Monday, July 20, 2026
spot_img

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट चार्ज

spot_img

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट नो–लोडमा २२० केभी चार्ज गरी परीक्षण गरिएको छ । असार २५ गते परीक्षण गरिएकोमा असार २७ गतेदेखि उक्त सर्किटमार्फत विद्युत् प्रवाह सुरु भई हाल करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ ।

मर्स्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने उद्देश्यले विकास गरिएको राष्ट्रिय महत्वको आयोजना हो । आयोजनाअन्तर्गत मनाङको धारापानीदेखि लमजुङको खुदी, उदीपुर हुँदै तनहुँको न्यू मर्स्याङ्दी (मार्कीचोक) सबस्टेशन र त्यहाँबाट न्यू भरतपुर सबस्टेशनसम्म २२० केभी प्रसारण पूर्वाधार निर्माण भइरहेको छ । आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १,६०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता रहनेछ ।

मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माणमा स्थानीय अवरोध, भौगोलिक जटिलता, वन क्षेत्रभित्र रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा अन्य प्राविधिक चुनौतीका कारण करिब सात वर्षसम्म निर्माण कार्य प्रभावित भएको थियो । साथै लमजुङ क्षेत्रमा देखिएको स्थानीय अवरोध करिब १२ वर्षपछि समाधान भएपछि आयोजनाले पुनः गति लिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनालाई उच्च प्राथमिकतामा राख्दै निर्माणमा देखिएका अवरोध हटाउन निरन्तर पहल गरेको थियो ।

मार्कीचोक–भरतपुर प्रसारण लाइनको पहिलो सर्किट चार्ज भएसँगै न्यू मर्स्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग प्रभावकारी रूपमा जोडिएको छ । अब मर्स्याङ्दी तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबर लगायत राष्ट्रिय २२० केभी तथा ४०० केभी प्रसारण सञ्जालमा सहज रूपमा प्रवाह गर्न सकिने भएको छ । यसबाट पूर्व–पश्चिम राष्ट्रिय प्रसारण सञ्जाल थप सुदृढ हुनुका साथै विद्युत् प्रणालीको विश्वसनीयता, सञ्चालन लचकता तथा प्रसारण क्षमतामा उल्लेखनीय सुधार आएको छ ।

हाल उक्त प्रसारण लाइनमार्फत करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ । यसबाट विशेषगरी दोर्दी नदी बेसिनका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जान नदिई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न सम्भव भएको छ । आयोजना अन्तर्गत दोस्रो सर्किट तथा बाँकी संरचनाको निर्माण सम्पन्न भएपछि मर्स्याङ्दी करिडोरको पूर्ण क्षमता उपयोग गर्दै अझ ठूलो परिमाणमा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न सकिने छ।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा आउनु नेपालको प्रसारण पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै विद्युत प्राधिकरणले यसले स्वदेशी जलविद्युत्को अधिकतम उपयोग, राष्ट्रिय प्रसारण प्रणालीको सुदृढीकरण, ऊर्जा आत्मनिर्भरता तथा भविष्यमा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले...

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...
spot_img