी वस्तुको आयातमा लाग्ने भन्सार दरमा फेरबदल गर्दा भटमास र पाम तेलको निकासी रोकिँदा निर्यात खुम्चिएको थियो, अहिले क्रमश: खुकुलो हुँदै गएकाले निर्यात बढेको हो ।
वस्तुको निकासी बढ्नु राम्रो हो । तर, हामीले उच्च ‘भ्यालु एड’ भएका वस्तुहरुको निकासी बढाउन सक्दा मात्रै निर्यात दीगो हुन्छ । भटमासको तेल, सुर्यमुखीको तेल, पाम तेलमा भारतले जुनसुकै बेला ‘ड्युटी स्टक्चर’ फेरबदल गरिदिन सक्ने भएकाले यसको निर्यात दीगो हुन सकिरहेको छैन । यद्यपी, निर्यात हुनु राम्रो कुरा हो । तर, सकेसम्म उच्च ‘भ्यालु एड’ भएका र नेपाली कच्चापदार्थहरुको प्रयोग भएका वस्तुहरुको निकासीका लागि पहल गर्नुपर्छ, यसो हुँदा मात्रै निर्यात दीगो हुन सक्छ ।
अहिले पर्यटन क्षेत्र राम्रो हुँदैछ, रेमिट्यान्स बढ्दै छ, निर्यात बढिरहेको छ, तर पनि उद्यमी व्यवसायीहरु अर्थतन्त्र लयमा फर्किएको छैन मात्रै भनिरहन्छन् भनेर टिप्पणी पनि हुन थालेको छ । खासगरि रियलस्टेट र सेयर बजारलाई मात्रै हेरेर सिङ्गो अर्थतन्त्रमा समस्या छ भन्नु हुँदैन भन्नेहरु पनि छन् । यसमा के भन्नुहुन्छ ?
सेयर बजार भनेको ‘प्राइमरी इन्डिकेटर’ हो । लगानीका लागि स्वदेशी र विदेशी लगानीकर्ताले पहिला हेर्ने भनेकै सम्बन्धित देशको सेयर बजार हो । नेपालको हकमा विश्वपरिवेश भन्दा बेग्लै किसिमको सेयर बजार छ । हामीकहाँ संस्थापक सेयर र पब्लिक सेयर भनेर दुइथरी सेयर बनाइएको छ । जबकी, दुइ वटैको लगानी र नाफा एउटै हो । तर, मूल्यमा झण्डै ५० प्रतिशत जस्तो फरक रहेको हुन्छ ।
साथै, सानोतिनो हल्लाले पनि नेपालको सेयर बजारलाई असर परिरहेको हुन्छ । जबकी, छिमेकी देश भारतकै सेयरबजार माथि गइरहेको छ । हाम्रो सेयर बजार चाहिँ माथि जान सकिरहेको छैन । यसका पछाडी मैले भन्ने गरेको छु, हाम्रो अर्थतन्त्रमा ‘स्टेजफ्लेशन इकोनोमी’को अवस्था सिर्जना भएको छ । यसमा महँगी उच्च हुन्छ, बेरोजगारी बढ्छ र आर्थिक वृद्धिदर अत्यन्त न्यून हुन्छ । यसर्थ, मुलुकको अर्थतन्त्र राम्रो भयो भने सेयर बजारमा यस्तो उतारचढाव आउँदैन ।
विगतमा हाम्रो इन्डेक्श ३ हजारभन्दा माथि पुगेको थियो, संकुचित नीतिहरुका कारण २ हजारसम्म झर्यो । अहिले बल्ल २६ सयको आसपासमा छ । मुलुकको अर्थतन्त्रका लागि पनि सेयर बजारको यस्तो उतारचढाव राम्रो होइन ।
अर्कोतर्फ रियलस्टेटको हकमा कुरा गर्दा मुलुकको अर्थतन्त्रमा रियलस्टेटको यति ठूलो भूमीका थियो होला भन्ने कल्पना सायद गरिएकै थिएन । तर जब यसलाई संकुचन हुने खालका नीतिहरु ल्याउन थालियो, त्यस लगत्तै समग्र अर्थतन्त्र शिथिल हुन थाल्यो ।
रियलस्टेट अर्थतन्त्रको महत्वपूर्ण पिल्लर हो भन्ने कुराको बोध हुन हाम्रो कर्जा प्रणालीलाई हेर्नुपर्ने हुन्छ । बैंकिङ क्षेत्रको सुरुवातदेखि नै ‘डबल कोल्याट्रल सिस्टम’ राखियो । हाम्रा प्रोजेक्ट, हाम्रा योजनासँगै घरजग्गा पनि राख्नुपर्ने भयो । यसकारण उद्यमी व्यवसायीहरु पनि घरजग्गा खरिद गर्न बाध्य हुनु परेको हो । घरजग्ग किन्थे, त्यसलाई धितो राखेर ऋण लिन्थे, उद्यम व्यवसाय चलाउँथे । यो क्रम चलिरहेकै थियो । अर्कोतर्फ, उद्यम व्यवसायमा नोक्सान भइहाले पनि घरजग्गाबाट त्यस्तो नोक्सानको हिसाब मिलान हुन्छ भन्ने पनि थियो । तर, कोभिड पश्चात संकुचित मौद्रिक नीति आउँदा घरजग्गा कारोबार थला पर्यो ।
