नेपाल–चीनको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका आसपास हिमपात सुरु भएसँगै यो नाकाको निरन्तर सञ्चालनका सम्बन्धमा प्रश्न उठ्न थालेको छ। रसुवागढी नाका भोटेकोशी बाढीका कारण अवरुद्ध र तातोपानी नाका सञ्चालनमा आउन नसकेको अवस्थामा चीनसँगको व्यापारको ठूलो चाप अहिले कोरलामा परेको छ । तर, हिउँद सुरु हुन लागेसँगै हिमपातले सडक यातायात प्रभावित पार्न थालेपछि अबको साढे दुई महिना यो नाका कसरी सञ्चालन हुन्छ भन्ने चुनौती थपिएको छ ।
करिब ४ हजार ६ सय मिटर उचाइमा रहेको कोरला नाकामा हिमपात हुनु सामान्य मौसमी प्रक्रिया हो । यसपाली कात्तिकमै भएको भारी हिमपातका कारण कोरला–न्हेचुङ सडकमा बाक्लो हिउँ जमेको थियो । सडकबाट हिउँ हटाए पनि अत्यधिक चिसोका कारण पानी जमेर बरफ बन्ने र सवारीसाधन चिप्लिने समस्या देखिएको छ । साथै, भन्सारका कर्मचारी र भन्सार एजेन्टहरु बस्न नसक्ने अवस्था सिर्जना हुन थालेको छ । यसले आयातित वस्तु तथा विद्युतीय सवारीसाधन काठमाडौँ वा गन्तव्यसम्म ल्याइपुर्याउन समस्या पारेको छ ।
यसअघि दशैँ, तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधनदेखि दैनिक उपभोग्य वस्तुसम्म यही नाका हुँदै नेपाल भित्र्याइएको थियो । तर, अहिले यही नाका पनि मौसमी प्रतिकूलताको चपेटामा पर्न थालेपछि व्यवसायीहरू थप अन्योलमा छन् ।
नाका खुला भए पनि ढुवानी सहज छैन
कोरला नाका औपचारिक रूपमा बन्द नभए पनि हिमपात र अत्यधिक चिसोका कारण नियमित आवागमनमा समस्या देखिएको छ । सडकमा जमेको हिउँ पन्छाएपछि पनि रातको समयमा तापक्रम घट्दा पानी जमेर बरफ बन्ने गरेको छ । यसले कन्टेनर तथा ठूला सवारीसाधन सञ्चालन गर्न कठिन बनाएको छ ।
हिमपातका कारण न्हेचुङ भन्सार कार्यालय र कोरला नाकाबीचको सडकखण्ड बढी प्रभावित हुने गरेको छ । त्यस क्षेत्रमा जमेको हिउँ पन्छाउन लोमान्थाङ गाउँपालिका, सुरक्षाकर्मी र स्थानीय प्रशासन परिचालन हुने गरेका छन् । चीनको झोङ्बा काउन्टीले समेत हिउँ हटाउन डोजर उपलब्ध गराउनुपर्ने बाध्यता यसअघि नै देखिसकिएको छ । तर, निरन्तर हिमपात हुने र हटाइएको हिउँ फेरि जम्ने समस्याले सडक सञ्चालनलाई चुनौतीपूर्ण बनाएको छ।
यसअघि कात्तिकको हिमपातका कारण कोरला नाकामा १ हजार ७ सयभन्दा बढी विद्युतीय सवारीसाधन रोकिएका थिए ।
व्यवसायीका लागि समस्या हिमपातमा मात्रै सीमित छैन । बेनी–जोमसोम–कोरला सडकखण्डमा बाढीपहिरो र सडक कटानको जोखिम पनि उत्तिकै छ । गत असोजमा कालीगण्डकी नदीमा आएको बाढीले सडकका विभिन्न खण्डमा क्षति पुर्याउँदा दुई सातासम्म आवागमन प्रभावित भएको थियो । सडक मर्मतपछि सञ्चालनमा आए पनि अहिले हिमपातले पुनः अवरोध सिर्जना गरेको छ । साथै, सडक पनि सहज छैन । कोरला नाकाबाट हुने व्यापारलाई मौसमी जोखिमसँगै पूर्वाधारको जोखिमले समेत घेरेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् ।
साढे दुई महिना व्यापारको विकल्प के ?
कोरला नाकाको मुख्य समस्या नै हिउँदमा हुने हिमपात हो । हिउँ परेपछि सडकमा हिउँ जम्ने, तापक्रम माइनसमा पुग्ने र सडकमा बरफ बन्ने भएकाले नाका नियमित सञ्चालन गर्न कठिन देखिएको छ । विगतका अनुभव र व्यापारसम्बन्धी छलफलमा समेत यस नाकामा हिउँदका तीनदेखि चार महिनासम्म व्यापार प्रभावित हुन सक्ने जोखिम औँल्याउने गरिन्छ ।
यस्तो अवस्थामा अबको साढे दुई महिना कोरला नाकाबाट हुने आयात कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । रसुवागढी नाका तत्काल पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्ने अवस्था छैन । तातोपानी नाका पनि सहज रूपमा नखुले चीनसँगको व्यापारमा थप समस्या आउन सक्ने नेपाली व्यवसायीहरुको चिन्ता छ ।
नेपालले चीनबाट गत आर्थिक वर्षमा ४ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । चीनतर्फको निर्यात भने १ अर्ब ८९ करोड रुपैयाँमा सीमित थियो । चीनसँगको व्यापारमा यति ठूलो परिमाणमा आयात निर्भरता रहेको अवस्थामा प्रमुख उत्तरी नाकाहरूमा आउने अवरोधले समग्र आपूर्ति प्रणालीमा असर पार्न सक्ने जोखिम छ । ‘रसुवागढी नाका तत्काल सूचारु हुने अवस्था छैन, कोरलामा हिउँ पर्न थालिसक्यो’ नाडा अटोमोबाइल्स एसोसियशनका महासचिव मिलनबाबु मल्ल भन्छन्, ‘तातोपानी नाका पनि खुल्छ कि खुल्दैन ठेगान छैन । यस्तो अनिश्चितता बोकेर व्यवसाय गर्नु परिरहेको छ ।’
हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीले कोरला क्षेत्रमा माघसम्मै हिउँ पर्ने भएकाले तत्काल तातोपानी नाका सञ्चालनका लागि नेपाल सरकारले कुटनीतिक पहल नगरे हिउँदमा चीनसँगको व्यापार ठप्प हुने जोखिम औँल्याएका छन् । उनले अहिले सहज रुपमा सञ्चालन गर्न सकिने नाका तातोपानी नै भएकाले यसका लागि परराष्ट्रय मन्त्रालय र चीनस्थित नेपाली दूतावासले बलियो कुटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।









