बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग तथा सडक पुलहरुमा क्षति पुर्याएपछि दैनिक उपभोग्य सामग्रीसहित खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ लगायतको अभाव पुनः चुलिन्छ कि भन्ने त्रास उत्पन्न भएको छ । केही दिन अघिसम्म खाना पकाउने ग्यासको हाराहार झेलेका देशभरीका उपभोक्ताहरु चाडवाडको मुखमा पुनः सोही किसिमको समस्या बल्झिन्छ कि भनेर चिन्तित भएका छन् ।
तर, सरोकारवालाहरुले भने तत्काल इन्धन र नुनको कुनै अभाव नहुने जनाएका छन् । बजारको माग अनुसार अहिले सहजै इन्धनको आपुर्ति भइरहेकाले कुनै समस्या नआउने भन्दै सम्बन्धित निकाय तथा संघ संस्थाहरुले उपभोक्तालाई आश्वस्त पारेका छन् ।
ग्यासको अभाव हुँदैन, बुलेट आइरहेका छन्ः आयल निगम
नेपाल आयल निगमका प्रवक्ता मनोज ठकुरले खाना पकाउने ग्यासको कुनै अभाव नहुने बताएका छन् । बाढीका कारण ग्यास बोकेर आएका बुलेटहरु चितवन र धादिङका विभिन्न क्षेत्रमा रोकिएकाले बाटो सफा हुनासाथ ति बुलेटहरु उद्योगमा पुग्ने उनको भनाइ छ ।
‘हाई–वे डिस्टर्ब छैन, अहिले लेदो जमेका कारण रोकिएको मात्रै हो’ ठाकुरले भने, ‘हिजो पनि ग्यासका बुलेटहरु नेपालतर्फ पास भएका छन् । बाटोमा रोकिएर बसेका बुलेटहरु बाटो सफा भएपछि उद्योगसम्म आइपुग्छन् ।’
उनका अनुसार बाढीले कुनैपनि ग्यास उद्योगमा क्षति गरेको छैन । त्यसकारण बुलेटहरु उद्योगसम्म आइपुगेपछि तत्कालै रिफिलिङ गरेर ग्यास पठाउन सकिने अवस्था रहेको ठाकुरको भनाइ छ ।
रसुवा, धादिङ र नुवाकोटका केही क्षेत्रमा बाहेक अन्यत्र समस्या हुँदैनः ग्यास बिक्रेता महासंघ
ग्यास बिक्रेता महासंघका महासचिव विनोद काफ्लेले पनि ग्यास वितरणमा समस्या बाढीका कारण समस्या उत्पन्न नभएको बताएका छन् । पृथ्वी राजमार्गमा बाढीले ठूलो क्षति गरेको जानकारी अहिलेसम्म नआएकाले बाटोमा रोकिएका ग्यास बुलेटहरु बाटो सफा हुनासाथ उद्योगमा आइपुग्ने भएकाले काठमाडौँसहित देशका सबै स्थानमा सहजै ग्यास पठाउन सकिने उनको विश्वास छ ।
‘अहिले पनि उपभोक्ताहरुको घरमा केही समय पुग्ने ग्यास स्टकमै छ, अहिले डिलरहरुमा चाप पनि घटिसकेको छ’ उनले भने, ‘बढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका केही क्षेत्रमा समस्या होला, अन्यत्र ग्यास पठाउन समस्या हुँदैन ।’
उनले विपदको बेलामा सबैले संयमता अपनाउँदै हातेमालो गर्न आवश्यक रहेको भन्दै ग्यास बिक्रेता व्यवसायीहरु पनि उपभोक्ता र सरकारको साथमा रहेको बताएका छन् ।
डिजेल÷पेट्रोलको पनि अभाव हुन दिँदैनौँः निगम
आयल निगमले एलपी ग्यास मात्रै नभई, डिजेल र पेट्रोलको पनि कुनै अभाव हुन नदिइने प्रष्ट पारेको छ । निगमका प्रवक्ता ठाकुरले अहिले पनि बजारको माग अनुसार निगमले सहजै तेल उपलब्ध गराइरहेको बताउँदै अभाव हुने सम्भावना नरहेको बताएका छन् ।
‘सप्लाई नर्मल छ, बजारको माग अनुसार निमगले सहजै तेल दिइरहेको छ’ उनले भने, ‘बाटो क्लियर हुन थालिसक्यो, क्लियर हुनासाथ रोकिएका ट्याङ्कर पनि आइहाल्छन् ।’
निगमले काठमाडौँमा मात्रै ७ दिनलाई पुग्ने स्टक राख्दै आएको छ । अमलेखगन्जबाट ट्याङ्करमा लोड भएर थानकोट डिपोसम्म आउने भएकाले यो रुटमा राजमार्ग अवरोध नरहेकाले लेदो हट्नासाथ ट्याङ्कर सजिलै आउने निगमको विश्वास छ । ‘बुधबार बिहान अमलेखगन्जबाट हिडेका ट्याङ्करहरु हिजोदेखि नारायणघाट आसपास रोकिएका छन्, बाटो सफा हुनासाथ ति ट्याङ्करहरु आइहाल्छन्’ ठाकुरले भने, ‘इन्धनको आपुर्तिमा कुनै अवरोध हुँदैन ।’
६ महिना पुग्ने नुन स्टक छः साल्ट ट्रेडिङ
यता, साल्ट ट्रेडिङ कर्पोरेशनले पनि हरेक दिन भान्छामा चाहिने आयोडिन नुनको आपुर्तिमा कुनै समस्या नहुने बताएको छ । अहिले पनि ६ महिनालाई पुग्ने नुन स्टक रहेको र यसको सहज आपुर्तिको प्रबन्ध गरिसकिएको कर्पोरेशनले जनाएको छ ।
साल्ट ट्रेडिङसँग अहिले १ लाख २४ हजार मेट्रिक टन आयोडिनयुक्त नुन स्टक छ । ‘यो यथेष्ट स्टक हो, ६ महिना पुग्छ’ कर्पोरेशनका अधिकारीहरु भन्छन्, ‘हामीले राज्यबाट नुनको सहज आपुर्तिको जिम्मेवारी पाएका छौँ, यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका पनि छौँ ।’











