बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा गरेको लगानी बिक्री गर्न पर्खनुपर्ने समयावधि घटेको छ । यसअघि यस्तो लगानी बिक्री गर्न ६ महिनाभन्दा बढी समय होल्ड गर्नुपर्ने प्रावधान रहँदै आएकोमा नेपाल राष्ट्र बैंकले उक्त प्रावधान संशोधन गर्दै ४५ दिन कायम गरेको हो ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेर उक्त प्रावधान लागू गरेको हो । अब बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा गरेको लगानी ४५ दिन पश्चात बिक्री गर्न पाउने छन् ।
अब बैंकहरुले ६ महिनाको सट्टा ४५ दिन पश्चात सेयर तथा डिबेन्चर बिक्री गर्न पाउने भएसँगै सेयर बजारमा यसको सकारात्मक प्रभाव पर्ने र सेयर बजारमा संस्थागत लगानीकर्ताहरु आकर्षित हुने विश्वास लिइएको छ ।
साथै, राष्ट्र बैंकका अनुसार अब उप्रान्त बैंक तथा वित्तीय संस्थाले बैंकिङ बुक र ट्रेडिङ बुकको लगानी विवरण मासिक रुपमा छुट्टाछुट्टै बुझाउनुपर्ने भएको छ ।











