नेपाल लेखामान बोर्ड (Accounting Standards Board – ASB Nepal) र अष्ट्रेलियन लेखामान बोर्ड (Australian Accounting Standards Board – AASB) बीच भएको Mutual Collaboration Agreement (MCA) को अवधि थप तीन वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतिमा सम्झौताको निरन्तरता र अवधि थप गर्ने सम्बन्धमा विस्तृत छलफल भई नेपाल सरकारका अर्थमन्त्रीस्तरको मिति २०८३/०७/२० को निर्णयअनुसार सैद्धान्तिक सहमति प्रदान गरिएको थियो।
सोहि र सैद्धान्तिक सहमति अनुसार नेपालमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (NFRS) को प्रभावकारी कार्यान्वयन, लेखामानको विकास तथा परिमार्जन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौताको अवधि आगामी तीन वर्षका लागि थप गर्ने निर्णय गरिएको हो। सम्झौताले मानक विकास, मानकको अवलम्बन तथा कार्यान्वयन, व्याख्या तथा मार्गदर्शन, जनचेतना तथा शैक्षिक कार्यक्रम, क्षमता विकास, दिगोपन प्रतिवेदन (Sustainability Reporting), अन्तर्राष्ट्रिय सामञ्जस्यता तथा सहकार्य, मानकको निरन्तर सुधार र प्रभावकारिता मूल्याङ्कनलगायतका विषयलाई सहकार्यका प्रमुख क्षेत्रका रूपमा समेटेको छ।
यसका साथै, अन्तर्राष्ट्रिय स्तरमा लेखामानको एकरूपता र अभिसरण, दिगोपन प्रतिवेदनसम्बन्धी सीमापार सहकार्य तथा लेखामान कार्यान्वयनका क्रममा देखिन सक्ने अनपेक्षित प्रभावहरूको पहिचान र समाधानमा समेत दुवै संस्थाबीच सहकार्य हुनेछ।
यस सम्झौताको नवीकरणले नेपालको वित्तीय प्रतिवेदन प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्याससँग थप सामञ्जस्यपूर्ण बनाउँदै लेखामान विकास, कार्यान्वयन र नियामकीय क्षमताको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।









