‘सलामी’ बुझाउनुपर्ने बाध्यताले व्यवसायी हैरान, परम्परा कि असुली धन्दा ?

spot_img
spot_img

काठमाडौँमा फेन्सी व्यवसाय गर्दै आएका एक जना व्यवसायीले आजभन्दा करिब ८ वर्ष जति अगाडि मान्छेको चहलपहल बढी हुने ठाउँमा व्यवसाय सार्ने तयारी गरिरहेका थिए । यसका लागि उनको रोजाई थियो कोटेश्वर आसपास । त्यसैका लागि उनी उपर्युक्त स्थानमा सटर खोज्दै हिडेका थिए । त्यसै क्रममा कोटेश्वरबाट तीनकुने तिर झर्ने ओरालोमा एउटा सटर खाली हुँदै गरेको सूचना ति व्यवसायीले प्राप्त गरे । अनि हतार हतार घरधनीसँग भेटेर सल्लाह गर्ने निर्णयमा पुगे । घरधनीले अचम्मको प्रस्ताव अघि सारे । ‘यो सटर म खाली गराइदिन्छु, तर उसले (सटरमा बसिरहेका व्यवसायी)ले मलाई १० लाख भाडा दिएको छैन । त्यो पैसा तपाईले दिनु, म तुरुन्त उसलाई हटाइदिन्छु’ भन्ने प्रस्ताव घरधनीले राखे ।

ठाउँको अवस्थिति राम्रो थियो, चहलपहल पनि तुलनात्मक रुपमा ठिकै हुन्थ्यो । यत्तिको ठाउँ पाए व्यवसाय गरेर राम्रै आर्जन गर्न सकिन्छ भन्ने लागेपछि ति व्यवसायीले आफ्नो परिवार र नजिकका साथीभाईसँग सल्लाह गरेर घरधनीलाई अतिरिक्त १० लाख दिने निर्णय लिए । १० लाख पाएपछि घरधनीले पनि सटर खाली गराइदिए । अनि त्यो सटर लिएर ति व्यवसायीले फेन्सी स्टोर सञ्चालनमा ल्याए ।

अर्को घटना त झन कम रोचक छैन । एक जना लत्ताकपडा र फेन्सी सम्बन्धी व्यवसाय गर्दै आएका व्यक्ति आफ्नो व्यवसाय बढाउने योजनामा थिए । तर, उपर्युक्त स्थान पाइरहेका थिएनन् । त्यत्तिकैमा आडैको (एउटै घरको वल्लो–पल्लो सटर दुइ वटा) डेरी बन्द हुन लागेको जानकारी पाए । डेरीवालासँग सल्लाह गर्नुपर्‍यो भनेर एकदिन समय मिलाए । कुरैकुरामा डेरीवालाले आफूले ९० लाख पाए ठाउँ छोडिदिने बताए । यो सुनेर ति व्यवसायी तीनछक परे । ‘१ करोड लगानी छ, ऋण धेरै भएर चलाउन सकिनँ भन्नुभयो । बिक्री गर्दा भइहाल्यो नि त भनेर मैले सल्लाह दिँदा बिक्री गर्न खोज्दा लगानी बराबरको पैसा कसैले नहाल्ने भए भनेर भन्नुभयो’ ति व्यवसायी आज पनि त्यो क्षण सम्झिन्छन् ।

दुइ वटा सटर थिए, भित्र डेरीलाई चाहिने विभिन्न उपकरण पनि थिए । सामान पनि ठिकै थियो । आफूलाई मन परेको स्थान भएपनि ९० लाख अतिरिक्त तिरेर बस्न सक्ने आँट उनीमा थिएन । त्यसमाथि डेरीका उपकरण उनलाई काम लाग्ने पनि होइनन् । यसपछि ति व्यवसायीले नजिकका व्यवसायी साथीहरुलाई यो कुरा सुनाए । आफ्नो व्यवसाय ठिकठाक चलिरहेको र थप ठाउँ पाए अझै व्यवसाय बढ्ने देखेका उनलाई साथीभाइले पनि आँट गर्न हौस्याए । अन्ततः बार्गेनिङ सुरु भयो, ७० लाखमा सटर र सामान छोड्न डेरीवाला तयार भए । १०/१२ लाखमा केही उपकरण बिक्री गरे भने केही स–साना उपकरणहरु साथीहरुलाई दिए । एकाध सामान आफूले पनि प्रयोग गरे । यो कोरोना महामारी अगाडिको कुरा हो ।

तेस्रो उदाहरण त झन अचम्मको छ । काठमाडौँको चल्तीको एउटा तरकारी बजारमा एकै व्यक्तिले १२ वटा स्टल लिएका रहेछन् । तरकारी तथा फलफूल पसल राख्ने भनेर स्टल लिएका ति व्यक्तिले आफूले पसल राख्ने नभई आफ्नो नामको स्टल नै भाडामा दिँदा रहेछन् । सरकारी जमिनमा बनाइएका स्टल सस्तो मूल्यमा भाडामा लिने र महँगो शुल्क लिएर पुनः भाडामा लगाउने गर्दा रहेछन् ।

