यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), बेइजिङ नर्मल युनिभर्सिटी र चिनियाँ विज्ञान प्रतिष्ठानको वायुमण्डलीय भौतिकी संस्थाले संयुक्त रूपमा तयार पारेको नयाँ प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार नेपालसहित अफगानिस्तान, बङ्गलादेश र उत्तरी म्यानमारमा सामान्यभन्दा बढी वर्षा हुने प्रक्षेपण छ।
इसिमोडले सार्वजनिक गरेको ‘एचकेएच विन्टर आउटलुक २०२६’ ले पश्चिम हिमालय क्षेत्रमा भारी वर्षाका कारण स्थानीय बाढी, पहिरो र हिमपहिरोको जोखिम रहेको औँल्याएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (नोवा) ले बलियो देखि अति बलियो एल निनो विकसित भइरहेको जनाएको छ। १९५० यताका अभिलेखमै सबैभन्दा बलियो एल निनो बन्ने सम्भावना करिब ६० प्रतिशत रहेको नोवाको भनाइ छ। इसिमोडका वैज्ञानिकहरूका अनुसार यसले पहाडको फेदीमा बढी वर्षा र उच्च भूभागमा बढी हिमपात ल्याउन सक्छ।
नेपालमा सामान्यभन्दा बढी वर्षाको अनुमान
प्रतिवेदनअनुसार नेपालभर सामान्यभन्दा बढी वर्षा हुने अनुमान छ, जसमध्ये मध्य क्षेत्रमा यसको संकेत सबैभन्दा बलियो छ। पहाडी क्षेत्र सामान्यभन्दा न्यानो र उच्च भूभाग सामान्यभन्दा चिसो रहन सक्ने उल्लेख छ। उत्तरी भेगमा सामान्यभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ।
नेपालका धेरैजसो वन तथा घाँसे क्षेत्रमा डढेलोको जोखिम निकै कम रहने भए पनि पश्चिम र पूर्वी किनारका केही स्थानमा कम देखि मध्यम जोखिम रहन सक्ने प्रतिवेदनमा उल्लेख छ।
क्षेत्रीय अवस्था
अफगानिस्तान, पाकिस्तान, उत्तर भारत र नेपालका केही भागमा सामान्यभन्दा गहिरो हिउँ जम्मा हुने अनुमान गरिएको छ। हिउँको गहिराइ नदीको प्रवाह कायम राख्ने र आगामी वर्षको पानीको हिसाब निर्धारण गर्ने महत्त्वपूर्ण सूचक हो। भुटानका केही भाग र चीनको पूर्वी शिजाङमा भने हिउँ सामान्यभन्दा कम हुने देखिएको छ। यसको असर सिँचाइ, जलविद्युत् र मूलको पानीको प्रवाहमा पर्न सक्ने प्रतिवेदनले चेतावनी दिएको छ।
अधिक वर्षा हुने वर्षमा पनि डढेलोको जोखिम हट्दैन। हिमालयी क्षेत्रका अन्य भागमा सुख्खा मौसमले घाँस र वनस्पति सुकेर आगलागीको जोखिम बढ्ने देखिन्छ। दक्षिणपूर्वी शिजाङ र म्यानमारका केही भागमा वन तथा घाँसे क्षेत्रमा उच्च देखि अति उच्च डढेलोको जोखिम रहेको प्रतिवेदनमा छ।
गत मनसुनको क्षतिपछि चेतावनी
यो प्रक्षेपण नेपाल र भुटानमा हिमनदी तथा पर्माफ्रोस्टमा आएको परिवर्तनले निम्त्याएका विनाशकारी घटनाहरूले भरिएको मनसुनपछि आएको हो। विशेषगरी २०२६ अगस्टमा रसुवामा गएको चट्टान-हिम पहिरोले ठूलो क्षति गरेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमानअनुसार त्यसको राहत र पुनर्निर्माणमा नेपाललाई ४.७ अर्ब अमेरिकी डलर लाग्ने देखिएको छ।
विज्ञहरूको भनाइ
