सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।मंगलबारको लेखा समितिको बैठकले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले विद्यमान कानुन र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना हुने गरी ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरिएको दाबी गरेका छन् । सार्वजनिक खरिद नियमावली संशोधन अनुसार कागजात र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको उनको जिकिर थियो ।
बैठकमा समिति सदस्यहरुले कम्पनीहरुले गोप्य रुपमा पेश गरेको आर्थिक प्रस्ताव खोल्ने चरणमा ठेक्दा रद्द गर्नुको औचित्यबारे चासो राखेका थिए ।
तराई मधेशका १.२ लाख हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने उदेश्यले यो परियोजना अघि बढेको थियो । सुनकोशी नदीबाट मरिण खोलासम्म करिब १३.१ किलोमिटर लामो सुरुङ निर्माण गरी प्रति सेकेण्ड ६७ घनमिटर पानी झार्ने परियोजनाको लक्ष्य छ । यस परियोजनाबाट पानी स्थानान्तरणसँगै ३१.७ मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना छ ।
आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का रद्द गरिएपछि समितिमा उजुरी परेको थियो ।