खासगरी मधेशी मूलका साना व्यवसायीलाई एक महिना, दुइ महिनाका लागि पसल राख्न दिने र त्यसबापत चर्को शुल्क उठाउन उनले दैनिक मान्छे नै खटाउँदा रहेछन् । ‘बिहान ४ बजे नै हामी आ–आफ्ना स्टल पुगिसक्छौँ, तरकारी बेच्न बिहानै मान्छेहरु स्टलमा आइसकेका हुन्छन्, अनि त्यसै बेला भाडा उठाउने हो’ दिउँसो एक कम्पनीको गाडी चलाउने र बिहान–बेलुका तरकारी बजारका स्टल–स्टलमा पैसा उठाउन हिड्ने एक जना व्यक्तिले भने, ‘महिना महिनामा उठाउने होइन, दिनैपिच्छे उठाउने हो । हरेक दिन पैसा लगेर ठेकेदारलाई बुझाउनुपर्छ । उसले हिसाब गरेर राखेको हुन्छ ।’

यी ठाउँमा ‘सलामी’
उल्लेखित यी तीन घटना व्यवसायीले व्यवसाय गर्नका लागि बुझाउनुपर्ने ‘सलामी’का प्रतिनिधिमूलक उदाहरण हुन् । बसपार्क र विद्यालय क्षेत्र, तरकारी बजार र कतिपय अवस्थामा बिजनेश कम्प्लेक्समा समेत व्यवसाय गर्न चाहँदा ‘सलामी’ बुझाउनुपर्ने बाध्यता रहेको व्यवसायीहरु नै स्वीकार गर्छन् ।

‘स्कुल अगाडिको सटर लिनुपर्‍यो भने त्यहाँ व्यवसाय गर्दै आएको व्यक्तिलाई दस्तुरी बुझाउनुपर्छ, सरकारी विद्यालयको भवनमा पनि सटर बनाइएका हुन्छन्, ति सटर लिन त झन दलाल लगाउनेदेखि अनेक गर्नुपर्छ’ एक जना भुक्तभोगीले सुनाए ।

‘प्राइम लोकेशन’का सटरहरु बिना सलामी पाउन मुस्किल रहेको अर्का एक मझौला व्यवसायीको अनुभव छ । ‘मैले बालाजुमा एउटा सटर हेरेको थिएँ, खाली भएपछि खबर गर्नु भनेर घरबेटीलाई भनेको पनि थिएँ’ ति व्यवसायी स्मरण गर्छन्, ‘तर घरबेटी र ति पसलेबीच मसँग २० लाख रुपैयाँ सलामी लिने र १०/१० लाख बाँड्ने सल्लाह भएछ । यो देशमा बडो अचम्म छ ।’

अझ तरकारी बजारका स्टलहरुमा पसल राख्नेहरु त यति छिटो फेरिन्छन् कि, त्यसको रफ्तार ‘इन्टरनेट’ जस्तो हुने भन्दै व्यङ्ग्य समेत हुन थालेको छ । ‘सुरुमा एउटाले लिन्छ, उसले अर्कोलाई ६ महिनाका लागि भनेर दिन्छ । त्यो ६ महिनेवालाले फेरि ३/३ महिनाका लागि भनेर अर्को मान्छेलाई मुर्गा बनाउँछ । उस्तै परे एउटै स्टललाई दुइटा बनाइदिन्छन्’ एक व्यवसायिक संस्थाका पदाधिकारीसमेत रहेका व्यक्ति आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘यस्तो अव्यवस्थित बजार छ कि, औपचारिक प्रणालीमा ल्याउने कुनै पहल नै भएको छैन । हामीले सरकार र महानगरपालिकालाई बारम्बार अनुरोध गर्दा ठोस उपलब्धि निस्किएको छैन ।’

उनका अनुसार ‘सलामी’को दर सानो (हजारमा हुँदा) हुँदा त्यसलाई बजारमा प्रवेशको सहजता, आपसी सहयोग वा चलिआएको परम्पराका रूपमा लिने गरिन्थ्यो । तर यो अभ्यासले क्रमशः ‘असुली धन्दा’ कै रुप लिन थालेपछि व्यवसायीलाई आफ्नै व्यवसायिक समुदायबाट चुनौती थपिएको छ ।

यस आधारमा कुनै सटरको मासिक भाडा ५० हजार रुपैयाँ छ र सलामीबापत सुरुमै व्यवसायीसँग अतिरिक्त रकम मागिन्छ भने त्यसले व्यवसाय सुरु गर्नै असजिलो अवस्था सिर्जना गर्ने व्यवसायी संघ/संगठनका अगुवाहरु पनि बताउँछन् । ‘मानौँ कुनै ठाउँमा सटर भाडा महिनाको ५० हजार रुपैयाँ, तर त्यहाँ व्यवसाय गर्न चाहने व्यक्तिसँग सलामीबापत २० लाख रुपैयाँ मागिएको छ भने व्यवसायीले ४० महिनाको भाडा बराबरको रकम सुरुमै बुझाउनुपर्ने बाध्यता पर्‍यो’ एक जना अगुवा व्यवसायी भन्छन्, ‘यसबाट थाहा हुन्छ कि, कतै हिसाबमा नदेखिने सलामी बापतको लगानीले व्यवसाय सुरु गर्न कति ठूलो आर्थिक भार थप्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नागढुङ्गा सुरुङमा शुल्क तिर्न कुमारी बैंकको सबै शाखाबाट N–Tag उपलब्ध हुने

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि...

यी हुन् प्रधानमन्त्रीसँगै भारत जाने ३५ जना

प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय...

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने,...

गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमङ्ग

 नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय...

आज पनि घट्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउमा गिरावट आएको छ। शुक्रबार...

ओम मेगाश्री फार्मास्युटिकल्सको साधारणसभा मंसिर २६ मा

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले मंसिर २६ गते ११औं वार्षिक...