सरकारले निरन्तरको वर्षात् र नजिकिँदो चाडपर्वमा खाद्यान्नको अभाव नहुने भन्दै पर्याप्त मौज्दात रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था चुस्त राखिएको जनाएको हो ।
सम्भावित प्राकृतिक विपद् तथा आसन्न चाडपर्वलाई लक्षित गरी खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको आवश्यक मौज्दात कायम राखिएको मन्त्रालयले जनाएको छ । सरकारी तथा निजी क्षेत्रका सम्बद्ध संस्था एवं व्यवसायीहरूसँग समन्वय भइरहेको जनाउँदै मन्त्रालयले राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको छ ।
मन्त्रालयले हाल बजारमा खाद्यान्न लगायतका सामानको सहज रुपमा बिक्री वितरण भइरहेको पनि जनाएको छ ।
यसैगरी, बाढी वा पहिरोका कारण प्रमुख राजमार्ग तथा आपूर्ति मार्गहरु अवरुद्ध भएमा सडक विभाग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी वैकल्पिक मार्गबाट निरन्तर रुपमा ढुवानी गर्ने व्यवस्था मिलाइएका कारा उपभोग्य वस्तुहरू सुपथ मूल्यमा सहजै उपलब्ध हुने मन्त्रालयको भनाइ छ । यसकारण मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन सामानको अनावश्यक सञ्चय तथा भण्डारण नगर्न मन्त्रालयले उपभोक्तालाई अनुरोध गरेको छ ।











