हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रा. लि. तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा वातावरण मैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सम्झौता भएको हो ।
समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब देशभरिका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री–वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८०% सम्म सहज र झन्झट रहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहक तथा यातायात व्यवसायीहरूले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्ष सम्मको लचिलो भुक्तानी अवधिसहित ८०% सम्म सवारी कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जाल मार्फत तुरुन्तै लागू हुनेछ ।
पोखरामा कर्पोरेट कार्यालय र काठमाडौँको गैह्रीधारामा प्रमूख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो, जसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत–प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउदै आएको छ । कम्पनीले म्याक्सस (साइक म्याक्सस् -पिकअप तथा युटिलिटी सवारी ), डोङफेङ कमर्सियल भेहिकल्स (विद्युतीय सिटी बस तथा स्कुल बस), हुबेई ट्राइ–रिङ मोटर्स ( विद्युतीय ट्रक तथा टिपर ) र फोर्स मोटर्स लिमिटेड, भारत (कमर्सियल तथा प्यासेन्जर भेहिकल्स) का गाडी नेपालमा बिक्री वितरण गर्दै आएको छ।