पछिल्लो २ वर्षमा मात्रै ७५ हजार बढी व्यवसायीहरु कालोसूचीमा परेका छन् । नेपाल जस्तो सानो मुलुकमा ७५ हजार उद्यमी व्यवसायी कालोसूचीमा पर्नु भनेको त्यसको ‘चेन इफेक्ट’ निकै भयावह छ । आउने दिनमा अझै धेरै थपिने जोखिम पनि उत्तिकै छ ।
यसर्थ, सेयर बजार र रियलस्टेट भनेको अर्थतन्त्रका महत्वपूर्ण पिल्लरहरु हुन् । अर्थतन्त्र राम्रो भएको पनि यी दुइमै देखिन्छ, अर्थतन्त्र खराब भएको ‘रिफ्लेक्ट’ पनि यी दुइमै चाँडो देखिन्छ ।
रियलस्टेट नचल्दा निर्माण क्षेत्र सुस्त छ, सरकारले पनि निर्माण व्यवसायीहरुले भूक्तानी दिन सकिरहेको छैन । रियलस्टेट चलायमान हुन त चौतर्फी सहजता पनि आउनुपर्ला नि होइन ?
निर्माण व्यवसायीहरु समस्यामा छन् भनेर निजी क्षेत्रले बारम्बार भन्दै आएको छ । त्यसैको फलस्वरुप राष्ट्र बैंकले यसअघि साँवा र ब्याज भूक्तानीमा मंसिर मसान्तसम्मको समयावधि दिएको थियो । तर, मौद्रिक नीतिको समीक्षाले केही बोलेन, जबकी निर्माण व्यवसायीहरुले भूक्तानी पाएकै छैनन् । यस्तो जटिल अवस्था छ ।
अर्को कुरा, जो उद्यमी व्यवसायीहरुले घरजग्गा धितो राखेर ऋण लिएका छन्, उनीहरुले ऋण तिर्न सक्ने अवस्था नहुँदा सम्पत्तिमा पनि ह्रास आइरहेको छ । यस्तो अवस्थामा रियलस्टेट कारोबारमा सुधार नआई मुलुकको अर्थतन्त्र सुधार हुन्छ भन्न सक्ने अवस्था छैन ।
अर्कोतर्फ, आज सहकारीमा किन समस्या आयो भन्दा रियलस्टेटमा संकुचित नीति लागू गरिँदा त्यसको प्रभाव पर्यो । किनकी, सहकारीको ठूलो लगानी रियलस्टेटमा छ । भोली बैंकहरुले धितो लिलाम गर्दै जाने, घरजग्गा तान्दै जाने, तर बेच्न सकेनन् भने यो समस्या बैंकहरुमा पनि देखिन सक्छ । बैंकसँग अचल सम्पत्ति थुप्रिएर मात्रै त हुँदैन, यसकारण समग्र अर्थतन्त्रलाई सुधार गर्न हामीले रियलस्टेटलाई माथि ल्याउनैपर्छ ।
अर्को महत्वपूर्ण कुरा, आज कुनै व्यक्तिले खुला अर्थतन्त्र भएको देशमा पैसा कमाउँछ भने के मा लगानी गर्छ ? हामीकहाँ ५ क्षेत्रबाहेक अर्को विकल्प छैन । घरजग्गामा लगानी गर्ने, सुनचाँदीमा लगानी गर्ने, उद्यम व्यवसायमा लगानी गर्ने, सेयरबजारमा लगानी गर्ने र बैंकमा जम्मा गर्नेबाहेक अर्को विकल्प हुँदैन । बैंकमा मात्रै राखेर हुँदैन, सेयर बजारको अवस्था पनि उत्साहजनक छैन, सुनमा पनि कति लगानी गर्ने, हरेकले उद्योग व्यवसाय गर्न सक्दैन । यसकारण घरजग्गामा पनि लगानी गर्न नदिने हो भने त्यो मान्छेले गर्छ के ? लगानी गर्न असजिलो हुने भएपछि ‘इन्टरप्रेनरसीप’ पनि मर्दै जान्छ ।
म त भन्छु जग्गाको हदबन्दीलाई पनि खुकुलो बनाउनुपर्छ । जसका कारण उद्यमशीलता बढ्न जान्छ । यतातर्फ सरकारले सोच्नुपर्छ ।
अहिले रेमिट्यान्स बढिरहेको छ, पर्यटक आगमन पनि बढिरहेको छ । जलविद्युतको निकासी सुरु भएको छ । यसले यी क्षेत्रमा त लगानीको वातावरण बन्दैछ भन्ने देखाउँछ होइन र ?
