अटोमोबाइल्स बजारमा अहिले दुइ चर्चित ईभी ब्राण्डका कम्प्याक्ट एसयूभी सेग्मेन्टबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । ति मोडल हुन् बिवाइडीको एट्टो–२ र डोङफेङको नामी भिगो । यो सेग्मेन्टमा बलियो पकड कसले जमाउने भनेर यी मोडलबीच अहिले कडा टक्कर चलिरहेको छ ।
२०२६ को नाडा अटो शोमार्फत नेपाली बजारमा प्रवेश गरेका यी दूबै मोडल छोटो अवधिमै नेपाली उपभोक्ताको रोजाइमा परिसकेका छन् । बिवाइडी एट्टो–२ लाई साइमेक्स इंक र नामी भिगोलाई एमएडब्ल्यू वृद्धिले नेपाल ल्याएका हुन् । दूबै मोडल कम्प्याक्ट एसयूभी भएपनि ब्याट्री पावर, मोटर पावर, रेन्ज, साइज र मूल्य फरक–फकर छ ।
आयातको पछिल्लो आँकडा हेर्ने हो भने पनि नेपाली बजारमा यी दुइ मोडलको बिक्रीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिन्छ । असोज महिनामा ८२९ युनिट नामी भिगो आयात हुँदा ६३८ युनिट एट्टो–२ भित्रिएका छन् । यसभन्दा अगाडि एट्टो–२ को आयात बढी हुने गरेपनि असोजबाट भने नामी भिगोले उछिनेको छ । यसबाट पनि गजबको लुक्स, मनग्य फिचर र किफायती मूल्यका कारण नेपाली बजारमा चर्चा कमाइरहेको नामी भिगोले आफ्नो प्रभाव फैलाइरहेको पुष्टि हुन्छ ।
ब्याट्रीमा फरक
अहिले विद्युतीय गाडी किन्ने ग्राहकले सबैभन्दा पहिला हेर्ने भनेकै ब्याट्रको क्षमता र रेन्ज हो । नामी भिगोमा ब्याट्री ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्री एलएफपी दिइएको छ । यसलाई १६७ किलोवाटको डीसी फास्ट चार्जिङको सहयोगमा १८ मिनेटमा नै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । जसले एक पटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी परीक्षणले देखाएको छ । यो गाडी किनेर कुदाउन थालेका ग्राहकले पनि रेन्जमा सन्तुष्टि व्यक्त गरेका छन् ।

नामी भिगोको प्रतिस्पर्धी बनेको बिवाईडी एट्टो–२ को इसेन्सियल भेरियन्टमा ४५.१२ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको चार्जमा ३१२ किलोमिटर रेन्ज दिनेछ । यसको ब्याट्रीले ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर सर्पोट गर्छ ।
मोटर पावर
नामी भिगोमा ९९ किलोवाटको मोटर जडान गरिएको छ । एटो २ मा १०० किलोवाटको मोटर छ ।
ग्राउन्ड क्लियरेन्स
नेपाली उपभोक्ताले हेर्ने अर्को महत्वपूर्ण फिचर भनेको गाडीको ग्राउण्ड क्लियरेन्स हो । नामी भीगोमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
बिवाईडी एटो २ को ग्राउण्ड क्लियरेन्स २०० एमएम छ ।
गाडीको साइज
नामी भीगोको लम्बाइ ४ हजार ३०६ एमएम, चौडाइ १ हजार ८६८ एमएम र उचाइ १ हजार ६४५ एमएम छ । यसमा २ हजार ७१५ एमएम लामो ह्वीलबेस दिइएको छ ।
बिवाईडी एट्टो २ को लम्बाइ ४ हजार ३१० एमएम छ । चौडाई १ हजार ८३० एमएम छ । यसमा २ हजार ६२० एमएम ह्वीलबेस पाउन सकिन्छ ।
अरु विशेषता
नामी भिगो र एट्टो २ दूबैमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर जस्ता समान विशेषता पाउन सकिन्छ ।
नामी भिगोमा सनरुफ पनि दिइएको छ । यसले गाडीलाई ‘एक्ट्रा लक्जरी’ देखाएको छ । तर, एट्टो २ मा सनरुफ सुविधा छैन । भिगोमा ६ एयरब्याग पाउन सकिन्छ । एट्टो २ मा पनि ६ वटा एयरब्याग छन् ।
मूल्य
नामी भिगोलाई एमएडब्ल्यू वृद्धिले नेपाली बजारमा दुइ भेरियन्टमा उपलब्ध गराएको छ । यसको इन्ट्री भेरियन्टको मूल्य ३७ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसअघि बुकिङ गरेका ग्राहकलाई अहिले कम्पनीले धमाधम गाडी डेलिभरी दिइरहेको छ ।
३ भेरियन्टमा उपलब्ध एट्टो २ भने उस्तै उस्तै फिचर्स भएपनि नामी भीगोको तुलनामा महँगो छ । एट्टो २ को इसेन्सीयल भेरियन्टको मूल्य नै ४५ लाख ९५ हजार तोकिएको छ । प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र सुपेरियर भेरियन्टको मूल्य ५१ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यी सबै विवरणहरु कम्पनीले सार्वजनिक गरेका जानकारी हुन् । अब उल्लेखित तुलना हेरेर एट्टो २ र नामी भिगो हेर्दै गरेका ग्राहकले आफ्नो रोजाई छनोट गर्न सक्छन् ।









