ब्रोकर नम्बर ६२ अर्थात् क्यापिटल म्याक्स सेक्युरिटिजले आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताहरूका लागि स्मार्ट मार्जिन ट्रेडिङ्ग सुविधा शुभारम्भ गरेको छ। कम्पनीले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋण सहित यो सेवा सुरु गरेको हो।
कम्पनीले ५ करोडसम्मको कारोबार सीमा सहित मार्जिन ट्रेडिङ्ग सुविधा सुरु गरेको हो। यो भनेको योग्य ग्राहकले ५ करोडसम्मको शेयर खरिद गर्नको लागि यो उविधा उपयोग गर्न सक्ने छन् । ५ करोड मध्ये ग्राहकले प्रारम्भिक मार्जिनको रुपमा ३० प्रतिशत अर्थात् डेढ करोड हाल्नु पर्ने हुन्छ, बाँकी ७० प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ ब्रोकरले ऋणको रुपमा उपलब्ध गराउने छ।
न्युनतम १० लाखदेखि अधिकतम ५ करोडसम्मको कारोबार सीमा भित्र रहेर यो सेवा लिन सकिने कम्पनीले जनाएको छ। ब्रोकर कम्पनीले न्युनतम ३० दिन देखि अधिकतम ९० दिनको लागि मार्जिन ऋण प्रदान गर्ने छ। कम्पनीले वार्षिक ७.९९ प्रतिशतको ब्याजदरमा ऋण दिने छ। सेवा शुल्क ०.२५ प्रतिशत कायम गरिएको छ।
कम्पनीका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार कम्पनीले सरल तथा व्यवस्थित प्रक्रिया अपनाएर मार्जिन खातामार्फत सहज वित्तीय सुविधा
प्रदान गर्ने छ। स्वीकृत सम्पूर्ण सीमामा नभई, वास्तवमा प्रयोग गरिएको रकममा मात्र ब्याज लागू हुने उनको भनाई छ ।
अध्यक्ष श्रेष्ठका अनुसार यस सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गद थप लगानी गर्न सक्छन्। क्यापिटल म्याक्सले यो सुविधालाई केवल अतिरिक्त खरिद क्षमता प्रदान गर्ने माध्यमका रूपमा नभई ग्राहकलाई आफ्नो तरलता व्यवस्थापन गर्दै बजारका अवसरहरूमा समयमै सहभागी हुन सहयोग पुर्याउने वित्तीय सुविधाका रूपमा अघि सारेको उनको भनाई छ।
मार्जिन ट्रेडिङ सुविधा सम्बन्धी सम्पूर्ण कारोबार तथा वित्तीय सुविधा प्रचलित नियम, नियामकीय व्यवस्था, स्वीकृत सीमा तथा कम्पनीका सम्बन्धित शर्तहरू बमोजिम हुने तथा मार्जिन ट्रेडिङमा बजार जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखी निर्णय गर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ।