चालु आर्थिक वर्षको सुरुवातदेखि नै दुइ वटा क्षेत्र राम्रो हुँदै गएका छन् । एउटा टुरिजम, अर्को हाइड्रोपावर । यी दुइ क्षेत्रमा भइरहेको सुधारलाई हेरेरै एशियन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हाराहारी हुन्छ भनेर प्रक्षेपण गरेको हो ।
गत वर्षको तथ्याङ्क हेर्ने हो भने हाम्रो निर्माण क्षेत्र, थोक तथा खुद्रा व्यवसाय क्षेत्र, उत्पादनमूलक क्षेत्र सबै नै कमजोर थिए । पर्यटन र हाइड्रोपावरले नै केहीहदसम्म टेवा दिएका हुन् । टुरिजम र हाइड्रोपावरले त्यो टेवा नदिएको भए हाम्रो मुलुकको जीडीपी ग्रोथ अत्यन्त कमजोर हुन जान्थ्यो । कोभिड अगाडीका ३ वर्षमा हाम्रो आर्थिक वृद्धिदर औसतमा ७.७५ प्रतिशत हाराहारी थियो, तर अहिले आएर २ प्रतिशत आसपासमा झर्यो । यतिमा रहनुमा पनि टुरिजम र हाइड्रोपावरकै योगदान हो ।
अर्को कुरा, अन्य क्षेत्रमा ‘चेन इफेक्ट’ पर्छ । तर, टुरिजम र हाइड्रोमा चेन इफेक्ट कम हुन्छ । यसर्थ, हामीले अझै पनि पर्यटन र जलविद्युतलाई हाम्रो ‘स्ट्रेन्थ’का रुपमा विकास गर्दै जानुपर्छ । भारत र बंगलादेशमा बिजुलीको निकासी सुरु भएको छ, यो राम्रो सुरुवात भएको छ ।
अहिले काठमाडौँ विमानस्थल स्तरोन्नतिका लागि केही घण्टा बन्द भइरहेको छ, यसले पर्यटक आगमनमा प्रभाव पार्ने देखिएको छ । वैकल्पिक विमानस्थलहरुको सञ्चालनमा तदारुकता अलि कम भएको छ ।
अर्थतन्त्रमा योगदान दिइरहेका परम्परागत मुख्य क्षेत्रहरुबाट फेरि पूरानै योगदान कायम रहने सम्भावना कति देख्नुहुन्छ ?
सरकारले विगतमा करका दरहरु धेरै चलायो । राजस्व कम संकलन हुने भयो भनेर भन्सार र अन्य दरहरु बढाउँदा खुला सिमानाका कारण नेपाली उपभोक्ताहरु भारतीय बजारमा सामान लिन जान थाले । चार, पाँच किलोमिटरको दूरीमा सामान सस्तो पाइन्छ भन्ने उपभोक्ता सस्तो सामान किन्न जान्छन् नै, रोक्न सक्ने कुरा पनि हुँदैन, रोक्नु उचित पनि होइन । जसका कारण सीमा क्षेत्रका नेपाली बजारहरु सुनसान हुने र छिमेकी देश भारतका बजारहरु भरिभराउ हुने अवस्था बन्यो । यसको पछाडी हाम्रो आन्तरिक कारण नै प्रमुख छन् । यसका लागि हामीले बजार मूल्यलाई प्रतिस्पर्धी बनाउनुपर्यो, भारतीय बजार र नेपाली बजारमा समान मूल्य हुनासाथ मान्छे सीमापारी जाँदै जाँदैनन् ।
अर्को कुरा, मूल्यमा धेरै फरक हुनासाथ चोरी पैठारी पनि बढ्छ । यसकारण हामीले जहिल्यै पनि चोरी पैठारी नियन्त्रण गर्न सम्भव भएसम्म भन्सारका दरहरु घटाउँदै लैजानुपर्छ । उदाहरणका लागि सरकारले सुनको भन्सार दर घटाउनासाथ भारतबाट भइरहेको अवैध आयात रोकिएको छ । सबैमा यस्तो नीति लागू गर्नुपर्छ । यसको मतलब थोक, खुद्रा व्यवसायको क्षेत्रलाई मजबुत बनाउनुपर्छ भन्ने हो ।
अर्कोतर्फ, परम्परागत मुख्य क्षेत्रका रुपमा रहेका निर्माण क्षेत्र, यातायात क्षेत्र, थोक तथा खुद्रा व्यवसायिक क्षेत्र, घरजग्गा कारोबार जस्ता मुख्य क्षेत्रहरु अझै पनि संकुचनमै छन् । यीनिहरुलाई यो संकुचनबाट उकास्नैपर्छ ।