प्रतिवेदनका मुख्य लेखक सार्थक श्रेष्ठले मौसम प्रणाली र नदीले राष्ट्रिय सीमा नमान्ने भन्दै ज्ञान पनि सीमामा बाँधिनु नहुने बताए। “क्षेत्रीय विशेषज्ञता र उन्नत पूर्वानुमान विधि जोडेर यो आउटलुकले आठै हिन्दुकुश हिमालय देशलाई आगामी मौसमको साझा तस्बिर दिन्छ, जसले सीमापार सहकार्य सजिलो बनाउँछ,” उनले भने।
इसिमोडका जलविज्ञ मनिष श्रेष्ठले मनसुनसँगै तयारी सकिन नहुने बताए। “वर्षा अनियमित र तीव्र हुँदै जाँदा स्थानीय निकायलाई अग्रिम योजनाका लागि मौसमी आउटलुक र कहाँ, कहिले कारबाही गर्ने निर्णयका लागि छोटो अवधिको स्थानीय पूर्वानुमान चाहिन्छ,” उनले भने।
विपद् जोखिम न्यूनीकरण व्यवस्थापक सस्वत सान्यालले आउटलुकले अर्को हिमपहिरो कहिले आउँछ भन्न नसके पनि हिमाली भञ्ज्याङ बन्द हुनुअघि नै छोटो अवधिको पूर्वानुमान र पूर्वसूचनाका आधारमा तयारीका लागि रकम निकासा गर्ने प्रारम्भिक कदमबारे सरकारहरूले सहमति जुटाउन सकिने बताए।
हिमशिला (क्रायोस्फियर) का वरिष्ठ व्यवस्थापक मोहद फारुख आजमका अनुसार न्यानो हिउँदमा हिउँको सट्टा बढी पानी पर्न सक्छ। पश्चिम हिमालयमा हिउँ थपिने अनुमान भए पनि हिमपहिरो र हिउँमाथि वर्षाको जोखिम रहने उनले बताए। पूर्वमा हिउँ कम हुँदा वसन्त ऋतुमा पानीको आपूर्तिमा चाप पर्न सक्ने उनको भनाइ छ। २०२५ को विपरीत यसपटक राम्रो हिमपातले भारतको गुल्मर्ग र औलीमा स्की पर्यटनलाई टेवा पुर्याउन सक्ने पनि उनले जनाए। पानी व्यवस्थापक, जलविद्युत् सञ्चालक र किसानले जलाशय सञ्चालन, पानी बाँडफाँट र सिँचाइ योजनाका लागि अद्यावधिक पूर्वानुमान प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
इसिमोडकी वायु विशेषज्ञ आशिष तिवारीले नेपालसँग राष्ट्रिय वन डढेलो कार्ययोजना र उपग्रहमा आधारित पहिचान प्रणाली रहेको बताए। अब सुख्खा मौसम सुरु हुनुअघि नै रोकथाममा लगानी गर्नुपर्ने उनको भनाइ छ। नगरपालिका र वन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहसँग मिलेर आगो नियन्त्रण रेखा (फायरब्रेक) कायम राख्ने, तालिमप्राप्त प्रतिकार्य टोली तयार गर्ने र सूचना आउँदा को कसले कारबाही गर्ने भन्ने तय गर्नुपर्ने उनको भनाई छ।
अन्तर्राष्ट्रिय सम्मेलन
इसिमोडले आउँदो २५ देखि २७ नोभेम्बर २०२६ सम्म काठमाडौंमा हुने ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति र क्षेत्रीय सहकार्यको प्रवर्द्धन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा यो आउटलुकका निष्कर्षबारे छलफल गर्ने जनाएको छ। संयुक्त राष्ट्रसंघको क्रायोस्फेरिक विज्ञानका लागि कार्य दशक (२०२५–२०३४) अन्तर्गतको यो सम्मेलनमा क्षेत्रभरका वैज्ञानिक र नीति निर्माता सहभागी हुनेछन्। अनुगमन, पूर्वचेतावनी र सहकार्यका प्राथमिकता तय गर्ने लक्ष्य राखिएको छ।









