नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचको संस्थागत समन्वयबारे छलफल भएको छ ।
निक्कीका अध्यक्ष सुनिल के.सी. नेतृत्वको प्रतिनिधिमण्डलले महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसँग भेटवार्ता गर्दै नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचको संस्थागत समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको हो ।
भेटवार्तामा द्विपक्षीय व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई), नेपाल–भारत संयुक्त व्यवसाय मञ्च (नेपाल–इण्डिया जोइन्ट बिजनेस फोरम), द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, आर्थिक कूटनीति, औद्योगिक–शैक्षिक तथा सार्बजनिक क्षेत्र सहकार्य एबं भारतमा संयुक्त लगानी प्रवद्र्धनको लगायतका विषयमा छलफल भएको निक्कीले जनाएको छ ।
निक्कीका अध्यक्ष केसीले महासंघ र निक्कीबीच सहकार्य कायम रहने विश्वास व्यक्त गर्दै परिणाममुखी संयुक्त पहल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । दुई संस्थाबीचको सहकार्यलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ ।
प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघ अध्यक्ष श्रेष्ठले नेपालको व्यापार तथा समग्र आर्थिक सम्बन्धमा भारतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपाल–भारत आर्थिक सम्बन्धका विषयमा थप समन्वय आवश्यक रहेको बताएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा निक्कीको भूमिका एफएनसिसिआईको व्यावसायिक तथा आर्थिक हित प्रवद्र्धन गर्ने उद्देश्यसँग अत्यन्त निकट रहेको पनि अध्यक्ष श्रेष्ठको भनाइ छ ।











